Saturday 12-09-2026

रसुवाबाट आएको बाढीपछि तल्लो तटीय क्षेत्रमा निगरानी तीव्र

Logo
Satyapana
  • Wednesday Aug 26 2026
  • | 800 Read

Share News

रसुवाबाट आएको बाढीपछि तल्लो तटीय क्षेत्रमा निगरानी तीव्र

१० भदौ, २०८३ बुधबार । रसुवाको चीन सीमा क्षेत्रबाट आएको बाढीपछि जल तथा मौसम विज्ञान विभागले तल्लो तटीय क्षेत्रमा निगरानी तथा पूर्वसूचना प्रवाहलाई तीव्र बनाएको छ।

विभागका अनुसार बिहान करिब ९ बजे चीन सीमा क्षेत्रबाट बाढी आएको सूचना प्राप्त भएपछि भोटेकोशीको स्याफ्रुबेँसीस्थित जल मापन केन्द्रमा बाढीले क्षति पुर्‍याएको थियो। स्टेशन बाढीले बगाएपछि त्यहाँबाट डेटा ट्रान्सफरसमेत अवरुद्ध भएको विभागले जनाएको छ।

बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा बढ्दै गएपछि बेत्रावतीलगायतका क्षेत्रमा समेत जल मापन केन्द्र प्रभावित भएका छन्। विभागले रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती तथा नुवाकोट आसपासका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाएको जनाएको छ। तर, केही क्षेत्रमा स्टेशन तथा सञ्चार संरचना बाढीले बगाएपछि नेटवर्क अवरुद्ध हुँदा एसएमएस पठाउन समस्या भएको विभागको भनाइ छ।

यसैबीच त्रिशूली नदीको मलेखु–फुर्के क्षेत्रमा रहेको जल मापन केन्द्र पनि पुलसहित बाढीले बगाएको विभागले जनाएको छ। उक्त क्षेत्रमा पानीको सतह करिब १० दशमलव ४८ मिटर पुगेको र सतर्कता तहभन्दा माथि गएर उच्च जोखिमको अवस्था सिर्जना भएको विभागले जनाएको छ।

त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा रहेका अधिकांश जल मापन केन्द्र बाढीबाट क्षतिग्रस्त वा बगिसकेकाले अहिले तल्लो तटीय क्षेत्रतर्फ विशेष निगरानी भइरहेको छ। विभागले त्रिशूली–कालीखोला क्षेत्रमा समेत पूर्वसूचना पठाइसकेको जनाएको छ।

विभागका अनुसार उच्च सतर्कता तह पार गरेपछि खतरा तहसमेत पार गरेको सूचना सम्बन्धित उच्च निकाय तथा स्थानीय तहलाई पठाइएको छ। अहिले देवघाट र कालीखोला क्षेत्रमा भने पानीको सतह सामान्य अवस्थामा रहेको र तत्काल बढ्दो क्रममा नरहेको विभागले जनाएको छ।

तल्लो तटीय क्षेत्रको अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यकताअनुसार एसएमएस तथा अन्य माध्यमबाट पूर्वसूचना प्रवाह गरिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page