Search News
रामेछापका आठवटै पालिका जित्छौँ, उम्मेदवार छनोटमा योग्यतासँग सम्झौता हुन्न
- Tuesday Sep 01 2026
- | 17372 Read
Share News

१६ भदौ, २०८३ मंगलबार। आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी देशभर राजनीतिक सरगर्मी बढिरहेको छ। नयाँ राजनीतिक संस्कृतिको वकालत गर्दै वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जिल्ला तथा स्थानीय तहमा आफ्नो साङ्गठनिक पकड मजबुत बनाउँदै ‘क्यान्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ। यसै सन्दर्भमा रामेछाप जिल्लामा रास्वपाको साङ्गठनिक अवस्था, चुनावी रणनीति, क्यान्डिडेट क्लबको प्रभाव, सम्भावित उम्मेदवारहरूको मापदण्ड, गठबन्धनको सम्भावना तथा जिल्लाको समग्र विकास, बजेट बेथिति र सुशासनका एजेन्डाबारे रास्वपा रामेछापका जिल्ला सभापति रमेश रायमाझीसँग सत्यपाना डटकमका सम्पादक विश्वेश्वर खड्काले गरेको विस्तृत कुराकानीको सम्पादित अंश:
रामेछापमा रास्वपाको पहिलो जिल्ला अधिवेशनबाट तपाईं पुनः सभापतिमा दोहोरिनुभएको छ। आगामी स्थानीय तह निर्वाचनका लागि जिल्लामा पार्टीको आन्तरिक तयारी अहिले कुन चरणमा पुगेको छ ?
हामीले पार्टीको पहिलो जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गरेपछि संगठन विस्तारसँगै अब पूर्ण रूपमा स्थानीय तहको निर्वाचन केन्द्रित भएर काम अगाडि बढाइरहेका छौं। जिल्लाका आठवटै स्थानीय तह (२ नगरपालिका र ६ गाउँपालिका) तथा ६४ वटै वडा तहसम्मै कमिटीहरूलाई पूर्ण रूपमा सक्रिय, चलायमान र सुदृढ बनाउने काम भइरहेको छ। रामेछापको भूगोल अलि विकट भए पनि राजधानी तथा जिल्लाबाहिर विभिन्न पेसा, व्यवसाय वा अध्ययनमा रहेका तर आफ्नो जन्मभूमिको विकासका लागि चिन्तित, इमानदार र अब्बल युवाहरूलाई पार्टीको अभियानमा जोड्ने काम तीव्र गतिमा भइरहेको छ। आजको दिनमा रामेछाप जिल्लाभर ७ हजारभन्दा बढी सक्रिय सदस्यहरू रास्वपामा आबद्ध भइसकेका छन्, जसले आगामी निर्वाचनका लागि निकै बलियो जग निर्माण गरेको छ।
केन्द्रले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’ (Candidate Club) को अवधारणा ल्याएको छ। रामेछाप जस्तो भौगोलिक रूपमा विकट जिल्लामा यसको प्रभाव र सहभागिता कस्तो देखिँदैछ ?
यो नेपालको परम्परागत राजनीतिमै एउटा वैज्ञानिक अभ्यास हो। विगतमा नेताको चाकडी गरेर वा पैसाको थैली बुझाएर टिकट लिने विकृत परिपाटी थियो, तर क्यान्डिडेट क्लबले त्यो प्रथालाई जरैदेखि अन्त्य गरिदिएको छ। यसले पार्टीभित्र स्वच्छ नेतृत्व विकास गर्न र सही मान्छे छनोट गर्न ठूलो सघाउ पुर्याएको छ। रामेछापबाट पनि क्यान्डिडेट क्लबमा जोडिन चाहने योग्य, ऊर्जाशील युवा तथा विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्वहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ। यद्यपि भौगोलिक विकटताका कारण अनलाइन प्रविधिको पहुँचमा केही सीमाहरू छन्, तैपनि जिल्लाभरबाट सक्षम आकांक्षीहरूले नाम दर्ता गराइरहनुभएको छ।
तर गाउँ–गाउँमा डिजिटल साक्षरता र इन्टरनेट सबै नागरिकको पहुँचमा छैन नि, विकट बस्तीका योग्य व्यक्तिहरू प्रविधिकै कारण उम्मेदवारी प्रक्रियाबाट छुट्ने जोखिम हुँदैन ?
यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो। अनलाइन फर्म भर्न नसक्ने तर गाउँमै बसेर निष्ठापूर्वक सामाजिक सेवा गरिरहेका, स्थानीय भूगोल बुझेका र जनतामा गहिरो पकड भएका योग्य नागरिकहरूलाई पार्टीको वडा तथा पालिका कमिटीले प्रत्यक्ष भेटेर सहजीकरण गर्छ। प्रविधिको पहुँच नभएकै कारण कुनै पनि सच्चा, इमानदार र अब्बल व्यक्ति उम्मेदवारी प्रक्रियाबाट वञ्चित हुनुपर्दैन। पार्टीले त्यस्ता साथीहरूलाई पहिचान गरेर क्यान्डिडेट क्लबमा दर्ता गराउने व्यवस्था मिलाएको छ।
टिकट वितरणको आधिकारिक निर्णय नहुँदै अहिलेदेखि नै रामेछापका विभिन्न पालिकामा ‘फलानो व्यक्ति अध्यक्ष वा प्रमुखको उम्मेदवार बन्दैछ’ भनेर नामै तोकेर चर्चा सुरु भएको सुनिन्छ। के यो आधिकारिक हो वा हल्ला मात्र ?
यो पूर्ण रूपमा अनौपचारिक र व्यक्तिगत चाहना वा शुभचिन्तकहरूको आकलन मात्रै हो। म प्रस्ट पार्न चाहन्छु— अहिले नै रामेछापबाट कुनै पनि पदमा कसैको उम्मेदवारी आधिकारिक रूपमा फाइनल भइसकेको छैन। पार्टीको विधान एकदम स्पष्ट छ, पार्टीले कुनै एक व्यक्तिलाई कोठामा बसेर सिधै तोक्दैन। क्यान्डिडेट क्लबमा आवेदन दिएकाहरूको पृष्ठभूमि अध्ययन, लिडरसिप एकेडेमीको अनिवार्य प्रशिक्षण र निर्धारित विधि-प्रक्रिया पूरा गरेपछि मात्रै आधिकारिक उम्मेदवारको अन्तिम घोषणा हुन्छ। त्यसैले अहिले बजारमा चलेका चर्चाका भरमा कसैले टिकट पाइसक्यो भन्नु भ्रम मात्र हो।
स्थानीय तहमा उम्मेदवार बन्नका लागि रास्वपाले तोकेको न्यूनतम योग्यता र मापदण्ड के-के हुन् ? पुराना र नयाँ सदस्यहरूबीच कसरी सन्तुलन मिलाउनुहुन्छ ?
हाम्रो मुख्य आधार ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता, निष्ठा र क्षमता प्रणाली हो। पहिलो सर्त— समाजमा कुनै दाग नलागेको, कुनै पनि प्रकारको भ्रष्टाचार, आर्थिक अनियमितता वा नैतिक पतन हुने गतिविधिमा संलग्न नरहेको व्यक्ति हुनुपर्छ। दोस्रो— स्थानीय जनतामा भिजेको, समाज रूपान्तरणको हुटहुटी भएको र पार्टीको मूल्य–मान्यता बुझेको हुनुपर्छ। यहाँ पुराना दलबाट आएको वा नयाँ सदस्य बनेको भन्ने आधारमा कुनै पक्षपात हुँदैन। पार्टीको सदस्यता लिएर विधान अनुसारको समयावधि र मापदण्ड पूरा गर्ने जो-कोही सक्षम नागरिकले प्रतिस्पर्धा गर्न पाउँछन्। पढाइ मात्र अब्बल भएर पुग्दैन, व्यवहारिकता, जनतासँगको घुलमिल र संगठनप्रतिको योगदानलाई पनि उत्तिकै महत्व दिइन्छ।
उम्मेदवार बन्नका लागि ‘लिडरसिप एकेडेमी’ को प्रशिक्षण अनिवार्य गरिएको भनिएको छ। स्थानीय निर्वाचनमा यसले कस्तो फरक पार्छ ?
