Search News
देशलाई निकास दिन निर्वाचन नै एकमात्र विकल्प : प्रधानमन्त्री कार्की
- Friday Jan 16 2026
- | 1301 Read
Share News

काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट लोकतान्त्रिक निकासका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताउनुभएको छ। शुक्रबार बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले देश निर्णायक चुनावतर्फ अग्रसर भएको उल्लेख गर्दै समाजका सबै तह र तप्काबाट सहयोगको अपेक्षा गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन सामान्य प्रक्रियाको मात्र नभई देशलाई निकास दिने र दीर्घकालीन स्थिरताको आधार तयार गर्ने चुनाव भएको बताउनुभयो। “यो चुनाव मुलुकलाई संकटबाट बाहिर निकाल्ने र स्थायित्वतर्फ लैजाने अवसर हो। भदौ २३ र २४ गतेलाई सबैले गम्भीरतापूर्वक लिनुपर्छ। अब यस्ता अस्थिर अवस्था दोहोरिनु हुँदैन,” उहाँले भन्नुभयो।
उहाँले युवाको चाहना र आकाङ्क्षाअनुसार शासन प्रणाली सञ्चालन हुनुपर्नेमा जोड दिँदै आगामी निर्वाचनमार्फत नयाँ, युवा र इमानदार प्रतिनिधि संसदमा पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो। “पुरानो सोच, मानसिकता र शैलीबाट अब देश चल्दैन। समयले नयाँ नेतृत्वको माग गरेको छ,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।
प्रधानमन्त्रीले निर्वाचनमा पैसाको प्रभाव रोक्न समुदायस्तरबाटै सजगता आवश्यक रहेको उल्लेख गर्नुभयो। “विगतमा चुनावमा पैसाको प्रभाव परेको गुनासो आइरहेका छन्। भ्रष्टाचार अन्त्य गर्न चाहने हो भने त्यसको सुरुवात स्वच्छ निर्वाचनबाट हुनुपर्छ,” उहाँले बताउनुभयो।
भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, सामाजिक तथा आर्थिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो।

For Add Product Review. You Need To Login First Login Page





















