Friday 29-05-2026

एमाले सचिवालय बैठकले गर्यो चार निर्णय

Satyapana
  • Saturday Mar 28 2026
  • | 1248 Read

Share News

एमाले सचिवालय बैठकले गर्यो चार निर्णय

१४ चैत २०८२, शनिवार। नेकपा (एमाले) ले आफ्ना पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विरोधमा देशभर सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ। शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा आकस्मिक रूपमा बसेको सचिवालय बैठकले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै चारवटा संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।

बैठकले तय गरेका कार्यक्रमहरू अनुसार आज (शनिबार) अपराह्न ३ बजे ७७ वटै जिल्लाका सदरमुकाममा एमाले निकट जनसंगठनहरूको अगुवाइमा विरोध प्रदर्शन गरिनेछ। यस्तै, भोलि चैत १५ गते आइतबार मध्याह्न १२ बजे सबै जिल्ला कमिटीको आयोजनामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउने निर्णय भएको पार्टी सचिव महेश बस्नेतले जानकारी दिए।

एमालेले यस आन्दोलनलाई कानुनी र राजनीतिक दुवै रूपमा अगाडि बढाउने जनाएको छ। "हामी आम जनसमुदाय र नागरिक समाजलाई साथमा लिएर यो कदमको सशक्त प्रतिवाद गर्नेछौँ," सचिव बस्नेतले भने, "चौथो कार्यक्रमका रूपमा लोकतन्त्र र कानुनी राज्यमा विश्वास गर्ने अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्य समेत अघि बढाइनेछ।"

 गएको भदौ २३ गते भएको 'जेनजी' आन्दोलनका क्रममा भएको मृत्यु प्रकरणमा 'हेलचेक्र्याइँपूर्वक ज्यान मारेको' अभियोगमा अध्यक्ष ओलीलाई शनिबार बिहान उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै ओलीमाथि कानुनी प्रक्रिया अघि बढाइएको हो।

पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएका ओलीलाई हाल स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। अस्पताल स्रोतका अनुसार उनलाई अहिले भर्ना गरेर स्वास्थ्य निगरानीमा राखिएको छ।


For Add Product Review. You Need To Login First Login Page