Search News
बाढीले औषधि बगाएपछि स्वास्थ्य शिविरले दियो ज्येष्ठ नागरिकलाई राहत
- 5 दिन अगाडि
- | 1283 Read
Share News

२२, भदौ २०८३ सोमबार । भोटेकोशी बाढीबाट प्रभावित ज्येष्ठ नागरिकलाई लक्षित गरी विदुर नगरपालिका–३, सिर्खली, नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरबाट कुल २०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमा १०१ जना (म४८/पु५३) ज्येष्ठ नागरिक रहेका छन्।
बाढीका कारण अधिकांश प्रभावित ज्येष्ठ नागरिकले नियमित सेवन गर्दै आएका सुगर, प्रेसर तथा अन्य नसर्ने तथा दीर्घरोगसम्बन्धी औषधि गुमाएका थिए। बाढीले घरायसी सामान तथा स्वास्थ्य सामग्रीसँगै नियमित सेवन गर्ने औषधिसमेत बगाएपछि उनीहरूलाई उपचार तथा औषधिको निरन्तरतामा समस्या भएको थियो। स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकीय परामर्श तथा आवश्यक औषधिसम्बन्धी सेवा पाएपछि प्रभावित ज्येष्ठ नागरिकले राहत महसुस गरेका छन् ।

शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञ सेवा तथा परामर्श, अर्थोपेडिक्स, मुटु रोग, दन्त सेवा, अस्टियोप्याथी, तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्श लगायतका स्वास्थ्य सेवा उपलब्ध गराइएको थियो ।
बाढी प्रभावित ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारमा बाढीपछिको मानसिक तनाव र अन्य मनोसामाजिक समस्यालाई ध्यानमा राख्दै ६० जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्यलाई तनाव व्यवस्थापन एवं मनोसामाजिक परामर्श सेवा समेत प्रदान गरिएको थियो ।
शिविरमा स्वास्थ्य सेवा लिएका ८४ वर्षीय यदुनाथ नेपालले बाढीका कारण नियमित औषधि गुमाउँदा स्वास्थ्यप्रति चिन्ता बढेको बताए। उनले भने, “बाढीले घरका सामानसँगै नियमित खाने सुगर र प्रेसरको औषधि पनि बगायो। औषधि नहुँदा स्वास्थ्य बिग्रिने चिन्ता थियो। आज स्वास्थ्य जाँच गराउनुका साथै आवश्यक परामर्श र औषधि पाएपछि धेरै राहत भएको छ।”

त्यस्तै, ७४ वर्षीया लीला देवी ढकालले बाढीपछि नियमित स्वास्थ्य उपचार तथा औषधि सेवनमा कठिनाइ भएको बताइन्। उनले भनिन्, “उमेरसँगै नियमित औषधि खानुपर्ने अवस्था छ। बाढीपछि औषधि कहाँबाट ल्याउने भन्ने समस्या थियो। गाउँमै विशेषज्ञ डाक्टरबाट स्वास्थ्य जाँच र परामर्श पाउँदा निकै सहयोग भयो।”
बाढीपछिको अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने ज्येष्ठ नागरिकका लागि औषधिको उपलब्धता र स्वास्थ्य सेवाको निरन्तरता महत्वपूर्ण रहेको आयोजकहरूले बताएका छन्। विशेषगरी दीर्घरोग भएका ज्येष्ठ नागरिकले नियमित सेवन गर्ने औषधि उपलब्ध नहुँदा स्वास्थ्यमा थप जटिलता आउन सक्ने भएकाले विपद्पछिको राहत तथा स्वास्थ्य सेवामा ज्येष्ठ नागरिकको विशेष आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
स्वास्थ्य शिविर जेरियाट्रिक सोसाइटी अफ नेपाल, बिम्ब नेपाल र आर्ट अफ लिभिङको आयोजना, रोटरी क्लब अफ गोदावरी, रोटरी क्लब काठमाडौं र रोटरी क्लब ग्रीनल्यान्डको सहयोग, तथा नेपाल सरकार, स्वास्थ्य सेवा विभाग र विदुर नगरपालिका–३ वडा कार्यालयको समन्वयमा आयोजना गरिएको थियो।
यसै क्रममा बाढी प्रभावित क्षेत्रमा खटिएका नेपाली सेना तथा सशस्त्र प्रहरी बलका बेसलाई केही आवश्यक तथा महत्त्वपूर्ण औषधिहरूसमेत उपलब्ध गराइएको थियो।
आयोजकहरूका अनुसार बाढी प्रभावित क्षेत्रमा ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य जोखिममा रहेका व्यक्तिहरूको स्वास्थ्य सेवा निरन्तरता सुनिश्चित गर्न आगामी दिनमा पनि आवश्यक सहयोग र समन्वयलाई प्राथमिकता दिइनेछ।

For Add Product Review. You Need To Login First Login Page

















