Tuesday 28-07-2026

झापाको अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा

Logo
Satyapana
  • 4 दिन अगाडि
  • | 553 Read

Share News

झापाको अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई धनीपुर्जा

७ साउन २०८३ बिहिबार। अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई प्रमाण पुर्जा वितरण गर्नुभयो ।

पुर्जा वितरण गर्दै उहाँले वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा आफ्नो जग्गाको स्वामित्व प्राप्त गर्नु राज्यका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौंदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु खुसीको विषय हो ।”

उहाँले लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै आर्थिक तथा सामाजिक सुरक्षामा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले जारी गरेको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई लालपुर्जा वितरण गर्न पाउँदा खुसी लागेको छ, भन्नुभयो ।

वडा नं ११ मा यसअघि १४४ जना अव्यवस्थित बसोबासीलाई प्रमाण पुर्जा वितरण गरिसकिएको छ । नयाँ सूचीकरणअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुमवासी, २१२ भूमिहीन दलित तथा छ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन् ।

कार्यक्रममा जनप्रतिनिधि, जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।।


For Add Product Review. You Need To Login First Login Page