Search News
निर्वाचन नजिकिँदै गर्दा खोटाङ बाहेक कांग्रेस कोशीबाट ४५४ उम्मेदवारको नाम सिफारिस
- Sunday Dec 21 2025
- | 1531 Read
Share News

विराटनगर । निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि ४५४ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये खोटाङ बाहेक सबै क्षेत्रबाट प्रत्यक्ष र
समानुपातिक दुवैतर्फ उम्मेदवारको नाम पठाइएको कांग्रेस कोशी प्रदेश कार्यालयका मुख्य सचिव नारायण कोइरालाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैका लागि प्रदेश समितिले एकीकृत सूची तयार पारेर केन्द्रमा बुझाएको हो। सिफारिस सूचीमा राष्ट्रिय सभातर्फ १३१ जना र प्रतिनिधिसभातर्फ ३२३ जना आकांक्षी समेटिएका छन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभाका २७ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदैछ भने माघ ११ गते राष्ट्रिय सभाका तीन पदका लागि चुनाव तोकिएको छ। सोही अनुसार प्रदेशभरका जिल्लाबाट प्राप्त नामावलीलाई संकलन गरी केन्द्रमा पठाइएको मुख्य सचिव कोइरालाले जानकारी दिए।
राष्ट्रिय सभा सदस्यको रिक्त १९ मध्ये १८ पदका लागि आउँदो माघ ११ गते चुनावको मिति तोकिएको छ । मनोनीत सांसद वामदेव गौतमको ठाउँमा भने सरकारले अर्को व्यक्तिको नाम सिफारिस गर्नेछ । बाँकी १८ पदका लागि हुने निर्वाचनका क्रममा कोशी प्रदेशका लागि ३ जनाको मात्रै निर्वाचित हुनेछ । पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । तर, तीन जना राष्ट्रियसभा सदस्यका लागि कांग्रेसले भने अन्य विधाका लागि ८७ जना, महिलातर्फ २८ जना र दलिततर्फ १६ जना गरी कुल १३१ जनाको नाम सिफारिसमा गरेको हो ।
यस्तै प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी प्रदेशको खोटाङ निर्वाचन क्षेत्रबाहेक २७ वटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ११५ जना सिफारिसमा परेका छन् । यस्तै खोटाङ र तेह्रथुमको निर्वाचन क्षेत्र बाहेकबाट समानुपातिकतर्फ २०८ जनाको नाम सिफारिस गरिएको छ ।
झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको नाम प्रत्यक्षतर्फ एकल रूपमा सिफारिस भएको छ । शर्माको क्षेत्रबाट समानुपातिकतर्फ भने ६ जनाको नाम पठाइएको छ । झापाका अन्य क्षेत्रहरूको हकमा क्षेत्र नं। २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १०, क्षेत्र नं। ३ बाट प्रत्यक्षमा ८ र समानुपातिकमा १०, क्षेत्र नं ४ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा ५ तथा क्षेत्र नं। ५ बाट प्रत्यक्षमा ७ र समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ ।
यसैगरी मोरङ जिल्लाका ६ वटा निर्वाचन क्षेत्रहरूबाट पनि उम्मेदवारहरूको बाक्लो सूची तयार पारिएको छ । मोरङ क्षेत्र नं। १ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं। २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा २, क्षेत्र नं। ३ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ६, क्षेत्र नं। ४ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा १०, क्षेत्र नं। ५ बाट प्रत्यक्षमा ४ र समानुपातिकमा ७ र क्षेत्र नं। ६ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ७ जनाको नाम सिफारिस गरिएको मुख्य सचिव कोइरालाले जानकारी दिनुभयो ।
