Search News
काजकिरिया गरिसकेपछि ११औँ दिनमा जीवितै उद्धार भइन् चण्डिका
- Saturday Sep 05 2026
- | 745 Read
Share News

२० भदौ, २०८३ शनिबार । नुवाकोटको बेत्रावतीमा बाढीपछि बेपत्ता भएकी ६५ वर्षीया चण्डिका श्रेष्ठ ११औँ दिनमा जीवितै उद्धार भएकी छन्। परिवारले लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि कुशको शव बनाएर दाहसंस्कारसमेत गरिसकेको थियो। तर परिवारले मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरेको केही दिनपछि चण्डिका घरको भग्नावशेषबाट जीवितै भेटिएकी हुन्।
बेत्रावतीमा बाढीले बगाएको चार तले घरको चौथो तलाको सानो भागबाट शनिबार दिउँसो चण्डिकाको आवाज सुनिएपछि उद्धार टोलीले उनको खोजी गरेको थियो। करिब साढे १ बजेतिर सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले हिलो र गेग्रान हटाउँदै घरको चौथो तलासम्म पुगेर उनलाई उद्धार गरेको हो।
उद्धारपछि चण्डिकालाई उपचारका लागि काठमाडौंको छाउनीस्थित अस्पताल ल्याइएको छ। उनी घरको सानो भागमा हिलोमा पुरिएको अवस्थामा भेटिएकी थिइन्। उद्धार टोलीका अनुसार बाढी आएर घर बगाएपछि उनी बेहोस भएकी र लामो समयपछि मात्रै होसमा आएको हुनसक्ने देखिएको छ।
चण्डिकाका सम्धी रमेशमान श्रेष्ठका अनुसार परिवारले बाढी आएको दिनदेखि नै उनको खोजी सुरु गरेको थियो। आठौँ दिनसम्म लगातार खोजी गर्दा पनि चण्डिकाको कुनै अवस्था पत्ता नलागेपछि परिवार निराश भएको थियो। बाढीले घर नै बगाएर त्रिशूली नदीको फेदीसम्म पुर्याएकाले उनी जीवित भेटिने सम्भावना परिवारले लगभग छाडिसकेको थियो।
परिवारका सदस्यहरूले बेत्रावती क्षेत्रमा विभिन्न ठाउँमा खोजी गरे पनि सुरुका दिनमा बाढीले ल्याएको लेदो र गेग्रानका कारण घटनास्थलसम्म पुग्नसमेत कठिन भएको थियो। खोजीमा खटिएका सुरक्षाकर्मीलाई समेत बाक्लो हिलो र दलदलका कारण घरसम्म पुग्न समस्या भएको परिवारले जनाएको छ।
चण्डिकाको अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेको थियो। त्यसपछि काजकिरियासमेत सुरु गरिसकेको अवस्थामा शनिबार उनको आवाज सुनिएको हो। उद्धार टोलीले घरको चौथो तलाको थोरै मात्र देखिएको भागबाट आवाज सुनेपछि थप खोजी गर्दा चण्डिका जीवितै रहेको पुष्टि भएको थियो।
उनले उद्धार टोलीलाई ‘बचाऊ, बचाऊ’ भन्दै आवाज दिएपछि टोलीले घरको सानो झ्याल देखिने भाग फुटाएर उनलाई बाहिर निकालेको थियो। लामो समयसम्म भग्नावशेषभित्र फसेर पनि जीवितै भेटिनु उनका परिवार र उद्धार टोलीका लागि समेत आश्चर्यजनक बनेको छ।
परिवारले मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरिसकेको अवस्थामा चण्डिका जीवितै भेटिएपछि आफन्तमा खुसी छाएको छ। बाढीपछि बेपत्ता भएकाको खोजी र उद्धारमा कठिनाइ भइरहेका बेला चण्डिकाको जीवित उद्धारले भग्नावशेषभित्र अझै कोही फसेको हुनसक्ने सम्भावनातर्फ समेत ध्यानाकर्षण गराएको छ।

For Add Product Review. You Need To Login First Login Page

















