Saturday 18-04-2026

एमाले महाधिवेशनको तयारी तीव्र, दुई लाखभन्दा बढीको सहभागिता दाबी

Satyapana
  • Saturday Dec 13 2025
  • | 1241 Read

Share News

एमाले महाधिवेशनको तयारी तीव्र, दुई लाखभन्दा बढीको सहभागिता दाबी

२७ मंसिर, २०८२ । भक्तपुरको सल्लाघारीमा हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि कार्यकर्ता र नेताहरू भेला हुन थालेका छन्।

शनिबार दिउँसो महाधिवेशनको उद्घाटन हुने तय भएको छ। उद्घाटन समारोहमा करिब दुई लाख मानिस सहभागी हुने एमालेले दाबी गरेको छ। कार्यक्रममा १६ दलका नेताहरूलाई पनि निमन्त्रणा गरिएको छ।

एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार टाढा–टाढाका जिल्लाबाट सहभागीहरू गाडी रिजर्भ गरेर काठमाडौं आइरहेका छन्। उनका अनुसार सुरुमा पाँच लाख जनसमुदाय उतार्ने तयारी भए पनि हालसम्मको विवरणअनुसार न्यूनतम दुई लाख नागरिकको सहभागिता सुनिश्चित भइसकेको छ।

स्रोतका अनुसार शनिबार बिहानसम्म करिब चार सय गाडीमा १४ हजारभन्दा बढी मानिस काठमाडौं आइपुगेका छन्।

महाधिवेशनमा करिब डेढ सय झाँकी प्रस्तुत गरिनेछ। भक्तपुरले विभिन्न जाति, समुदायको कला तथा सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० भन्दा बढी झाँकी प्रस्तुत गर्नेछ भने काठमाडौं र ललितपुरले पनि समान संख्यामा झाँकी सहभागी गराउनेछन्।

एमालेले भक्तपुरमा पहिलो पटक महाधिवेशनको उद्घाटन गर्दैछ। सल्लाघारी पश्चिमतर्फको खुला चौरलाई उद्घाटन स्थल बनाइएको छ। व्यवस्थापनअनुसार काठमाडौंतर्फबाट आउने गाडी गट्ठाघरमै रोकिनेछन् र त्यहाँबाट करिब ३.१ किलोमिटर दूरी जुलुससहित तय गरिनेछ। पूर्वी नाकाबाट आउने गाडी जगातीमा रोक्ने व्यवस्था गरिएको छ भने ललितपुरबाट आउने सहभागीहरू शंखघर चोकमा भेला भएर जुलुससहित सभास्थल पुग्नेछन्।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार जुलुसहरू सकेसम्म सडकको दायाँ–बायाँ सर्भिस लेन प्रयोग गरी अघि बढाइनेछ। सहभागीहरूलाई कार्यक्रमको अन्त्यसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशन दिइएको छ।


For Add Product Review. You Need To Login First Login Page