निर्वाचन आचारसंहिता लागू : दल र उम्मेदवारका लागि कडाइ, के–के गर्न पाइँदैन ?
- Sunday Feb 08 2026
- | 1287 Read
Share News

काठमाडौँ। २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु भएको अवस्था छ ।
निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी, भयमुक्त एवम् मितव्ययी रुपमा सम्पन्न गर्नका लागि आयोगबाट पुस १३ गते निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत भएको थियो ।
निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठनले कुनै जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्दछ ।
दलको चिन्ह अङ्कित सामान बोक्न नहुने
यो अवधिमा कसैको घरको आसपासमा गइ निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न हुँदैन ।
राजनीतिक दलले स्थानीय प्रशासनको अनुमति नलिइ सार्वजनिक सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न हुँदैन । जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर, कपडा, क्याप, भेष्ट, ब्याच, मास्क, झोला बोक्न हुँदैन ।
एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भ्रातृ सङ्गठनले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक गर्न हुँदैन ।
कसैको निजी घरमा चुनाव चिन्ह राख्न नपाइने
कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न हुँदैन ।
उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स तथा श्रव्य सामग्री प्रसारण तथा प्रदर्शन गर्न हुँदैन । जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने छ ।
बालबालिका प्रयोग गर्न नपाइने
अनलाइन वेबपेज, टेलिभिजन, सपिङ मल, कल सेन्टर वा सडक नाटक आदिका माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउन हुँदैन । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्न वा गराउन हुँदैन ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरुको भावना, इज्जत, चरित्र तथा प्रतिष्ठामा आँच आउन सक्ने प्रकारले प्रचारप्रसार गराउन पाइँदैन ।
मतदाता ओसारपसार गर्न नपाइने
राजनीतिक दल वा उम्मेदवारले सवारी साधनको प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
यससँगै कुनै पनि धर्मको प्रचारप्रसार गर्न, गराउन नहुने, उम्मेदवार र निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने, साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार गर्न तथा मत माग्न नहुने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार सम्बन्धि आचारसंहितामा उल्लेखित गतिविधि गर्न पाइने बताइएको छ ।
निर्वाचनमा विजयी भएको उम्मेदवारले कुर्न प्रकारको भोज भतेर गर्न वा नगद वा जिन्सी वितरण गर्न हुँदैन ।
निर्वाचन आयोगले तोके बमोजिम बढीमा दुई वटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारीसाधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने छन् ।
एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारीसाधन अन्य दल वा उम्मेदवारले प्रयोग गर्न हुँदैन ।
हेलिकप्टर प्रयोग गर्दा राजनीतिक दलको लागि आयोगले निर्धारण गरेको समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीका उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दलले गर्न पाउने खर्चको सीमाभित्र रही गर्नुपर्ने छ ।
राजनीतिक दलले टेलिभिजन, रेडियो वा एफ.एम., रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेटसम्म प्रसारण गराउन सकिने छ ।

For Add Product Review. You Need To Login First Login Page




















