Friday 11-09-2026

नारायणी नदीमा बाढीले बगाएका २६ शव तथा मानव अंग फेला

Logo
Satyapana
  • Thursday Aug 27 2026
  • | 827 Read

Share News

नारायणी नदीमा बाढीले बगाएका २६ शव तथा मानव अंग फेला

 ११ भदौ, २०८३  बिहीबार। पूर्वी नवलपरासीको गैँडाकोट क्षेत्रमा नारायणी नदीमा आएको बाढीले बगाएर ल्याएका २६ वटा शव तथा मानव अंग फेला परेका छन्। फेला परेका शवमध्ये १२ जना पुरुष, ३ जना महिला, १ जना बालक र ४ जना बालिका रहेका छन्। यस्तै, शरीरका विभिन्न ६ वटा अंग मात्र फेला परेको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । 


फेला परेका शव तथा अंगमध्ये गैँडाकोट–२ नारायणी पुल नजिक करिब १० वर्षकी बालिका, बोटेटोल क्षेत्रमा पुरुष, करिब १२ वर्षकी बालिका, ५ महिनाकी बालिका तथा विभिन्न उमेर समूहका पुरुष र महिलाका शव रहेका छन्।

गैँडाकोट–२ बोटेटोलबाट मात्र करिब ३५ वर्ष, ४० वर्ष, २५ वर्ष र ३२ वर्ष उमेरका पुरुषका शव तथा करिब ३ वर्षकी बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ। सोही क्षेत्रमा कम्मरमुनिको भाग तथा बायाँतर्फको हातदेखि खुट्टासम्मको अंगसमेत फेला परेको छ।
यस्तै, गैँडाकोट–२ स्थित छिमेकी होटलबाट करिब ५० वर्षका दुई पुरुषका शव तथा पाम होटल क्षेत्रबाट करिब ३० वर्षकी महिलाको शव फेला परेको छ।
गैँडाकोट–६ बोटेटोलबाट करिब ४५ वर्ष र सलमनटोलबाट करिब ५० वर्षका पुरुषका शव फेला परेका छन्। गैँडाकोट–१३ शिख्रौली घाटबाट करिब ३० वर्षका पुरुष, करिब १३ वर्षका बालक तथा हात र खुट्टा फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, गैँडाकोट–७ गैरीबाट करिब ३५ वर्षकी महिलाको शव तथा अर्को मानव अंग र गैँडाकोट–१ ब्रिटिस क्याम्पबाट करिब ३० वर्षकी महिला र ३५ वर्षका पुरुषको शव फेला परेको छ। गैँडाकोट–२ एक्सपोर्ट कलेज अगाडिबाट समेत थप एक मानव अंग फेला परेको प्रहरीले जनाएको छ।
फेला परेका सबै शव तथा मानव अंगको नाम, थर र वतन खुल्न सकेको छैन। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवहरूलाई नगर अस्पताल गैँडाकोटको शवगृहमा राखेको जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page