Tuesday 28-07-2026

रवि लामिछानेको राहदानी विवाद: सर्वोच्चको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै

Logo
Satyapana
  • Monday Mar 30 2026
  • | 1203 Read

Share News

रवि लामिछानेको राहदानी विवाद: सर्वोच्चको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै

१६ चैत २०८२, सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दायर गरेको रिटमाथि आज अन्तिम सुनुवाइ हुन लागेको हो। यसअघि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेपछि उक्त निर्णय कानुनविपरीत रहेको दाबी गर्दै पौडेल सर्वोच्च पुगेका थिए।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। सोही निर्णयलाई बदर गर्न र लामिछानेमाथि कानुनी कारबाही अघि बढाउन माग गर्दै रिट निवेदकले जिकिर गरेका छन्। लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५ (ख) विपरीतको कसुर भएको रिटमा उल्लेख छ।

सर्वोच्च अदालतले यसअघि नै महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउने निर्णयको सक्कल फाइल मगाइसकेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते आवश्यक कागजात पेस गर्न आदेश दिएको थियो।

रिट निवेदक पौडेलले लामिछानेले कुन-कुन समयमा राहदानी प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिकाउनुपर्ने र मुद्दाको किनारा नलागेसम्म उनलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेशको समेत माग गरेका छन्। यद्यपि, यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरिसकेको छ। आजको सुनुवाइपछि अदालतले महान्यायाधिवक्ताको निर्णय सदर गर्ने वा लामिछानेमाथि मुद्दा चलाउने आदेश दिने भन्ने विषयमा महत्त्वपूर्ण निर्णय आउन सक्ने देखिएको छ।


For Add Product Review. You Need To Login First Login Page