हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ, सञ्चारमन्त्री खरेल
- Monday Dec 15 2025
- | 1018 Read
Share News

२९ मड्सिर,२०८२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हुलाक सेवालाई आधुनिक, व्यवसायिक र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिनुभएको छ । डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यलयको सोमबार अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खरेलले हुलाकलाई व्यवसायिक कार्ययोजनाकासाथ अगाडि बढाइनुपर्नेमा जोड दिनुभयो । सञ्चारमन्त्री खरेलले भन्नुभयो,“हामीले हुलाकलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउनैपर्छ, हुलाकले कमाउन थाल्नुपर्छ, अबको दिनमा राम्रो कार्ययोजना बनाइयो भने पाँच वर्षभित्रमा हुलाकले राज्य र जनतालाई योगदान गर्ने बनाउन सकिन्छ ।” उहाँले स्मार्ट हुलाकको कामलाई तीब्रताका साथ अगाडि बनाउन पनि निर्देशन दिनुभयो । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट हुलाकका लागि नीतिगत र संरचनागत सुधारको पहल भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“स्मार्ट हुलाकको मापदण्ड स्वीकृतिका लागि मन्त्रालयमा आइसकेको छ, यो छिट्टै स्वीकृत भएर कार्यान्वयनमा जान्छ । यो वर्ष ५० वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाक बनाउने गरी बजेट पनि विनियोजन भइसकेको छ ।” सचिव अर्यालले हुलाक सेवालाई चुस्त र प्रभावकारी बनाउन पनि निर्देशन दिनुभयो । उहाँले विस २०१९ को हुलाक ऐनलाई समयसापेक्ष बनाइनुपर्नेमा जोड दिनुभयो । हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले नेपालमा स्मार्ट हुलाकको अवधारणा प्रस्तुत गर्दै हुलाक प्रणालीलाई रुपान्तरण गर्न र राजश्व वृद्धि गर्ने उद्देश्यसहित स्मार्ट हुलाकको अवधारण अगाडि ल्याइएको बताउनुभयो । उहाँले न्यूनतम स्रोतसाधनकाबीच निरन्तर सेवा सुधार र सेवाग्राहीमैत्री सेवालाई प्रभावकारी बनाइएको विश्वास व्यक्त गर्नुभयो । गोश्वारा हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी. ले गोश्वारा हुलाक कार्यालयको प्रस्तुतीकरण गर्दै हुलाकको सेवा विस्तार विश्वव्यापबी बनाउने, नीतिगत सुधार र इकमर्शमा गएर हुलाकको योगदान बढाउनेगरी कार्ययोजनासहित अगाडि बढेको जानकारी दिनुभयो । सो अवसरमा सञ्चारमन्त्री खरेलले गोश्वारा हुलाक कार्यालयको अवलोकन गर्नुका साथै सेवाग्राहीको समस्या र प्रतिकृया लिनुभएको थियो ।

For Add Product Review. You Need To Login First Login Page














