Search News
बागमती प्रदेशसभा बैठक अनिश्चित
- Tuesday Dec 16 2025
- | 1742 Read
Share News

१ पुस, २०८२ ।बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दाबी गरेपछि बागमती प्रदेशसभाको बैठक अनिश्चित बनेको छ ।
जेनजी प्रदर्सनका क्रममा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो ।
रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन । तत्काल बैठक बस्ने कुनै सूचनासमेत नआएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले बताउनुभयो ।
“हामीले बैठकको सबै तयारी गरिसकेका छौँ, तर अहिलेसम्म सरकारबाट बैठकको कुनै सूचना आइपुगेको छैन”, सचिव पौडेलले भन्नुभयो, “बैठकको सूचना आउनासाथ हामी त्यसमा जुट्छौँ ।” गत कात्तिकको दोस्रो साता नै प्रदेशसभाको बैठक बोलाउने तयारी भएको थियो, त्यसका लागि अस्थायी रूपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको मुख्यमन्त्री सभाहललाई मर्मतसम्भार र रङरोगन गरी तयार पार्यौँ, तर बैठक नै आह्वान हुन सकेन भन्नुभयो ।
अहिलेसम्म प्रदेशसभा बैठकका लागि सरकारबाट कुनै जानकारी नआएकाले बैठक निश्चित नभएको सचिव पौडेलको भनाइ छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिबाट प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको थियो । तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहँुदा सरकारले बैठक नबोलाएको हुनसक्ने सचिव पौडेलको अनुमान छ ।
प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार रहेको सचिव पौडेलले बताउनुभयो ।
सभामुखमा कांग्रेस र एमाले दुवै दलले दाबी गर्दै आएका छन् । कांग्रेसबाट मुख्यमन्त्री भएकाले सभामुखमा आफ्नो पार्टीको दाबी स्वाभाविक भएको एमाले संसदीय दलका प्रमुख सचेतक एकलाल श्रेष्ठले बताउनुभयो । “दुई पार्टीबीचमा सरकार बनेको छ, कांग्रेसले मुख्यमन्त्री पाएपछि सभामुख एमालेलाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो”, श्रेष्ठले भन्नुभयो, “त्यसमा कुनै विवाद नरहेकाले यसलाई अगाडि बढाउनुपर्छ, यस विषयमा कांग्रेस र एमालेबीच कुनै विवाद छैन, केबल अड्कलबाजीमात्र हो”, उहाँले भन्नुभयो ।
यता कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले सत्तारुढ दलहरूबीच सभामुख पदमा आआफ्नै दाबी रहेकाले सहमति हुन नसकेको बताउनुभयो । “एमालेले पनि सभामुख हामीलाई चाहियो भनिरहेको छ, हामीले अबको केही महिनापछि मुख्यमन्त्री एमालेलाई दिनुपर्ने भएकाले सभामुख कांग्रेसलाई दिनुपर्ने भनिरहेका छौँ ।” यस विषयमा सत्तारुढ दलबीच छलफल भइरहेकाले अब छिट्टै सहमति भएर प्रदेशसभाको बैठक बोलाइने प्रयास भइरहेको उहाँको कथन छ ।

For Add Product Review. You Need To Login First Login Page
















