Search News
कांग्रेसको १५ औं महाधिवेशन: देउवाको बहिष्कार, शेखर तटस्थ, गगनसँगै खड्का समूह !
- Wednesday Sep 16 2026
- | 1421 Read
Share News

३१,भदौ २०८३, बुधबार । कांग्रेसको १५ औं महाधिवेशन ३ असोजबाट सुरु हुने निश्चित भएपछि पूर्वसभापति शेरबहादुर देउवा दबाबमा परेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै देउवाले विशेष महाधिवेशन र त्यसबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अवैधानिक भन्दै संस्थापनको महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् । उनले आफ्नो समूहले २१–२३ मंसिरमा गर्ने समानान्तर महाधिवेशनमा भने साथ र सहयोग गर्न अनुरोध गरेका छन् ।
देउवाले महाधिवेशनमा सहभागी नहुन अपिल गरेको केही घण्टामै सभापति थापाले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी तथा सदस्य वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको प्रस्ट पारेका छन् । उनका अनुसार पूर्वसभापति देउवासहित बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यहरू स्वतः केन्द्रीय सदस्य भएका हुन् ।
थापाले १५ औं महाधिवेशनको प्रक्रियामा कुनै अलमल र द्विविधामा नपरी सक्रियतापूर्वक सहभागी हुन पनि आग्रह गरेका छन् । २८ भदौमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी एवं सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय गरेको थियो ।
‘केन्द्रीय कार्यसम्पादन समितिको निर्णयपछि तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य साथीहरू वर्तमान केन्द्रीय कार्यसमितिको पनि सदस्य सुनिश्चित भइसकेकाले १५ औं महाधिवेशनको यो प्रक्रियामा केन्द्रीय सदस्यका रूपमा नै सहभागी हुने हुँदा कुनै पनि अलमल एवं द्विविधामा नपरी असोज ३ र ४ गतेको वडा अधिवेशनलगायतका अन्य तहका निर्धारित कार्यतालिकाबमोजिमका अधिवेशनमा सहभागी हुन विशेष आग्रह गर्छु’ थापाले भनेका छन् ।
देउवाले संस्थापन पक्षको महाधिवेशन बहिष्कार गर्न आह्वान गरे पनि विगतमा आफ्नै समूहको नेतृत्व सम्हालेका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले भने महाधिवेशनमा भाग लिने भएको छ । विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन पदाधिकारी तथा सदस्यको समायोजन र क्रियाशील सदस्यतालगायत ८ बुँदा माग सम्बोधन हुने भएपछि खड्का पक्ष महाधिवेशनमा सहभागी हुने निर्णयमा पुगेको हो ।
खड्का निवासमा सोमबार बसेको अनौपचारिक बैठकले यो निर्णय गरेको हो । यद्यपि, पुनरावलोकनसम्बन्धी मुद्दा विचाराधीन रहेकाले खड्का भने तत्काल महाधिवेशनमा सहभागी नहुने उनीनिकट नेता श्याम घिमिरेले बताए । विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्नेदेखि ४ वैशाखमा निर्वाचन आयोगकै निर्णयलाई सदर गर्ने अदालतको फैसलाउपर पुनरावलोकनको निवेदन दिनेमा देउवासँगै खड्का पनि छन् ।
खड्कामाथि मुद्दा फिर्ता लिनुपर्ने दबाबसमेत परेको छ । ‘पूर्ण दाइले म तत्काल सहभागी हुन नैतिक रूपमा मिल्दैन, तर रूख र चार तारा जहाँ छ, म त्यहीँ छु भनेर भन्नुभएको छ,’ घिमिरेले भने, ‘त्यसैले हामी महाधिवेशनमा भाग लिने निर्णयमा पुगेका हौं ।’