चुनाव जित्नु मात्रै सबै थोक होइन, जितेपछि स्थानीय सरकार कसरी सञ्चालन गर्ने भन्ने ज्ञान र दृष्टिकोण हुनु सबैभन्दा मुख्य कुरा हो। स्थानीय तहको बजेट कसरी बनाउने, नीति तथा कार्यक्रम कसरी तर्जुमा गर्ने, सुशासन कसरी कायम गर्ने, भ्रष्टाचाररहित ढंगले जनसेवा कसरी प्रवाह गर्ने भन्ने विषयमा स्पष्ट खाका चाहिन्छ। लिडरसिप एकेडेमीले हाम्रा उम्मेदवारहरूलाई पद सम्हाल्नु अगावै पूर्ण रूपमा दक्ष, सक्षम, कानुनसम्मत र जनताप्रति उत्तरदायी बनाउनेछ। यसले स्थानीय तहमा नयाँ र उदाहरणीय कार्यसम्पादन देखाउन मद्दत पुग्नेछ।
स्थानीय तहमा पूर्वकर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, इन्जिनियर वा विज्ञ व्यक्तिहरूलाई उम्मेदवार बनाउने कुनै विशेष योजना छ ?
निश्चय नै। समाजका विभिन्न क्षेत्रमा रहेर निष्कलङ्क छवि बनाएका, व्यावसायिक रूपमा सफल भएका र स्थानीय स्तरमा लामो समय योगदान पुर्याएका विज्ञहरूलाई हामी चुनावी मैदानमा उतार्न चाहन्छौं। इन्जिनियर, डाक्टर, शिक्षक, कृषि विज्ञ, योजनाकार तथा सामाजिक अभियन्ताहरू यदि स्थानीय नेतृत्व लिन अघि सर्नुहुन्छ भने रास्वपाले उहाँहरूलाई उच्च प्राथमिकताका साथ अवसर दिनेछ।
स्थानीय तहमा महिला, दलित र सीमान्तकृत समुदायको सहभागितालाई सुनिश्चित गर्न पार्टीले कस्तो नीति लिएको छ ?
नेपालको संविधानले दिएको समानुपातिक तथा समावेशी मर्मलाई हामी कानुनी औपचारिकता वा कोटा पुर्याउने माध्यममा सीमित राख्दैनौं। स्थानीय तहको निर्णय प्रक्रिया र कार्यकारी भूमिकामै महिला, दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण र नेतृत्वदायी प्रतिनिधित्व गराउने गरी हामी उम्मेदवार तय गर्छौं। उहाँहरूलाई उपप्रमुख वा सदस्यमा मात्र होइन, क्षमताका आधारमा प्रमुख पदहरूमा समेत अगाडि सार्ने हाम्रो नीति छ।
यदि टिकट वितरणमा असन्तुष्टि जनाउँदै कुनै नेता वा कार्यकर्ता बागी उठे भने पार्टीले त्यसलाई कसरी व्यवस्थापन गर्छ ?
रास्वपा एउटा सुसंस्कृत, विधिमा चल्ने राजनीतिक दल हो। यहाँ व्यक्तिगत महत्त्वाकांक्षा वा पदलोलुपताभन्दा पार्टीको नीति, अनुशासन र जनहित सर्वोपरि हुन्छ। जो व्यक्ति विधि र लोकतान्त्रिक प्रक्रियाबाट आउँछ, उसलाई सबैले सहयोग गर्नुपर्छ। यदि कोही अनुशासन विपरीत गएर पार्टीलाई क्षति पुर्याउन खोज्छ भने पार्टीले त्यसलाई कूटनीतिक सम्झौताभन्दा पनि सांगठनिक अनुशासनको दायराभित्र राखेर कडा निर्णय लिन्छ।
पार्टीभित्रै पनि कुनै नेता वा जनप्रतिनिधिमाथि नैतिक, आर्थिक वा अनुशासनको प्रश्न उठ्यो भने रास्वपाले उन्मुक्ति दिन्छ कि कारबाही गर्छ ?
