Saturday 18-04-2026

जनस्वास्थ्यविद् माधव चौलागाईं वन तथा वातावरण मन्त्री नियुक्त

Satyapana
  • Friday Dec 12 2025
  • | 1041 Read

Share News

जनस्वास्थ्यविद् माधव चौलागाईं वन तथा वातावरण मन्त्री नियुक्त

२६ मंसिर, २०८२।  जनस्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव जुटाएका माधव चौलागाईंले राष्ट्रपति रामचन्द्र पौडेलबाट वन तथा वातावरण मन्त्रीको शपथ लिएपछि औपचारिक रूपमा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो मन्त्रिपरिषद् विस्तारमार्फत चौलागाईंलाई मन्त्री बनाएको हो।

कर्णालीबाट तीन महिना अघि नै सिफारिस भए पनि राजनीतिक तानातान र विवादित नामहरू हटेपछि मात्र चौलागाईं मन्त्री बन्न सफल भएका हुन्। ‘सुदन गुरुङ समूह’ तथा कर्णालीका जेनजी युवाहरूको समर्थनले उनको नाम अन्ततः क्याबिनेटसम्म पुगेको बताइन्छ। राजनीतिक दलसँग प्रत्यक्ष आवद्धता नभएको, विवादरहित छवि र दीर्घ अनुभवका कारण उनी मन्त्रीको दाबेदारका रूपमा स्थापित भएका थिए।

लामो अनुभव बोकेका जनस्वास्थ्यविद्

चौलागाईं समाजशास्त्रका विद्यार्थी तथा जनस्वास्थ्यका विज्ञ हुन्। जुम्लाको कुष्ठरोग अस्पताल (आईएनएफ) मा ८ वर्ष र कर्णालीका विभिन्न स्थानमा झन्डै १० वर्ष स्वास्थ्यकर्मीका रूपमा काम गरेका उनले पछिल्लो २० वर्ष अन्तर्राष्ट्रिय स्वास्थ्य सेवाहरूमा विषयविज्ञका रूपमा योगदान दिएका छन्।

रणनीतिक सूचना, परियोजना अनुगमन, मूल्यांकन, अनुसन्धानदेखि लिएर राष्ट्रिय नीति तथा गाइडलाइन निर्माणसम्मका कार्यमा उनको उल्लेखनीय भूमिका रहँदै आएको छ। विकास योजनाबाट सुशासन र सुरक्षासम्बन्धी परियोजनासम्म उनले विभिन्न निकायसँग सहकार्य गर्दै काम गरेका छन्।

साहित्य, संगीत र कर्णाली उत्थानमा सक्रियता

स्वास्थ्यक्षेत्रसँगै चौलागाईं कर्णालीको इतिहास, भाषा र संस्कृतिमाथि लगातार लेखन गर्दै आएका छन्। ‘सपादलक्ष्य कर्णाली’ पुस्तकका लेखक उनी ‘जुरुक्कै कर्णाली’ गीतका रचनाकार पनि हुन्। काठमाडौंमा हुने ‘कर्णाली डिस्कोर्स’ तथा ‘कर्णाली साहित्य महोत्सव’ जस्ता कार्यक्रमको संयोजनमा समेत उनको भूमिका महत्त्वपूर्ण छ।

शैक्षिक यात्रा र प्रारम्भिक जीवन

जुम्ला तातोपानी गाउँपालिका–५, लाम्रा निवासी चौलागाईं मध्यमवर्गीय परिवारमा हुर्के। जुम्ला र सुर्खेतमा प्रारम्भिक तथा माध्यमिक अध्ययन पूरा गरेर उनले सीएमए अध्ययन गरे। चुलालोङ्गकोर्ण विश्वविद्यालय (थाइल्यान्ड) बाट पब्लिक हेल्थमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा अर्को स्नातकोत्तर गरेका छन्। हाल उनी मानवशास्त्रमा एमफिल अध्ययनरत छन्।

अब वन मन्त्रालयको नेतृत्व

देशको नेतृत्वमा निरन्तर आएकाहरूले समय र अवसर खेर फालेको आलोचना गर्दै आएका चौलागाईं स्वयं अब वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा उभिएका छन्। कर्णालीको सामाजिक-सांस्कृतिक उत्थानमा सक्रिय उनी वातावरणमैत्री विकास तथा दिगो शहर–गाउँ निर्माणमा दीर्घ समयदेखि वकालत गर्दै आएका छन्।


For Add Product Review. You Need To Login First Login Page