अर्का नेता शेखर कोइराला महाधिवेशनमा भाग नलिई तटस्थ बस्ने भएका छन् । कोइरालाले मंगलबार आफूनिकट नेताहरूसँगको छलफलमा पार्टीभित्र एकताको पहल गर्न झनै आवश्यक भएको भन्दै तटस्थ बस्ने निर्णय लिएको उनीनिकट नेता बद्री पाण्डेले बताए । उनको पक्षमा रहेका अधिकांश नेता भने महाधिवेशनमा सहभागी हुने मनस्थितिमा पुगेका छन् ।
कोइरालानिकट अर्का एक नेताका अनुसार तत्कालीन उपसभापति धनराज गुरुङसहित तत्कालीन सदस्यहरू दीपक गिरी, कृष्णचन्द्र नेपाली, किरण यादव, चन्द्रमोहन यादव, रुक्मिणी कोइराला, तेजप्रसाद गुरुङले महाधिवेशनमा जाने मनस्थिति बनाएका हुन् । कोइरालानिकट तत्कालीन सहमहामन्त्री पाण्डेसहित, तत्कालीन सदस्यहरू मीनेन्द्र रिजाल, बलबहादुर केसी, सञ्जय गौतम कुनै पक्षमा पनि नलागी तटस्थ नै बस्ने मनस्थितिमा छन् ।
‘हामी शेखर दाइसँगै छौं । उहाँले तटस्थ बस्ने निर्णय लिएपछि एकताका लागि कुनै पनि पक्षमा नलाग्ने भएका छौं,’ पाण्डेले भने, ‘आज जे–जे कुरा सम्बोधन गर्न खोजिएको छ, त्यो समयमै भएको भए एकता हुने वातावरण बन्थ्यो । ढिलाइ हुँदा नै यो समस्या देखिएको हो ।’
शनिबार नै देउवा नेतृत्वको कार्यसमितिमा सहमहामन्त्री रहेकी महालक्ष्मी उपाध्याय ‘डिना’, तत्कालीन संसद्मा प्रमुख सचेतक श्याम घिमिरे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, बागमतीका तत्कालीन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेताहरू जीवनबहादुर शाही, मीन विश्वकर्मा, रामहरि खतिवडालगायत ३१ जनाले दुवै पक्षलाई सहमतिमा आउन दबाब दिँदै विज्ञप्ति जारी गरेका थिए । पूर्वसभापति देउवाले गगनलाई सभापतिका रूपमा नस्विकार्ने अडान लिएपछि सहमतिको वातावरण बन्न नसकेको घिमिरेले बताए ।
देउवाले २१ फागुनको निर्वाचन पछाडि विशेष महाधिवेशनको औचित्व समाप्त भएको भन्दै १४ औं महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा आफूले महाधिवेशन गराउन पाउनुपर्ने विज्ञप्तिमार्फत बताएका छन् । ‘पार्टीको नेतृत्व हस्तान्तरण गर्ने वैधानिक, राजनीतिक तथा नैतिक दायित्व पूरा गर्ने कर्तव्य मेरो हो,’ देउवाको भनाइ छ ।
व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति आफूलाई लोभ र कुनै पदमा पुग्ने लालसा नभएको उनले बताएका छन् । ‘तर राज्य र कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न पछि हट्ने छैन’ देउवाले विज्ञप्तिमा भनेका छन् ।
महामन्त्री प्रदीप पौडेलले महाधिवेशनका लागि सदस्यताको विषयदेखि सबै तयारी भइसकेको बताए । उनले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेकका सबै जिल्लामा दुई दिनभित्र वडा अधिवेशन हुने जानकारी दिए । सहमहामन्त्री उदयशमशेर राणाले महाधिवेशन रोकिने र अलमलिने अवस्था नरहेको बताए । ‘पार्टीको धेरै नेताहरू महाधिवेशनको प्रक्रियामा होमिइसक्नुभएको छ’ उनले भने ।
३–४ असोजमा वडा अधिवेशन सुरु गरेपछि पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन १० असोजसम्म सकेर सिधै १६–१९ मा राजधानीको खुलामञ्चमा केन्द्रीय महाधिवेशन हुने कार्यक्रम छ । जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने तयारी छ ।
अर्कोतर्फ देउवा पक्षले पनि १५ असोजबाट वडा अधिवेशन सुरु गरेर २१–२३ मंसिरमा केन्द्रीय अधिवेशन गर्ने तालिका ल्याएको छ ।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR




