रास्वपामा गल्ती गर्नेलाई ढाकछोप गर्ने वा जोगाउने कुनै गुट छैन। यो कुरा केन्द्रदेखि नै प्रमाणित भइसकेको छ— पार्टी स्थापनाकालदेखि लागेका वा केन्द्रीय सदस्य भएका व्यक्तिहरूले समेत गल्ती गर्दा कारबाहीको दायरामा आउनुभएको छ। रामेछाप जिल्लाको हकमा पनि यही नियम लागू हुन्छ। नातागोता, चिनजान, शक्ति वा पार्टीमा गरेको पुरानो योगदानको नाममा गलत काम गर्ने कसैलाई पनि छुट हुँदैन। दोषी देखिएमा पार्टीको विधि र देशको कानुन अनुसार तत्काल कडा कारबाही हुन्छ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले जनअपेक्षा अनुसार काम गर्न नसकेमा ‘राइट टु रिकल’ (Right to Recall) को कुरा उठिरहेको छ, यो रामेछापमा कसरी लागू हुन्छ ?
हाम्रो पार्टीको मूल सिद्धान्त र चुनावी प्रतिबद्धता नै यही हो। चुनाव जितेर गएपछि ५ वर्षसम्म जनतालाई बिर्सने र मनपरी गर्ने परम्परागत प्रवृत्तिको हामी अन्त्य गर्न चाहन्छौं। यदि हाम्रा जनप्रतिनिधिले जनहितविपरीत काम गरे, भ्रष्टाचारमा मुछिए वा चुनावी वाचा पूरा गर्न सकेनन् भने उनीहरूलाई पार्टीबाट फिर्ता बोलाउने र पदमुक्त गर्ने आन्तरिक तथा नीतिगत विधिको अभ्यास हामी गराउँछौं।
आगामी स्थानीय निर्वाचनका लागि रामेछापमा चुनावी गठबन्धन गर्ने सोच छ कि रास्वपा एक्लै चुनावी मैदानमा उत्रिन्छ ?
हामी अहिले कसैसँग पनि चुनावी गठबन्धन गर्ने मुडमा छैनौं। गठबन्धन गरेर भागबन्डा गर्ने र जनतालाई झुक्याउने काम रास्वपाले गर्दैन। रास्वपा आफ्नै स्पष्ट विचार, जनमुखी एजेन्डा, परिवर्तनको हुटहुटी र सांगठनिक शक्तिका भरमा रामेछापका सबै स्थानीय तहमा एक्लै चुनाव लड्ने पूर्ण तयारीमा छ।
आगामी निर्वाचनमा रामेछापका कतिवटा स्थानीय तहमा जित्ने अपेक्षा राख्नुभएको छ ?
हामी रामेछापका आठवटै पालिका (मन्थली र रामेछाप नगरपालिका तथा दोरम्बा सैलुङ, उमाकुण्ड, खाँडादेवी, सुनापती, लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिका) जित्ने स्पष्ट लक्ष्यका साथ चुनावी मैदानमा होमिएका छौं। अहिलेको हाम्रो सांगठनिक अवस्था र वस्तुगत मूल्यांकन अनुसार ६ वटा पालिकामा हाम्रो स्थिति निकै बलियो र जित सुनिश्चित भइसकेको छ। बाँकी २ वटा पालिकामा पनि केही आन्तरिक तयारी थपेर जित निकाल्ने गरी अघि बढेका छौं। हाम्रो समग्र योजना रामेछाप जिल्लामा ‘क्लिन स्विप’ गर्ने नै हो।
पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति जनतामा चरम असन्तुष्टि देखिन्छ। यस्तो अवस्थामा रास्वपाले स्थानीय विकास र राजनीतिक संस्कारमा कस्तो फरक अभ्यास गर्न खोजिरहेको छ ?
