Search News
एजेन्डा मन परे मत दिन्छन्, नपरे अरू विकल्प पनि छन् : एमाले उम्मेद्वार ढुङ्गेल
- Saturday Jan 31 2026
- | 2004 Read
Share News

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापका उम्मेद्वार माधव ढुङ्गेलले मतदाताले आफ्ना एजेन्डा मन परे मात्र आफूलाई मत दिने विश्वास व्यक्त गरेका छन्। “मलाई मात्रै मत दिनुपर्छ भन्ने छैन, अरू पनि उम्मेद्वार छन्। मेरो एजेन्डा चित्त बुझ्यो भने मलाई मत दिन्छन्,” उनले भने।
शनिबार बिहान मन्थलीमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ढुङ्गेलले संसद्मा रामेछापका मुद्दा गम्भीरताका साथ उठाउन सक्ने उम्मेद्वार आफू भएको दाबी गरे। जनताको मतमाथि भरोसा रहेको उल्लेख गर्दै उनले चुनाव जित्ने–नजित्ने विषयमा भने मौनता अपनाए। जिल्लाका पुराना दलका तर्फबाट अघि सारिएका युवा उम्मेद्वारमध्ये आफू रहेको बताउँदै पनि उनले “जित्छु” भन्ने दाबी गरेनन्।
पहिलोपटक प्रत्यक्ष रूपमा जनतामाझ जान लागेकाले मतदाताले एकपटक अवसर दिने विश्वास रहेको ढुङ्गेलले बताए। “म पहिलो पटक जनतासँग जान लागेको हुँ, त्यसैले एक अवसर दिन्छन् भन्ने लागेको छ,” उनले भने।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका ढुङ्गेलले रामेछापको कृषि, वन, पर्यटन, जलविद्युत र लिखु कोरिडोरलगायत क्षेत्रमा प्रशस्त विकास सम्भावना रहेको बताए। सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मसँग सम्बन्धित (एआई) डाटा सेन्टर निर्माणका लागि प्रारम्भिक चरणको अध्ययन गर्न सकिने धारणा पनि उनले राखे। रामेछापको मौसम डाटा सेन्टरका लागि उपयुक्त रहेको उनको तर्क छ।
उमाकुण्डको उमातिर्थ मन्दिर (काँसिगएजी), खाँडादेवी मन्दिरलगायत धार्मिक स्थलको प्रवर्द्धन गरी पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने उनले बताए। साथै लिखु, खिम्ती, तामाकोशी र सुनकोशी नदीको जलस्रोत प्रयोग गरी ठूला जलविद्युत आयोजना निर्माण गर्न सकिने सम्भावना रहेको पनि उनले उल्लेख गरे।
मतदातामाझ अपरिचित रहेको आरोपलाई ढुङ्गेलले शिक्षक पेशामा रहँदा जिल्लाका धेरै विद्यालयमा अध्यापन गरेको कारण आफूलाई धेरैले चिनेको दाबी गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह कुनै व्यक्तिबाट परिचालित भएको आरोप लगाए। “आफ्नो क्षेत्रबाट चुनाव नलड्ने अनि इगोका कारण झापा जाने, त्यो भनेको रोबोटजस्तै प्रयोग हुनु हो,” उनले टिप्पणी गरे।
आगामी २१ फागुनमा हुने निर्वाचनमा नेकपा (एमाले) ले बहुमत जित्नु आवश्यक रहेको उल्लेख गर्दै ढुङ्गेलले ‘जेन्जी विद्रोह’ लाई ‘टिओबी’ लेखिएका मास्कधारी समूहले हाइज्याक गरेको दाबीसमेत गरे।
हाल घरदैलो अभियानमा रहेका ढुङ्गेलले जन्म गाउँ खाँडादेवी गाउँपालिकाका केही वडामा भेटघाट गरिसकेका छन् भने उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा पनि घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। उनी शनिबार मन्थलीमा पार्टीले आयोजना गरेको निर्वाचन विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

For Add Product Review. You Need To Login First Login Page





















