गुल्मीमा शैक्षिक सुधारका लागि प्रधानाध्यापक स्तरीय छलफल
- Sunday Dec 14 2025
- | 1571 Read
Share News

२८ मंसिर, २०८२।गुल्मी जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले प्रधानाध्यापक स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । शिक्षा क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती तथा सुधारका उपायबारे साझा धारणा निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीको आयोजनामा माध्यमिक तहका प्रधानाध्यापकहरूसँग जिल्लास्तरीय प्रधानाध्यापक बैठक सम्पन्न भएको हो । बैठकमा जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तयार पारिएको कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुत कार्यपत्रमाथि छलफल गर्दै शिक्षण–सिकाइ प्रक्रियाको प्रभावकारिता, विद्यालय व्यवस्थापन, विद्यार्थी सिकाइ उपलब्धि तथा शैक्षिक सुधारमा स्थानीय तहको भूमिकाबारे विभिन्न सुझावहरू प्रस्तुत गरिएका थिए ।
शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका शाखा अधिकृत ईश्वरीप्रसाद पाण्डेले जिल्लामा शैक्षिक सुधारका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनुभयो । त्यस्तै, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले शिक्षा क्षेत्रको सुधार सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली र रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले स्थानीय तह शिक्षा सुधारमा प्रतिबद्ध रहेको बताउँदै प्रधानाध्यापक, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रधानाध्यापकको नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आपसी सहकार्य, अनुभव आदान–प्रदान र निरन्तर अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमले गुल्मी जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि साझा धारणा निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

For Add Product Review. You Need To Login First Login Page


