पुराना दलहरूले राजनीतिलाई गालीगलौज, व्यक्तिगत इगो, दम्भ र समाज भड्काउने माध्यम बनाएका छन्। हाम्रो स्पष्ट दृष्टिकोण के हो भने— समाजमा सबै नागरिक रास्वपा भएर मात्र जन्मँदैनन्। पुराना वा अन्य दलमा आस्था राख्ने नागरिकहरू पनि यही समाजका अभिन्न अंग हुन्, उहाँहरूसँग पनि सँगै मिलेर बस्नुपर्छ। त्यसैले हामी कसैलाई चिढाएर होइन, सबैलाई जोडेर र असल कामको पक्षमा उभ्याएर अगाडि बढ्न चाहन्छौं। गल्ती गर्नेले ढिलो-चाँडो कानुनी सजाय पाउनैपर्छ, तर राजनीतिमा व्यक्तिगत प्रतिशोध होइन, सुसंस्कृत शैली र परिणाममुखी विकास देखिनुपर्छ।
रामेछापमा विनियोजन हुने प्रदेश र स्थानीय तहको बजेट तथा विकास निर्माणको अवस्थालाई तपाईंले कसरी हेर्नुभएको छ ? यसमा के-कस्ता विसङ्गति देख्नुभएको छ ?
अहिले रामेछापमा आएका प्रदेश र स्थानीय तहका बजेटका शीर्षकहरू हेर्ने हो भने जो-कोही सचेत नागरिक तर्सिनुपर्ने अवस्था छ। जहाँ थोरै लगानीमा धेरै काम गर्न र जनतालाई प्रत्यक्ष लाभ पुर्याउन सकिन्छ, त्यस्ता अत्यावश्यक ठाउँहरूमा बजेट नै पारिँदैन। बरु कमिसन खान सजिलो हुने र काम देखाउन नपर्ने खोलामा बाँध हाल्ने जस्ता ठाउँमा बजेट थुपारिएको छ। अझ अचम्मको कुरा त, एउटै गाउँ र एउटै योजनाका लागि तामाङ भाषामा एउटा नाम र राष्ट्रिय भाषामा अर्कै नाम राखेर दोहोरो शीर्षक खडा गरी बजेट दुरुपयोग गरिएको छ। पहुँच भएका नेताका वडामा बजेटको ओइरो लाग्ने र पहुँच नभएका विकट वडाहरू पूर्ण रूपमा उपेक्षित हुने चरम विभेद छ। रास्वपाले नेतृत्व लिएपछि यस्तो बजेट लुटतन्त्र र कमिसनको खेल पूर्ण रूपमा रोकिनेछ।
विपक्षीमा बस्दा खबरदारी गरेर यस्ता विकृति रोक्न सकिँदैन र ? नेतृत्वमै पुग्नुपर्ने किन ?
हामीले निरन्तर आवाज उठाइरहेका छौं। तर पुराना दलहरूले सबै कानुनी र प्रक्रियागत कागजातहरू यसरी मिलाएर भ्रष्टाचार गरेका छन् कि बाहिरबाट खबरदारी गरेर मात्र त्यो दलीय सिन्डिकेट भत्काउन सकिँदैन। उनीहरूको हातमा सत्ता र संयन्त्र हुँदासम्म उनीहरूले आफू अनुकूल काम गरिरहन्छन्। त्यसैले त्यो विकृतिको जालो चुडाउन, कमिसनतन्त्रको मुहान बन्द गर्न र सही विधि बसाल्न हामी आफैं नेतृत्व र कार्यकारी जिम्मेवारीमा पुग्नैपर्छ।
तपाईंले वडा, पालिका, प्रदेश र संघसम्म एउटै सोच भएको नेतृत्व हुनुपर्छ भन्दै ‘ढुङ्गाको गारो’ को उदाहरण दिनुभएको थियो, यसलाई अझ प्रस्ट्याइदिनुस् न ?
