Search News
मधेशमा नयाँ सत्ता समीकरणको खोजी : सात दल सक्रिय, कांग्रेस–लोसपाको नेतृत्व दाबी
- Thursday Dec 04 2025
- | 4571 Read
Share News

मधेसमा नयाँ सत्ता समीकरण बनाउने प्रयास चलिरहेको छ, जहाँ सात वटा दल सक्रिय रूपमा जुटिरहेका छन्। यसबीच नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकारको नेतृत्व (मुख्यमन्त्रीको पद) आफूहरुले पाउनुपर्छ भनेर दाबी गरिरहेका छन् ।
मुख्यमन्त्रीको पद खाली भएपछि कांग्रेससहित सात दल आ–आफ्नो छलफलमा जुटेका छन्।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत पाउने अवस्था कमजोर देखिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पद त्यागेका थिए। त्यहाँबाट सुरु भएको राजनीतिक चहलपहल अहिले सात दलबीचको अनौपचारिक वार्तामा परिणत भएको जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले बताए।‘अहिले हामी छुट्टाछुट्टै सानो–सानो समूहमा छलफलमा बसेका छौं । यो अनौपचारिक वार्ता हो,’ यादवले भने, ‘औपचारिक बैठक केहीबेरमा बस्नेछ ।’ जसपा नेपालका सचेतक यादवका अनुसार जसपा नेपाल सबै विकल्पमा खुल्ला छ ।
‘संघीयता मजबुत, प्रदेशलाई बलियो र लोकतन्त्रलाई संस्थागत गर्ने दिशामा जसपाको अडान रहन्छ । जसपाका लागि मुख्यमन्त्री ठुलो पद होइन,’ यादवले भने, ‘सात दलमध्ये जसको नेतृत्वमा सरकार बने पनि जसपा नेपालको साथ र समर्थन रहन्छ ।’
सात दलभित्र ठूलो दलको हैसियतले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरेको छ । कांग्रेसले मुख्यमन्त्रीका लागि संसदीय दलका नेता एवं प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई अगाडि सारेको छ । कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन दलका नेता यादवलाई नै सबै दलसित वार्ता र संवाद गर्न जिम्मेवारी तोकिएको बताए ।
लोसपाले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । लोसपाका सांसद उपेन्द्र महतोले लोसपाका सांसद जितेन्द्र सोनलको नेतृत्वमा यसअघि बनेको सरकार थोरै समयसम्म रहेकाले फेरि सोनलकै नेतृत्वमा सरकार बन्नुपर्ने अडान रहेको बताए ।
बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।

For Add Product Review. You Need To Login First Login Page





















