Sunday 13-09-2026

पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्रयाक सञ्चालन

Logo
Satyapana
  • 3 घण्टा अगाडि
  • | 420 Read

Share News

पृथ्वी राजमार्गको कृष्णभिरमा नयाँ ट्रयाक सञ्चालन

२८,भदौ २०८३, आइतबार । संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य जीवनरेखा मानिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएको ११ दिनपछि नयाँ ट्रयाक खुलेको छ। भोटेकोशी र त्रिशुली नदीको कटानका कारण भदौ १४ गतेदेखि अवरुद्ध बनेको यस खण्डमा भसिएको स्थानभन्दा १५ मिटर माथि भित्तो काटेर नयाँ ट्रयाक निर्माण गरिएको हो र आइतबारदेखि परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। 

राजमार्गको महत्वलाई मध्यनजर गर्दै ११ दिनदेखि ११ वटा स्काभेटर, २ वटा बुलडोजर, २ वटा लोडर, ४ वटा व्याकु लोडर तथा १२-१३ वटा टिपरसहितका हेभी इक्विपमेन्ट र जनशक्ति परिचालन गरेर युद्धस्तरमा काम गरिएको सडक निर्माणमा खटिएका अधिकारीहरूले बताएका छन्। 

नयाँ ट्रयाक सञ्चालनमा आएसँगै सडकको लेबलमा ग्यासका बुलेटहरू सहज रूपमा पार हुने नहुने प्राविधिक परीक्षण सफल भएको छ, जस पश्चात् चरौटी र मलेखुटर्फ लामो समयदेखि रोकिएका ग्यास बुलेट, अत्यावश्यक सामग्री बोकेका ट्रक तथा अन्य सवारीसाधनहरूलाई गंतव्यतर्फ पठाइएको छ। यद्यपि, ग्राभेलिङ र कम्प्याक्सनको काम अझै बाँकी रहेको र दुवैतर्फ पूर्ण रूपमा यातायात सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ। कृष्णभिरमा सडक अवरुद्ध हुँदा काठमाडौँ, धादिङ, चितवन र पोखरा आवतजावत गर्ने यात्रुहरूले सीमित वैकल्पिक मार्ग प्रयोग गरी ठुलो सास्ती खेप्नुपरेको थियो भने दैनिक उपभोग्य वस्तुको ढुवानी समेत प्रभावित भएको थियो। 

हाल नयाँ ट्रयाक खुलेर यातायात सहज बन्न थालेपछि यात्रुहरूको समय र खर्चको बचत हुनुका साथै आपूर्ति व्यवस्था सुचारु हुने अपेक्षा गरिएको छ भने धादिङका प्रमुख जिल्ला अधिकारीका अनुसार पृथ्वी राजमार्गका अन्य बिग्रिएका स्थानहरूमा पनि चट्टान फुटाउने (ब्लास्टिङ) लगायतका मर्मत कार्यहरू भइरहेका छन्।


For Add Product Review. You Need To Login First Login Page