म यसलाई एकदमै सरल र व्यावहारिक ढंगले बुझाउँछु— ढुङ्गाको गारो लगाउँदा त्यसमाथि ढुङ्गै-ढुङ्गाको साइज मिलाएर राखियो भने मात्र त्यो गारो मजबुत र दिगो हुन्छ। तर गारो लगाउँदा एउटा ढुङ्गा, एउटा इँटा, एउटा फलाम र अलिकति माटो मिसाएर राखियो भने त्यो गारो कहिल्यै दह्रो हुँदैन, जुनसुकै बेला भत्किन सक्छ। स्थानीय तहदेखि वडा, पालिका र संघसम्म एउटै सुशासन, पारदर्शिता र समृद्धिको सोच भएको रास्वपाको नेतृत्व जोडियो भने मात्र हामीले चाहेजस्तो तीव्र र व्यवस्थित विकास सम्भव हुन्छ।
रामेछापको मुख्य समस्या गरिबी, बेरोजगारी र युवा पलायन हो। यसलाई सम्बोधन गर्न रास्वपाको स्थानीय सरकारको स्पष्ट योजना के हुन्छ ?
रामेछापबाट युवाहरू खाडी र अन्य मुलुकमा पलायन हुने क्रम डरलाग्दो छ। यसलाई रोक्न हामी स्थानीय स्तरमै उत्पादन र रोजगारी सिर्जना गर्ने ठोस आर्थिक कार्यक्रम ल्याउँछौं। रामेछापको कृषि, जडीबुटी, पशुपालन र पर्यटनलाई आधुनिक प्रविधि, सहुलियतपूर्ण वित्तीय पहुँच र बजारसँग जोडेर साना तथा मझौला उद्यमको व्यापक विकास गरिनेछ। युवाहरूलाई स्थानीय तहमै उद्यमशीलता तालिम, डिजिटल सीप र स्टार्टअप फन्ड उपलब्ध गराएर गाउँमै स्वाभिमानपूर्वक स्वरोजगार बन्ने वातावरण बनाउँछौं।
रामेछाप कृषिप्रधान जिल्ला भए पनि किसानले समयमा मल, उन्नत बीउ र सिँचाइ पाउँदैनन्। यसको दिगो समाधान कसरी गर्नुहुन्छ ?
कृषिमा आत्मनिर्भर नभई जिल्लाको समृद्धि सम्भव छैन। स्थानीय पालिकाहरूको समन्वयमा किसानका उत्पादन सुरक्षित राख्न आधुनिक शीतभण्डार (Cold Store) निर्माण गर्ने, बाली लगाउने समय अगावै मल र उन्नत बीउबिजनको सुनिश्चितता गर्ने तथा लिफ्टिङ र साना सिँचाइ आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाउने हाम्रो योजना छ। साथै, किसानको उत्पादनलाई बिचौलियामुक्त बनाएर उचित मूल्य दिलाउने ग्यारेन्टी स्थानीय सरकारले लिनेछ।
पर्यटनको प्रचुर सम्भावना बोकेको सैलुङ, खाँडादेवी, सुनापती लगायतका क्षेत्रको प्रवर्द्धनका लागि रास्वपाको दृष्टिकोण के छ ?
रामेछाप प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्तै धनी जिल्ला हो। सैलुङ जस्ता विश्वप्रसिद्ध पर्यटकीय क्षेत्रलाई एकीकृत पूर्वाधार, व्यवस्थित पदमार्ग, गुणस्तरीय सामुदायिक होमस्टे र डिजिटल ब्रान्डिङमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना छ। पर्यटनबाट हुने आम्दानी ठूला बिचौलियाको हातमा होइन, सिधै गाउँका स्थानीय नागरिक र साना व्यवसायीको हातमा पुग्ने ‘समुदायमा आधारित पर्यटन मोडल’ हामी लागू गर्छौं।
जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न रास्वपाको स्थानीय सरकारले कस्तो ठोस कदम चाल्छ ?
