Search News
इजरायल रोजगारी ठगी : विनिता खड्काको खातामा १ करोड फेला
- Sunday Oct 11 2026
- | 1457 Read
Share News

२५ असोज २०८३, आइतबार । इजरायलमा रोजगारी दिलाउने बहानामा मन्त्रिपरिषद्कै एजेन्डा किर्ते गरी करोडौँ रकम असुली गरिएको प्रकरणमा पक्राउ परेकी विनिता खड्काको खातामा एक करोड रुपैयाँ भेटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार पाँच करोडभन्दा बढी रकम असुली गरिएको उक्त ठगी धन्दामा खड्काको बैंक खातामा सो रकम जम्मा भएको पुष्टि भएपछि उनीमाथि अनुसन्धान केन्द्रित गरिएको हो।
परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई समेत इजरायल पठाउने भन्दै किर्ते कागजात देखाएर रकम संकलन गर्ने गिरोहमा खड्काको प्रत्यक्ष संलग्नता देखिएको प्रहरीले जनाएको छ। मुख्य योजनाकार मानिएका नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईंले पीडितहरूबाट संकलन गरेको रकममध्ये एक करोड रुपैयाँ खड्काको खातामा सारेको र त्यसमध्ये केही रकम ऋण तिर्न प्रयोग भएको सीआईबीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ब्युरोले खड्कासहित पाँच जनालाई नियन्त्रणमा लिएर रकमको स्रोत, प्रवाह र उनको भूमिकाबारे सोधपुछ गरिरहेको छ। लामो समयसम्म इजरायल पठाउने प्रक्रिया अघि नबढेपछि पीडितहरूले दिएको उजुरीका आधारमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो।
यस प्रकरणमा सरकारी कागजात किर्ते, ठगी र संगठित अपराधको कसुर आकर्षित भएको छ। मुलुकी अपराध संहिताअनुसार सरकारी लिखत किर्ते र ठगी प्रमाणित भए सात वर्षसम्म कैद र जरिबाना हुन सक्ने व्यवस्था छ। साथै, संगठित अपराध निवारण ऐनअनुसार कसुर प्रमाणित भए प्रचलित सजायमा थप ५० प्रतिशतसम्म सजाय हुन सक्ने भएकाले खड्कासहितका आरोपितहरूमाथि कानुनी शिकञ्जा थप कसिलो बन्ने देखिएको छ।

For Add Product Review. You Need To Login First Login Page
-
LATEST
-
POPULAR



















