एनपिएलः काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश
- Wednesday Dec 10 2025
- | 1205 Read
Share News

२४ मङ्सिर, २०८२। नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटर खेलमा लुम्बिनी लायन्सले काठमाण्डु गोर्खाजलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १११ रन मात्रै जोड्यो। ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमै ६ विकेटको क्षतिमा पूरा गर्यो। लुम्बिनीका लागि डार्सी सटले सर्वाधिक ३३ रन योगदान दिए। सन्दीप जोराले २३, कप्तान रोहित पौडेलले १८ र निरोशन डीक्वेलाले १४ रन जोडे।
काठमाण्डुका बलरमध्ये सन्तोष यादवले २ विकेट लिँदा करण केसी, साहब आलम, राशिद खान र सन्नी पटेलले एक–एक विकेट हात पारे।
पावर प्लेमै चार विकेट गुमाएको काठमाण्डुका लागि सन्तोष यादवले २३ रनसहित सबैभन्दा धेरै रन जोडे। जोन सम्पसन र मोहम्मद आदिल आलमले १८–१८ तथा भिम सार्कीले १४ रन बनाए।
लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ल उत्कृष्ट रहे, दुवैले ३–३ विकेट लिए। रुवेन ट्रम्पलम्यानले २ र अविनाश गौतमले १ विकेट हात पारे।
यस जितसँगै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ भने काठमाण्डु प्रतियोगिताबाट बाहिरिएको छ। अब लुम्बिनीले बिहीबार पहिलो क्वालिफायरमा पराजित विराटनगर किङ्ससँग भिड्नेछ। पहिलो क्वालिफायर जितेको सुदूरपश्चिम पहिले नै फाइनलमा पुगेको छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा सुदूरपश्चिमसँग भिड्नेछ।
लिग चरणमा काठमाण्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा थिए। त्यतिबेला काठमाण्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो।

For Add Product Review. You Need To Login First Login Page




















