Saturday 12-09-2026

रसुवा बाढीपछि हिमाली क्षेत्रमा बढ्दो जोखिम, बस्ती स्थानान्तरण गर्न विज्ञको सुझाव

Logo
Satyapana
  • Wednesday Aug 26 2026
  • | 824 Read

Share News

रसुवा बाढीपछि हिमाली क्षेत्रमा बढ्दो जोखिम, बस्ती स्थानान्तरण गर्न विज्ञको सुझाव

१० भदौ, २०८३ बुधबार ।जल तथा मौसम विज्ञान विभागका बाढी विज्ञ विनोद पराजुलीले तापक्रम वृद्धिसँगै हिमाली क्षेत्रमा हिम पग्लिने क्रम तीव्र बन्दा हिमताल निर्माण, विस्तार र फुट्ने जोखिम बढ्दै गएको बताउनुभएको छ। रसुवामा हालै आएको बाढीपछि प्रतिक्रिया दिँदै उहाँले हिमाली र पहाडी क्षेत्रलाई नै उच्च जोखिमयुक्त क्षेत्रमा राखेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो।

पराजुलीका अनुसार विगतमा यस्ता आकस्मिक बाढी तथा विस्फोटका घटना कमै देखिए पनि पछिल्लो समय यस्ता घटना बढ्दै गएका छन्। हिमाली क्षेत्रमा उत्पन्न बाढी तलतर्फ आउँदा नुवाकोट, धादिङलगायत पहाडी जिल्लामा समेत ठूलो क्षति हुन सक्ने भएकाले जोखिमलाई हिमाली क्षेत्रमै सीमित गरेर हेर्न नहुने उहाँको भनाइ छ।

उहाँले दीर्घकालीन रूपमा देशव्यापी बहुविपद् जोखिम मूल्यांकन गरी जोखिमयुक्त बस्ती पहिचान र सुरक्षित स्थानमा क्रमिक रूपमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो। आकस्मिक रूपमा हुने हिमताल विस्फोट तथा बाढीको समय पूर्वानुमान गर्न कठिन हुने भएकाले भौतिक क्षति रोक्न बस्ती स्थानान्तरण नै प्रभावकारी उपाय भएको उहाँको भनाइ छ।

पराजुलीले तत्कालका लागि भने पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। बाढीको सूचना प्राप्त भएपछि एसएमएस पठाउन तथा साइरन बजाउन ५ देखि १० मिनेटसम्म लाग्ने भएकाले स्वचालित साइरन प्रणाली जडान गरी जोखिममा रहेका मानिसलाई समयमै सुरक्षित स्थानमा पुग्ने वातावरण बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

उहाँका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती तथा आसपासका विभिन्न बस्तीमा ठूलो क्षति भएको प्रारम्भिक विवरण आएको छ। टिमुरे बजारका घर, पसल, होटल तथा बैंकलगायत संरचना बगेका छन् भने स्याफ्रुबेँसीमा पनि बजारको ठूलो हिस्सा प्रभावित भएको बताइएको छ।

प्रारम्भिक अवस्थालाई हेर्दा रसुवा बाढीबाट एक हजारभन्दा बढी घर पूर्ण रूपमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि क्षतिको यकिन विवरण गृह मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गर्नेछ।


For Add Product Review. You Need To Login First Login Page