Search News
कांग्रेस–एमालेको पकड तोड्दै मोरङ–१ मा रास्वपाको जित
- Sunday Mar 08 2026
- | 1175 Read
Share News

२४ फागुन, विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ बाट रास्वपा उम्मेदवार यज्ञमणि न्यौपाने सानदार रूपमा विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार न्यौपानेले निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८४५ मतान्तरले पराजित गरे। शान्तिले १७ हजार ५२२ मत प्राप्त गरिन्।तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्दा चौथो स्थानमा खुम्चिएका नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत मात्र पाए। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कुलप्रसाद साम्बाले २ हजार २२४ मत प्राप्त गरे।
यो क्षेत्र विगतमा कांग्रेस र एमालेको बलियो पकड क्षेत्र मानिन्थ्यो। तर यसपटक पुराना दलप्रतिको चरम वितृष्णा र घन्टीको देशव्यापी उभारले परम्परागत मतपेटिकामा पहिरो गयो। यही जनआक्रोश र परिवर्तनको हुटहुटी सदुपयोग गर्दै यज्ञमणिले मोरङमा बाजी मारे ।नवनिर्वाचित सांसद एवं अधिवक्ता न्यौपानेको यसपटकको चुनावी यात्रा निकै रोचक छ। सुरुमा उनी आफ्नै गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आमनेसामने प्रतिस्पर्धा गर्न चाहन्थे। आफ्नो घर दमक नै भएका कारण उनले त्यहाँ भेटघाट र चुनावी अभियानसमेत सुरु गरिसकेका थिए।
तर, एमाले अध्यक्ष ओलीलाई उनकै गढमा चुनौती दिन काठमाडौँका पूर्वमेयर एवं रास्वपाका प्रभावशाली नेता बालेन शाह झापा–५ मा जाने निश्चित भएपछि न्यौपानेले अन्तिम समयमा आफ्नो चुनावी क्षेत्र परिवर्तन गरी मोरङ–१ रोजेका थिए।
झापामा ओलीसँग लड्न नपाए पनि न्यौपानेले मोरङबाट शानदार रूपमा संसद्को यात्रा तय गरे। उता, झापा–५ मा बालेन शाहले पनि एमाले अध्यक्ष ओलीमाथि ऐतिहासिक र फराकिलो जित दर्ता गरेका छन्। वर्षौँदेखि ओलीको एकछत्र राज रहेको र एमालेको ‘किल्ला’ मानिएको उक्त क्षेत्रमा यसपटक घन्टीको एकप्रकारले सुनामी नै आउँदा शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै समेटिए। शाह र ओलीबीचको मतान्तर नै ४९ हजार ६१४ रह्यो, जसले पुराना र स्थापित भनिएका नेताहरूप्रतिको चरम असन्तुष्टिलाई प्रस्ट पारेको छ।

For Add Product Review. You Need To Login First Login Page





