सामुदायिक विद्यालयहरूमा दलीय राजनीतिको अन्त्य गरी पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा र गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्छौं। स्वास्थ्य क्षेत्रको कुरा गर्दा, सामान्य सिटामोल नपाएर वा डाक्टर नभएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गरिनेछ। प्रत्येक आधारभूत स्वास्थ्य चौकीहरूमा आवश्यक औषधि, आधुनिक उपकरण र दक्ष स्वास्थ्यकर्मीसहितको नियमित सेवा स्थानीय तहबाटै प्रत्याभूत गराइनेछ।
विकास निर्माणका काममा हुने ढिलासुस्ती, कमिसनतन्त्र र ठेक्कापट्टाको अनियमितता नियन्त्रण गर्न के प्रतिबद्धता छ ?
हामी भ्रष्टाचार र कमिसनतन्त्रमा ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति लिन्छौं। सबै सार्वजनिक ठेक्कापट्टा, आयोजनाहरूको लागत र बजेट खर्चलाई डिजिटल पोर्टल र सार्वजनिक सुनुवाइमार्फत नागरिकले प्रत्यक्ष हेर्न मिल्ने गरी पारदर्शी बनाइनेछ। समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने र जनतालाई दुःख दिने ठेकेदारलाई कडा कानुनी कारबाहीको दायरामा ल्याइनेछ।
अहिले स्थानीय तहमा लगाइएका अनावश्यक करको भारले साना तथा मझौला व्यवसायीहरू मर्कामा परेका छन्, यसमा तपाईंहरूको नीति के हुन्छ ?
नागरिक र व्यवसायीलाई करको अनावश्यक बोझ थोपरेर विकासको नाटक रच्न सकिँदैन। हामी अव्यावहारिक र दोहोरो करहरू तत्काल हटाउने, करको दर घटाएर दायरालाई वैज्ञानिक र पारदर्शी बनाउने तथा उद्यम र व्यवसाय फस्टाउने खालको व्यवसायमैत्री वातावरण निर्माण गर्ने नीति अवलम्बन गर्छौं।
रामेछापमा सुगमदेखि अत्यन्तै विकट हिमाली तथा ग्रामीण भूगोल छन्, जहाँ खानेपानी, सडक, स्वास्थ्य र बेरोजगारीका आ-आफ्नै जटिल समस्या छन्। पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि जिल्लाभरका पालिका र वडाहरूमा कस्तो खाका र प्रक्रियाबाट स्थानीय घोषणापत्र (संकल्पपत्र) तयार गर्दैछ ?
रामेछापका आठवटै स्थानीय तहको भौगोलिक बनोट, सम्भावना र जनजीविकाका समस्याहरू एकैनासका छैनन्। सदरमुकाम मन्थलीको समस्या र दोरम्बा सैलुङ वा उमाकुण्डको विकट हिमाली क्षेत्रको आवश्यकता फरक छ। त्यसैले हामी काठमाडौँ वा पार्टीको जिल्ला कार्यालयको कोठामा बसेर बनाइने परम्परागत घोषणापत्रको विपक्षमा छौं। रास्वपाले प्रत्येक पालिका र ६४ वटै वडामा ‘ग्रासरुट लेभल’ (तल्लो तह) मै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद, विज्ञहरूको टोली परिचालन र स्थानीय आवश्यकताको सूक्ष्म पहिचान गरी ‘माइक्रो-प्लान’ सहितको स्थानीय घोषणापत्र तयार गर्दैछ। जहाँ कृषिको सम्भावना छ, त्यहाँ शीतभण्डार र सिँचाइ; जहाँ पर्यटनको प्रचुर सम्भावना छ, त्यहाँ पूर्वाधार र होमस्टे र जहाँ आधारभूत खानेपानी वा सडकको समस्या छ, त्यहाँ समयसीमा नै तोकेर काम गर्ने ‘ग्यारेन्टी पत्र’ का रूपमा घोषणापत्र ल्याइनेछ।
विगतमा पुराना दलहरूले पनि चुनावमा यस्तै ठूला-ठूला घोषणापत्र ल्याएर जनतालाई आश्वासनको भारी बोकाए तर जितेपछि कार्यान्वयन भएन। रास्वपाको घोषणापत्र पनि उनीहरूजस्तै देखाउने दाँत मात्रै बन्दैन भन्ने के आधार छ ?
