Friday 11-09-2026

७३४ जनाको शव भेटियो, २४९८ जना अझै वेपत्ता

Logo
Satyapana
  • Sunday Aug 30 2026
  • | 998 Read

Share News

७३४ जनाको शव भेटियो, २४९८ जना अझै वेपत्ता

१४ भदौ, २०८३ आइतबार । तिब्बत क्षेत्रबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ९ बजेसम्म संकलन गरिएको विवरण अनुसार २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै चितवनमा २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको हो। हालसम्म पहिचान खुल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ। बाढीमा परी सुरक्षाकर्मी, कर्मचारी, स्थानीय र विदेशी नागरिक ठूलो संख्यामा सम्पर्कविहीन भएका छन्। प्राधिकरणका अनुसार नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना कर्मचारी बेपत्ता छन्।

यसैगरी विभिन्न जलविद्युत आयोजनाका ९३३ जना कामदार, रसुवाका ५६२ जना, नुवाकोटका ११५ जना, मकवानपुरका ६५ जना र लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा ५९८ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा रहेका १२७ जना नेपाली नागरिक समेत रहेका छन्। बाढीका कारण २४२ जना घाइते भएका छन्।बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरी बलले २ हजार ५१३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएका हुन्। यस क्रममा जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २७९ जना (भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना) तथा २२७ जना विदेशी नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

हाल प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ३९९, नेपाल प्रहरीका ७ हजार २९३ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै, घाइतेहरूको उपचारका लागि प्रभावित क्षेत्रमा मेडिकल तथा सर्जिकल टोलीहरू खटाइएको प्राधिकरणले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page