Tuesday 28-07-2026

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं ः मन्त्री कुलमान घिसिङ

Logo
Satyapana
  • Saturday Dec 20 2025
  • | 1637 Read

Share News

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं ः मन्त्री कुलमान घिसिङ


काठमाडौं,५ पुस २०८२ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले  ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२÷८३को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेण्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनुभयो । 
सडक विभागअन्तर्गत ठेक्का लिई वर्र्षौंदेखि अलपत्र पारिएका सडक एवम् पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ । 
ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिलेनै भएकाले हाल आएर समस्या नरहेको र यदि देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा वहुवर्षीय सहमतिमा देखिएको अन्यौलता हटाइने बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘तराई÷मधेशमा पुल निर्माणमा धेरै समस्या देखियो, कयौं पुल अलपत्र छन्, सडकमा त निश्चित बजेट परेपछि त्यति बराबरको काम गर्न सकिन्छ तर पुलमा त्यसो गर्न सम्भव नै हुँदैन, त्यसैले वहुवर्षीय प्रक्रियामा नै जानुपर्छ ।’
उहाँले चालू आवको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मातहतका निकायको प्रगति कम देखिएको र अब आगामी महिनाहरुमा यसमा सुधार गर्नु पर्ने बताउनुभयो । 
‘बजेट रोक्का एउटा कारण होला तर बजेट समस्या नै नभएका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समेत प्रगति कम छ, देखिएका समस्या समाधान गरी निर्माण प्रगतिमा सुधार आवश्यक छ, यसमा सबैले पहल गरौं,’उहाँले भन्नुभयो । 
मन्त्रालयका सचिव केशव कुमार शर्माले त्रैमासिक प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडी तत्काल व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताउनुभयो । 
चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन वार्षिक र त्रैमासिक विनियोजनका आधारमा क्रमश ः ७.६७ र २४ प्रतिशत मात्र हो । 
योजना छनोट, प्राथमिकीकरण तथा बजेट विनियोजन, राष्ट्रिय गौरवका आयोजनामा सडकको अधिकारक्षेत्र हालसम्म यकिन नभएकाले (राजपत्रमा प्रकाशित नभएको) निर्माण कार्यमा स्थानीय बारम्बार अवरोध हुने गरेको,तोडिएको ठेक्को पुनः ठेक्का व्यवस्थापनमा देखिएको अन्यौलताले ठेक्का सम्झौता कार्यान्वयन लगायतका समस्या मन्त्रालयकातर्फबाट प्रस्तुत गरिएको थियो ।


For Add Product Review. You Need To Login First Login Page