Monday 20-04-2026

अमेरिका पठाउने भन्दै रकम लिएको र फिर्ता माग्दा हत्या गरेको आरोपमा पूर्व मुख्यमन्त्री चौधरीको भाइ पक्राउ

Satyapana
  • Thursday Dec 11 2025
  • | 1515 Read

Share News

अमेरिका पठाउने भन्दै रकम लिएको र फिर्ता माग्दा हत्या गरेको आरोपमा पूर्व मुख्यमन्त्री चौधरीको भाइ पक्राउ

२५, मङ्सिर, २०८२।  तल्लो बाटो हुँदै अमेरिका पठाइदिने भन्दै लिएको पैसा फिर्ता माग्दा गोली प्रहार गरी युवकको हत्या भएको घटनामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

बर्दियामा २८ वर्षीय युवकको गोली हानी हत्या गरिएको मामलामा बिहीबार बिहान ३ बजे कैलालीको कैलारी गाउँपालिका–२ मा लुकेर बसेको अवस्थामा दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरी पक्राउ परेका हुन्।

महावीर लुम्बिनी प्रदेशसभाका कांग्रेस संसदीय दल नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका साइँला भाइ भए पनि उनीहरू दुई दशकदेखि छुट्टै बस्दै आएका छन्। उनलाई बर्दिया र कैलालीबाट खटिएको प्रहरीको संयुक्त टोलीले एउटा खाली घरमा सुतिरहेको अवस्थामा समातेको कैलालीका निमित्त प्रवक्ता इन्स्पेक्टर कैलाश विष्टले बताए।

आइतबार बिहान बर्दियाको राजापुर नगरपालिका–४ मा आफैले सञ्चालन गर्दै आएको ‘हमार थारू हाउस एन्ड रेस्टुरेन्ट’मा महावीरले दाङका २८ वर्षीय निरज चौधरीको कन्चटमा गोली हानेर हत्या गरेका थिए। निरजलाई पोल्ट्री फर्मको कामका लागि दाङबाट बर्दिया लगिएको थियो। फर्म रहेको जग्गा पूर्वमुख्यमन्त्री चौधरीकै नाममा छ।

प्रहरीले घटनास्थलबाट गोली बरामद गरेको जनाएको छ। साथै रेस्टुरेन्टबाट महावीरको पासपोर्ट, भिसा र अमेरिकी डलरसहितका कागजात पनि फेला परेका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार महावीरले निरजलाई तल्लो बाटोमार्फत अमेरिका लैजाने भन्दै रकम लिएका थिए। तर अमेरिका पठाउन नसकेपछि निरजले पैसा फिर्ता माग्दै आएका थिए। लगातार दबाबपछि महावीरले गोली प्रहार गरेको अनुसन्धानमा खुलेको छ।

महावीर अमेरिकी ग्रीन कार्डधारी समेत हुन् र परिवारसहित अमेरिका बस्दै आएका उनी नेपाल आउजाउ गर्थे। सो क्रममा आफन्त र चिनजानका धेरै युवाबाट पनि अमेरिका पठाइदिन्छु भन्दै पैसा उठाउदै आएको प्रहरीले जनाएको छ।

यसअघि पनि सोही प्रकारको लेनदेनसम्बन्धी मुद्दामा महावीरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको थियो, तर त्यसबेला उनी छिट्टै छुटेका थिए।

घटनापछि महावीरका सहयोगीहरूले निरजलाई नेपालगन्जको नर्सिङ होम पुर्‍याएको तर ढिलो पु¥याइएका कारण उपचार अघि नै मृत घोषणा भएको प्रहरीले जनाएको छ। घटना शंकास्पद लागेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीले घटनास्थलमा साक्ष्य मेटाउने प्रयत्न गरेको आरोपमा महावीरकी साली रामकुमारी थारू, उनका श्रीमान् बुद्धि थारू र छोरा राहुल थारूलाई पनि नियन्त्रणमा लिएको छ।

निरजका बुवा रामबुझाउनाले मंगलबार किटानी जाहेरी दिएका छन्। निरज उनीहरूको एक्लो छोरा थिए। पोस्टमर्टमपछि मंगलबार नै अन्त्येष्टि गरिएको छ।

पक्राउ परेका महावीरलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page