Saturday 18-04-2026

विद्यालय र स्वास्थ्य सुधारका अग्रदूत: विमान सिंहसँगको अन्तरवार्ता सहित

Satyapana
  • Wednesday Jan 07 2026
  • | 3596 Read

Share News

विद्यालय र स्वास्थ्य सुधारका अग्रदूत: विमान सिंहसँगको अन्तरवार्ता सहित

पुसको कठ्याङ्ग्रिदो जाडो, पहाडी भेगका सरकारी विद्यालयका विद्यार्थीका लागि सदैव चुनौतीपूर्ण हुन्छ। कतिपयको घरको आर्थिक अवस्था यस्तो कि कापी किन्ने पैसा समेत हुँदैन जसका कारण  विद्यार्थी विद्यालय जान हिचकिचाउँछन्। यसै समस्यालाई बुझेर घेसे विमान सिंहले हालै दुई गाउँपालिकाका ६ वटा विद्यालयमा पुगेर ६ सय ९० जना विद्यार्थीलाई न्यानो पोशाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ।उहाँले सुनापति गाउँपालिका वडा नं ४ को कुशेश्वर माविमा १५७, वडा नं ५ को बाल माविमा १६१, जलदेवी माविमा ९०, कृष्णपुरी माविमा १७५, वडा नं ३ को कृष्ण आविकामा ३८ र खाँडादेवी गाउँपालिका वडा नं २ को सरस्वती आविकामा ५१ विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री प्रदान गर्नुभयो।

विमान सिंह आफ्नो आमाको निधनपछि अनुभव गरेको पीडा समाजसेवामा बदल्ने निर्णय गरेको बताउनुहुन्छ। उहाँ  शिक्षामा मात्र होइन सुनापति भ्वाँसा च्यारिटी मेडिकल सेन्टरमार्फत विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै, दक्षिण कोरियाबाट विशेषज्ञ टोली ल्याएर हजारौँ ग्रामीण क्षेत्रका विरामीको  उपचार गराइसक्नुभएको छ । यसै सन्दर्भमा सत्यपाना डटकमका संवाददाता विशेश्वर खड्काले अन्तरवार्ता गर्नुभएको छ ।विशेश्वर खड्काले गर्नुभएको अन्तरवार्ताको सम्पादित छोटो अंश...

तपाइँको परिचय दिनुहोस् न
मेरो नाम घेसे विमान सिंह तामाङ हो। म सुनापति गाउँपालिका वडा नं ४, रामेछापमा बस्छु। एम फिल इन बुद्धिजम पढेँ। शिक्षा, स्वास्थ्य र आपतबिपदमा सहयोगलाई केन्द्रमा राखेर सामाजिक सेवा कार्यमा सक्रिय छु। ग्रामीण समुदायमा पहुँच नपुगेका बालबालिका र विपन्न नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न अभियान सञ्चालन गर्दै आएको छु।

हाल तपाईं कुन क्षेत्रमा काम गर्दै हुनुहुन्छ?
म मुख्य रूपमा आफ्नै अस्पतालमार्फत स्वास्थ्य सेवा र सामाजिक अभियान व्यवस्थापनमा संलग्न छु। यससँगै विद्यालयमा शैक्षिक सामग्री वितरण, विद्यार्थी प्रोत्साहन कार्यक्रम, खाद्यान्न र जनचेतनामूलक गतिविधि पनि निरन्तर गर्दै आएको छु।

रामेछापसँग तपाईंको सम्बन्ध कस्तो छ?
मेरो जन्मथलो यहीँ हो। यही जिल्लाको आवश्यकता र सम्भावना देखेर शिक्षा र स्वास्थ्य सुधारका काम यहीँबाट सुरु गरेको हुँ।

अहिलेसम्म कति विद्यार्थी लाभान्वित भएका छन्?
यसै वर्ष मात्रै ६ विद्यालयका ६७२ विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

विद्यार्थीहरूलाई कस्ता सामग्री वितरण गर्नुहुन्छ?
विद्यालयमा विद्यार्थीलाई आकस्मिक सेवा, प्राथमिक उपचार किट, कापी–कलम, पुस्तकालयका पुस्तक, सेनेटरी प्याड, न्यानो कपडा र खाद्यान्न वितरण गर्दै आएको छु।