हाम्रो घोषणापत्र भोट माग्नका लागि रचिएको ‘आश्वासनको पुलिन्दा’ हुनेछैन। हामी स्रोतको सुनिश्चितता नभएका, हावादारी र असम्भव सपनाहरू देखाउँदैनौं। स्थानीय तहको आन्तरिक बजेट, प्रदेश र संघीय समपूरक अनुदानलाई ठ्याक्कै कुन योजनामा कसरी परिचालन गर्ने भन्ने वित्तीय खाका (Financial Framework) सहितको ‘एक्सन प्लान’ सार्वजनिक गर्छौं। अर्को मुख्य कुरा— हामीले घोषणापत्रसँगै जनप्रतिनिधिको कार्यसम्पादनलाई बाँध्ने आन्तरिक अनुगमन संयन्त्र बनाएका छौं। यदि हाम्रा निर्वाचित जनप्रतिनिधिले घोषणापत्रको प्राथमिक तालिकाअनुसार इमानदारीपूर्वक काम गरेनन् भने पार्टीले ‘राइट टु रिकल’ को विधिअनुसार फिर्ता बोलाउने स्पष्ट नीति लिएको छ। त्यसैले हाम्रो प्रतिबद्धता कागजमा मात्र सीमित रहनेछैन, कार्यान्वयन नै यसको पहिलो सर्त हुनेछ।
घोषणापत्र निर्माण प्रक्रियामा स्थानीय नागरिक, युवा पुस्ता र विज्ञहरूको सहभागिता कसरी सुनिश्चित गरिन्छ ? के घोषणापत्र जनअपनत्व महसुस हुने गरी बन्छ ?
पक्कै पनि। घोषणापत्र दलको मात्र नभएर आम रामेछापेली नागरिकको आफ्नै दस्ताबेज बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ। यसका लागि हामीले प्रत्येक वडामा ‘नागरिक सुझाव संकलन अभियान’ सञ्चालन गर्दैछौं, जहाँ स्थानीय किसान, उद्यमी, शिक्षक, युवा, महिला र सीमान्तकृत समुदायसँग खुला अन्तरक्रिया गरेर उनीहरूका प्राथमिकता संकलन गरिन्छ। साथै, जिल्लाबाहिर रहेका रामेछापेली विज्ञ, इन्जिनियर र योजनाकारहरूको ज्ञानलाई समेत जोडेर प्राविधिक रूपमा सम्भाव्य योजना मात्र समेटिनेछ। जनताले आफ्नो भूगोल र समस्या आफैंले लेखेको महसुस गर्ने गरी पूर्ण जनअपनत्वसहितको घोषणापत्र हामी जारी गर्नेछौं।
अन्त्यमा, रामेछापका आम मतदाता तथा पार्टी पङ्क्तिलाई के अपिल गर्न चाहनुहुन्छ ?
म सम्पूर्ण रामेछापेली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्न चाहन्छु— अब पुराना दलका खोक्रा आश्वासन र चुनावी प्रलोभनमा नपरी आफ्नो भविष्य, सन्तानको भविष्य र गाउँको समृद्धिका लागि सक्षम, इमानदार र परिणाम दिन सक्ने नेतृत्वलाई चुन्नुहोस्। रास्वपाले कुनै पनि गलत व्यक्तिलाई उम्मेदवार बनाउने छैन। हामी सबै विधि-प्रक्रिया पूरा गरेर निष्कलङ्क र भिजन भएका उम्मेदवार अगाडि सार्नेछौं। सही सन्देश फैलाएर रामेछापको मुहार फेर्न रास्वपाको घण्टी अभियानमा गोलबद्ध हुन हार्दिक आह्वान गर्दछु।

For Add Product Review. You Need To Login First Login Page
