सुनसरी जिल्लाका चारवटा क्षेत्रहरूबाट पनि उल्लेख्य संख्यामा आकांक्षीहरू देखिएका छन् । सुनसरी क्षेत्र नं। १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा १५, क्षेत्र नं। २ बाट प्रत्यक्षमा ३ र समानुपातिकमा १५, क्षेत्र नं। ३ बाट प्रत्यक्षमा २ र समानुपातिकमा २० र क्षेत्र नं। ४ बाट प्रत्यक्षमा १ र समानुपातिकमा ९ जनाको नाम सिफारिसमा परेको छ ।
पहाडी र हिमाली जिल्लाहरूबाट पनि आकाङ्क्षीहरूको सूची केन्द्रमा पुगिसकेको छ । इलाम क्षेत्र नं। १ बाट प्रत्यक्षमा ६ र समानुपातिकमा ४ तथा क्षेत्र नं। २ बाट प्रत्यक्षमा ५ र समानुपातिकमा ७ जनाको नाम पठाइएको छ । उदयपुर क्षेत्र नं। १ र २ दुवैबाट प्रत्यक्षमा ३–३ जना र समानुपातिकमा २–२ जनाको नाम सिफारिस भएको छ । संखुवासभाबाट प्रत्यक्षमा ९ र समानुपातिकमा १२, पाँचथरबाट प्रत्यक्षमा ७ र समानुपातिकमा ९, ताप्लेजुङबाट प्रत्यक्षमा २ र समानुपातिकमा ४, ओखलढुंगाबाट प्रत्यक्षमा ६ र समानुपातिकमा ३, धनकुटाबाट प्रत्यक्षमा ४ र समानुपातिकमा १२, भोजपुरबाट प्रत्यक्षमा ६ र समानुपातिकमा ८ तथा सोलुखुम्बुबाट प्रत्यक्षमा १२ र समानुपातिकमा ८ जनाको नाम सिफारिस गरिएको छ ।
तर, खोटाङ र तेह्रथुम जिल्लामा भने सिफारिस प्रक्रियामा केही प्राविधिक र आन्तरिक समस्याहरू देखिएका छन् । खोटाङ जिल्ला कार्यसमिति सभापति विष्णुकुमार राईलाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निष्कासन गरिएको थियो । त्यसपछि उक्त जिल्लामा कसैलाई कार्यबहाक सभापतिको जिम्मेवारी नदिँदा कसको अध्यक्षतामा बैठक बस्ने भन्ने अन्यौलका कारण उम्मेदवार सिफारिस हुन नसकेको हो ।
नेपाली कांग्रेसले २०७९ सालको निर्वाचनमा आफ्नो दलका उम्मेदवारलाई पराजित गर्न भूमिका खेलेको भन्दै उनलाई गएको असारमा बसेको अनुशासन समितिको बैठकले कारबाही गरेको थियो ।
‘सभापति कारबाहीमा रहेको र केन्द्रले कार्यवाहक सभापति नतोकेका कारण त्यहाँको जिल्ला कार्यसमिति बैठक बस्न नसक्दा कुनै पनि नाम सिफारिस हुन नसकेको हो,’ मुख्य सचिव कोइरालाले भन्नुभयो ।
उता तेह्रथुम जिल्लाले भने राष्ट्रिय सभाका लागि मात्र नाम सिफारिस गरेर प्रतिनिधिसभाका लागि नाम पठाएको थिएन । जिल्लाबाट नाम नआएपछि प्रदेश कार्यसमिति आफैँले २०७९ को निर्वाचनमा निर्वाचित सीता गुरुङको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरी केन्द्रमा पठाएको छ ।
आगामी निर्वाचनमा आफ्नो वर्चस्व कायम राख्न कांग्रेसले युवा र पुराना दुवै पुस्तालाई समेट्ने गरी सन्तुलित सिफारिस गरेको दाबी प्रदेश कार्यालयले गरेको छ । मुख्य सचिव कोइरालाले यो सिफारिस प्रक्रियाले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाएको र निर्वाचनको तयारीमा पार्टी पूर्ण रूपमा होमिएको बताउनुभयो ।

For Add Product Review. You Need To Login First Login Page





















