Search News
वर्षाले फेवाताल धमिलिएपछि पोखराका अन्य गन्तव्यमा पर्यटकको आकर्षण, डाँडाकाँडाको हरियाली लोभलाग्दो
- Monday Jul 06 2026
- | 1259 Read
Share News

२२ असार २०८३ सोमबार। पोखरा भन्ने बित्तिकै आन्तरिक तथा बाह्य पर्यटकको मानसपटलमा सबैभन्दा पहिला आउने नाम हो– फेवाताल । शान्त र निलो पानीमा तैरिएका रङ्गीचङ्गी डुङ्गा अनि पानीको सतहमा देखिने माछापुच्छ्रे हिमालको प्रतिविम्ब फेवातालको मुख्य विशेषता हो । तर, विगत केही दिनदेखि जारी अविरल वर्षा र भलबाढीका कारण यतिबेला फेवातालको त्यो चिरपरिचित स्वरूप बदलिएको छ ।

माथिल्लो जलाधार क्षेत्रबाट बगेर आउने लेदो, हिलो र गेग्रानका कारण सदावहार निलो देखिने फेवाताल यतिबेला पूर्ण रूपमा धमिलो बनेको छ । तालको पानी कफी रङ्गको माटोमैलो देखिएपछि प्राकृतिक सौन्दर्य नियाल्न पोखरा पुगेका पर्यटकहरू खिन्न बनेका छन् । फेवातालमा डुङ्गा शयर गर्न र किनारमा बसेर रमाउन नपाउँदा आगन्तुकहरूमा केही निराशा छाए पनि उनीहरूले आफ्नो गन्तव्य भने बदलेका छन् ।

फेवाताल धमिलो देखिएपछि यतिबेला पोखरा पुगेका पर्यटकहरू ताल क्षेत्रमा भन्दा पनि पोखरा र आसपासका अन्य पर्यटकीय स्थलहरूमा बढी केन्द्रित हुन थालेका छन् । फेवाताल बाहेकका अन्य प्राकृतिक दृश्यहरू भने वर्षाका कारण झनै सुन्दर, हरियो र लोभलाग्दो देखिएकाले पर्यटकहरू डाँडाकाँडातर्फ उक्लन थालेका हुन् ।
पोखरा महानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष शिव प्रसाद तिमल्सिनाका अनुसार वर्षातको समयमा फेवाताल धमिलो भए पनि पोखराका अन्य पहाडी गन्तव्यहरूमा पर्यटकको चहलपहल निकै बढेको छ । "वर्षाले फेवातालको पानी केही कुरुप बनाए पनि पोखराको समग्र प्रकृतिको रूप भने यो समयमा स्वर्णजस्तै चम्किलो बनेको छ," वडाअध्यक्ष तिमल्सिनाले भन्नुभयो, "अहिले सराङकोट, कास्कीकोट, तोरीपानी र नौडाँडा जस्ता क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।"
















































For Add Product Review. You Need To Login First Login Page


