कार्यक्रम सञ्चालनको स्रोत र प्रक्रिया कस्तो छ?
आर्थिक स्रोत व्यक्तिगत लगानी, अस्पतालको मुनाफा, शुभेच्छुक दाताहरू र संस्थागत सहयोगबाट व्यवस्थापन भइरहेको छ।

अस्पतालमा निःशुल्क उपचार सुरु गर्ने कारण के हो?
विपन्न नागरिक उपचार अभावले पीडित भएको देखेपछि स्वास्थ्य सेवा सबैको अधिकार हो भन्ने मान्यतासहित यो सेवा सुरु गरेको हुँ।

कसलाई प्राथमिकतामा सेवा दिनुहुन्छ?
दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, अति विपन्न परिवार र विद्यार्थीलाई प्राथमिकता दिन्छु।

अहिलेसम्म कति बिरामीले सेवा लिएका छन्?
प्रत्येक महिनामा सयौं जनाले उपचार सेवा लिइरहेका छन्। हालैको स्वास्थ्य मेलामा पनि २,७६३ जनाले निःशुल्क सेवा पाएका थिए।

यस क्षेत्रमा काम गर्दा सबैभन्दा ठूलो चुनौती के हो?
दिगो आर्थिक व्यवस्थापन, दक्ष जनशक्ति टिकाइराख्नु र ग्रामीण भेगमा आधुनिक उपकरणको पहुँच सुनिश्चित गर्नु मुख्य चुनौती हुन्।

सेवा गर्न प्रेरणा तपाईंले कसरी पाउनुभयो?
बाल्यकालदेखिको सामाजिक संस्कार, परिवारको सहयोग, समुदायका दुःखद अनुभव र भगवान गौतम बुद्धको मार्गदर्शनले मलाई प्रेरित गरेको छ।

मन छुने अनुभव कस्तो छ?
सामग्री पाएपछि विद्यालय जान थालेको विद्यार्थीले “अब म पनि डाक्टर बन्छु” भनेको वा पिडा बोकेर आएको बिरामी मुस्कानसहित फर्किने क्षण जीवनकै सम्झनलायक छन्।

सेवाग्राहीको प्रतिक्रिया सुन्दा कस्तो अनुभव हुन्छ?
उनीहरूको खुशी र आभार सुन्दा सबै थकान मेटिन्छ र अझ धेरै काम गर्ने ऊर्जा मिल्छ।

राज्य र निजी क्षेत्रको भूमिका बारे तपाईंको धारणा के हो?
राज्य शिक्षा र स्वास्थ्यमा जिम्मेवार, पहुँचमुखी र गुणस्तरीय हुनुपर्छ। निजी क्षेत्रले समुदायमा पुनःलगानी, निःशुल्क शिविर र विपन्न लक्षित कार्यक्रममार्फत महत्वपूर्ण भूमिका खेल्नुपर्छ।

स्थानीय सरकारबाट सहयोग कस्तो छ?
प्रशासनिक सहयोग र हौसला प्राप्त भएको छ।

भविष्यको योजना के हो?
विशेषज्ञ सेवा, मोबाइल हेल्थ क्याम्प र भइरहेका कार्यलाई अझ व्यवस्थित र निरन्तरता दिने योजना छ। सम्भव भएसम्म अन्य दुर्गम जिल्लामा पनि विस्तार गर्ने लक्ष्य राखेको छु।

युवाहरुलाइ के सन्देश दिन चाहनुहुन्छ ?
ग्रामीण समाजको रूपान्तरण युवाको हातमा छ; आफ्नै क्षमता देश र समाजको हितमा प्रयोग गर्न आग्रह गर्छु।

सहयोगीहरुलाई के भन्न चाहनुहुन्छ ?
अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबै दाता, स्वास्थ्यकर्मी, शिक्षक र आफन्तप्रति हृदयदेखि आभारी छु।

रामेछाप वासीका लागि  केही सन्देश छाड्नुहुन्छ ?
रामेछाप सम्भावनाले भरिएको जिल्ला हो; शिक्षा र स्वास्थ्यमा हातेमालो गरौं, कसैलाई पछाडि नछोडौं।भन्न चाहन्छु । 


For Add Product Review. You Need To Login First Login Page