Search News
झापामा सुपारी बगानबाट दोहोरो आम्दानी
- Wednesday Aug 19 2026
- | 852 Read
Share News

३,भाद्र २०८३, बुधबार ।नेपालमा सबैभन्दा धेरै सुपारी उत्पादन हुने झापामा किसानले सुपारी बगानभित्रको खाली जमिनलाई समेत उपयोग गर्न थालेका छन्। सुपारीका रुखबीच मरिच, कागती, अलैँची, नरिवल, केरा, बेसार, अदुवा, विभिन्न तरकारी तथा कतिपय ठाउँमा धानसमेत लगाएर किसानले एउटै जमिनबाट विभिन्न बालीको आम्दानी लिन थालेका हुन्।

सुपारी दीर्घकालीन बाली भएकाले रोपेको केही वर्षपछि मात्रै व्यावसायिक उत्पादन दिन थाल्छ। त्यस अवधिमा बगानभित्र अन्तरबाली लगाउँदा किसानले नियमित आम्दानी लिन सक्ने र जमिनको अधिकतम उपयोग हुने कृषि प्राविधिक बताउँछन्।

सुपारी बगानमा अन्य बाली लगाउँदा सिँचाइ, मल र गोडमेलको लाभ सुपारीका बोटले समेत पाउने भएकाले उत्पादनमा सकारात्मक प्रभाव परेको किसानको अनुभव छ। अन्तरबालीका कारण बगानको व्यवस्थापन सहज हुनुका साथै सुपारीको उत्पादनसमेत राम्रो हुने उनीहरू बताउँछन्।

तर उत्पादनको सम्भावना बढ्दै गए पनि सुपारीको मूल्यमा हुने उतारचढाव, विदेशी सुपारीको आयात तथा निर्यातमा देखिएको समस्या किसानका लागि मुख्य चुनौती बनेको छ। स्थानीय सुपारीलाई उचित मूल्य र बजार सुनिश्चित नगरी विदेशी सुपारी आयात गर्ने नीतिले आफूहरू समस्यामा परेको किसानको गुनासो छ।

झापामा सुपारी खेती विस्तार भइरहेका बेला बगानलाई बहुबाली उत्पादन क्षेत्रका रूपमा विकास गर्ने सम्भावना पनि बढेको छ। उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, बजार व्यवस्थापन र निर्यातको सुनिश्चितता गर्न सके एउटै जमिनबाट हुने बहुआम्दानीले किसानको आर्थिक सुरक्षा थप बलियो बनाउन सक्ने सरोकारवालाको भनाइ छ।


For Add Product Review. You Need To Login First Login Page





















