Tuesday 28-07-2026

रामेछापको शतलिङ्गेश्वर माविको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र योगदानकर्तालाई सम्मान

Logo
Satyapana
  • Monday Jan 05 2026
  • | 10339 Read

Share News

रामेछापको शतलिङ्गेश्वर माविको वार्षिकोत्सवमा विद्यार्थी, शिक्षक र योगदानकर्तालाई सम्मान

रामेछाप । शतलिङ्गेश्वर माध्यमिक विद्यालयको ६९ औँ वार्षिकोत्सव तथा अभिभावक मिलन समारोह–२०८२ का अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान, विभिन्न अक्षयकोषमार्फत पुरस्कार वितरण तथा विद्यालयलाई योगदान पुर्‍याउने व्यक्ति र संस्थाहरूलाई  सम्मान  गरिएको छ ।

आधारभूत तह परीक्षामा सुनापति गाउँपालिकामै प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी आदित्य चौलागाईं र माध्यमिक शिक्षा परीक्षामा गाउँपालिका स्तरमा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थी सुपेन्द्र तामाङलाई कार्यक्रममा सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै, विद्यालयको शैक्षिक उन्नयनमा उल्लेखनीय सहयोग पुर्‍याउनेहरुलाइ पनि सम्मान  गरिएको थियो ।

कार्यक्रममा अतिरिक्त कक्षा सञ्चालनमार्फत विद्यार्थीको शैक्षिक उपलब्धि अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने शिक्षकहरू गोमा गौतम, नवराज चौलागाईं र इन्द्रमणि चौलागाईंलाई पनि सम्मान गरिएको छ । यसैगरी यस वर्ष थपिएका अक्षयकोषदाताहरू डिल्लीमाया गौतम, सचिन्द्र गौतम, अर्पन गौतम तथा लप्टन भवनाथ चौलागाईं प्रतिष्ठानप्रति विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

समारोहका क्रममा विद्यार्थीहरूद्वारा निर्माण गरिएका विषयगत शैक्षिक सामग्रीहरूको प्रदर्शनी गरिएको थियो भने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो । 

विभिन्न विधामा वितरण गरिएका पुरस्कार तथा छात्रवृत्तिहरू स्व. फत्तप्रसाद अक्षय कोष, स्व. अनिरुद्र धनमाया स्मृति अक्षय कोष, स्व. विष्णुप्रसाद चौलागाईं स्मृति छात्रवृत्ति, स्व. बालकृष्ण गौतम स्मृति छात्रवृत्ति, स्व. इरा आचार्य स्मृति छात्रवृत्ति, स्व. चेतप्रसाद सापकोटा स्मृति छात्रवृत्ति तथा चार बहिनीहरू गरीब–दुःखी सहयोग अक्षयकोषको सहयोगमा प्रदान गरिएको हो ।

६९ औँ वार्षिकोत्सव तथा अभिभावक मिलन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चण्डेश्वर चौलागाईंको सभाध्यक्षता, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङको प्रमुख आतिथ्यता तथा पूर्व न्यायाधीश भोलाप्रसाद चौलागाईंको विशेष आतिथ्यतामा आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष ध्रुवप्रसाद चौलागाईंलगायत वर्तमान तथा पूर्व जनप्रतिनिधिहरू, चन्दादाता, अक्षयकोषदाता, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, लप्टन भवनाथ चौलागाईं प्रतिष्ठानका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व शिक्षक, पूर्व विद्यार्थी, शिक्षाप्रेमी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ । 


For Add Product Review. You Need To Login First Login Page