Search News
११औँ महाधिवेशनपछि एमालेमा ओलीको पूर्ण पकड, विपक्षी धार सीमित
- Monday Dec 22 2025
- | 1587 Read
Share News

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओली बहुमतमा हुनुहुन्छ।
३०१ सदस्यीय केन्द्रीय कमिटीमा प्रतिपक्षी धारमा उभिने मुस्किलले १२ जना पनि छैनन्।
१९ सदस्यीय पदाधिकारीमा प्रतिस्पर्धी खेमाबाट उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले मात्रै जितेका थिए।
अब ध्यान स्थायी कमिटी र पोलिटब्युरोमा छ। एमालेमा सचिवालयलाई कोर अफ लिडरसिप र त्यसपछिको निर्णायक कमिटीका रूपमा स्थायी कमिटी र पोलिटब्युरोलाई मान्ने गरिन्छ।
१० औं महाधिवेशनयता एमालेमा ६२ पटक सचिवालयको बैठक बसेको थियो। केन्द्रीय कमिटी बैठक ११ पटक बसेको थियो तर स्थायी कमिटी र पोलिटब्युरो बैठक भने नगण्य बसेको थियो।
त्यसैले पनि स्थायी कमिटीको सान्दर्भिकतामाथि प्रश्न उठेको थियो। तर ११ औं महाधिवेशनले स्थायी कमिटीलाई निरन्तरता दिने निर्णय गरेकाले यो बन्ने प्रक्रियामै छ।
गत शुक्रबार बसेको पार्टी केन्द्रीय कमिटीको पहिलो बैठकले आगामी पुस २६ देखि २८ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक बोलाएको छ। उक्त केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी, पोलिटब्युरोको निर्वाचन गर्नेछ। केही केन्द्रीय कमिटी सदस्यहरू पनि मनोनीत गर्नेछ।
एक नेताले जानकारी दिएअनुसार अध्यक्ष केपी शर्मा ओलीले गएको केन्द्रीय कमिटी बैठकमै मनोनीत लगायतका काम टुंग्याउन खोज्नुभएको थियो। उपमहासचिवमा पराजित विष्णु रिमाल लगायतलाई मनोनीत गर्ने उहाँको चाहना थियो। तर उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलगायत नेताहरूले अहिले नै नगर्न सुझाव दिएका थिए।
तर अध्यक्ष ओलीले यसलाई अर्को बैठकमा कार्यसूचीमा रूपमा ल्याउने तयारी गर्नुभएको छ। त्यसअघि बस्ने सचिवालयले बैठकले स्थायी कमिटी, पोलिटब्युरोको निर्वाचन र मनोनयनको प्रस्ताव तयार पार्नेछ। पहिलो बैठकले सचिवालय पनि गठन गरिसकेको छ। अहिले कायम रहेको पदाधिकारी संख्या नै एमालेको सचिवालय हो।
एमालेको विधानको धारा ६३ मा उम्मेदवार हुन आवश्यक योग्यता निर्धारण गरिएको छ। धारा ६३ को उपधार २ अनुसार केन्द्रीय कमिटीका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यका लागि उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भई एक कार्यकाल काम गरेको हुनुपर्नेछ व्यवस्था छ।
युवा, महिलालगायत क्लस्टरबाट निर्वाचित भएर आएका ३० हाराहारीबाहेक बाँकी सबै केन्द्रीय सदस्य दोहोरिएर निर्वाचित भएका हुन्। त्यसकारण स्थायी कमिटी र पोलिटब्युरोमा आकांक्षी २५० जना भन्दा बढी छन्।
एमालेमा एक कार्यकाल पोलिटब्युरो भइसकेकाहरूलाई स्थायी कमिटी सदस्य बनाउने चलन छ। यो परम्परा नमिच्न कतिपय सदस्यहरूले ध्यानाकर्षण पनि गराएका छन्।
गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा गरेको दोस्रो विधान महाधिवेशनले एमालेको केन्द्रीय कमिटीको चार तहको संरचनालाई तीन तहमा झारेको थियो। उक्त विधान महाधिवेशनबाट पारित विधानमा स्थायी कमिटी राखेको थिएन।
तर ११ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरू हुनुभन्दाअघि बसेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी ब्युँताउँदै संख्या पनि निर्धारण गरेको थियो। एमालेको संशोधित विधानअनुसार ९९ सदस्यीय पोलिटब्युरो र ३३ सदस्यीय स्थायी कमिटी निर्वाचित हुनेछ।
एमालेको अब १९ पदाधिकारीसहित ३३ सदस्यीय स्थायी कमिटी हुनेछ। ३३ सदस्यीय स्थायी कमिटीका लागि ५० बढी आकांक्षी देखिएका छन्।
एमालेको ११ औं महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ। रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरूङ, रघुजी पन्त, गोकर्ण विष्ट उपाध्यक्ष निर्वाचित भएका छन्।
महासचिव शंकर पोखरेल निर्वाचित भएका छन्।
योगेश भट्टराई, लेखराज भट्ट, रघुवीर महासेठ उपमहासचिव निर्वाचित भएका छन्।
पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, भानुभक्त ढकाल, महेश बस्नेत सचिवमा निर्वाचित भएका छन्।
यी पदाधिकारी स्वतः स्थायी कमिटी सदस्य हुनेछन्।
यसबारे १४ जना स्थायी कमिटीमा निर्वाचित गर्नुपर्नेछ।
फरक समूह निर्माण गरी प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, विन्दा पाण्डे, आनन्द पोखरेल, ठाकुर गैरे, अग्नि खरेल स्थायी कमिटीका आकांक्षी हुन्।
स्वतन्त्र रूपमा उपसचिवमा उम्मेदवारी दिई पछि फिर्ता लिएका राजेन्द्र गौतम, सचिवका प्रत्यासी लालबाबु पण्डित पनि स्थायी कमिटी सदस्यका आकांक्षी हुन्। दुवैजना यसअघि नै स्थायी कमिटी सदस्य थिए।
फरक टिम बनाएर आफूसँग प्रतिस्पर्धा गर्न आएकाले अध्यक्ष ओलीले अहिले नै उनीहरूलाई स्थायी कमिटीमा समावेश गर्छन् कि गर्दैनन् भन्ने संशय रहेको उनी पक्षका एक नेताले बताउनुभयो ।
यसबाहेक संस्थापनबाट उपाध्यक्षको सूचीमा परे पनि उम्मेदवारी नदिएर केन्द्रीय कमिटीमा मात्रै निर्वाचित भएका प्रदीप ज्ञवाली, यसअघि नै स्थायी कमिटी सदस्य रहेका किरण गुरूङ, थममाया थापा, पोलिटब्युरो सदस्य भइसकेका तिलकुमार मेन्याङ्बो, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल, शेरबहादुर तामाङ, जगत विश्वकर्मा, गोरख बोगटी, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, सूर्य थापा, ज्वालाकुमारी साह, खेममान खड्का टुकराज सिग्देल, सुजिता शाक्य, रामेश्वर फुयाल स्थायी कमिटी सदस्यको आकांक्षी छन्।

For Add Product Review. You Need To Login First Login Page





















