Monday 14-09-2026

बाढी र विपद्को छायामा तीज: न्युरोड र असनमा किनमेलको रौनक शून्यप्राय

Logo
Satyapana
  • एक दिन अगाडि
  • | 915 Read

Share News

बाढी र विपद्को छायामा तीज: न्युरोड र असनमा किनमेलको रौनक शून्यप्राय

२८,भदौ २०८३, आइतबार । हरितालिका तीज पर्वको केही दिनअघि देखि नै न्युरोड र असन क्षेत्रमा खुट्टा राख्ने ठाउँसमेत नहुने गरी खडा हुने अत्यधिक भिडभाड र किनमेलको रौनक यस वर्ष भने पूर्ण रूपमा सुनसान बनेको छ। 

रातो पहिरन, चुरा, पोते, शृङ्गारका सामग्री र गरगहनाको व्यापार उचाइमा पुग्ने यो बेलामा पसलहरू ग्राहक कुरेर बस्न बाध्य छन् भने व्यवसायीहरूका अनुसार गत वर्षहरूको तुलनामा यसपटक जम्मा ५ देखि ७ प्रतिशत मात्रै व्यापार भएको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चीन र भारतबाट आयात हुने चुरा, पोते तथा शृङ्गारिक सामग्रीका मुख्य नाकाहरू (रसुवा र तातोपानी) बन्द हुँदा आपूर्ति प्रणालीमा ठुलो अवरोध सिर्जना भएको छ र बाहिरबाट आउने ग्राहक तथा व्यापारीहरूको आवतजावत समेत ठप्प जस्तै भएको छ।

 प्राकृतिक विपद्बाट धेरै परिवारहरू प्रभावित हुनु र देश नै गहिरो शोकमा डुब्नुपरेका कारण यस वर्ष सामूहिक रूपमा दर खाने कार्यक्रमहरू ठूलो मात्रामा रोकिएका छन्, जसले गर्दा पर्वको सांस्कृतिक रौनक केही मात्रामा बचे पनि विगतका वर्षजस्तो उल्लास, रमझम र उत्साह मानिसहरूमा देख्न पाइएको छैन।

 बजारमा फाट्टफुट्ट रूपमा केही मानिसहरू किनमेलका लागि देखिए पनि चुरा, पोते र पोसाकहरूको माग अघिल्ला वर्षहरूको दाँजोमा अत्यन्तै न्यून रहेको छ र बाढीको प्रभाव तथा मानवीय क्षतिप्रतिको संवेदनाले गर्दा यसपटकको तीज पर्व र यससँग जोडिएको बजार प्रत्यक्ष रूपमा खुम्चिन पुगेको छ।


For Add Product Review. You Need To Login First Login Page