Tuesday 28-07-2026

रामेछापलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न मोटरेबल पुल निर्माण मेरो प्राथमिकतामा थियो- श्याम कुमार श्रेष्ठ (कुशल)

Logo
Satyapana
  • Tuesday Jan 27 2026
  • | 3022 Read

Share News

रामेछापलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्न मोटरेबल पुल निर्माण मेरो प्राथमिकतामा थियो- श्याम कुमार श्रेष्ठ (कुशल)

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट रामेछाप जिल्लामा श्याम कुमार श्रेष्ठ (कुशल)उम्मेदवार बन्नुभएको छ। यसअघि उहाँले २०७० सालको संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा निर्वाचन दुवैमा विजय हासिल गर्नुभएको थियो। निरन्तर दुई कार्यकालको अनुभव र योगदानलाई मूल्याङ्कन गर्दै यसपटक पनि पार्टीले उहाँलाई विश्वासका साथ उम्मेदवार बनाएको हो।

उम्मेदवार श्रेष्ठले रामेछाप जिल्लामा आफ्नो कार्यकालमा भएका विकास निर्माणका कामबारे स्पष्ट धारणा सार्वजनिक गर्नुभएको छ। विशेषगरी सुनकोशी नदी क्षेत्रमा निर्माण भएका मोटरेबल पुलहरूले रामेछापको भौगोलिक र आर्थिक रूपान्तरणमा ठूलो भूमिका खेलेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “म रामेछापवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रष्टसँग भन्न चाहन्छु—आजभन्दा धेरै पर फर्कनु पर्दैन, सुनकोशीमा पुल बनेको कति वर्ष भयो भनेर एकपटक हेर्नुस्। सुनकोशीका किनारहरूमा रामेछापको भूगोल छोएको ठाउँहरूमा झण्डै आधा दर्जनभन्दा बढी मोटरेबल पुलहरू बनेका छन्।”

उम्मेदवार श्रेष्ठका अनुसार संविधान जारी हुनुअघि रामेछापमा कालोपत्रे सडक र पक्की पुलको कल्पनासमेत गर्न गाह्रो थियो। तर अहिले अवस्था फेरिएको छ। “आज सुनकोशीको खुर्कोटमा पुल बनेको छ, सित्खामा पुल बनेको छ, खैरेनीघाटमा पुल बनेको छ, खैरेनीटारमा पुल बनेको छ, नवसिगपुर घाटमा पनि मोटरेबल पुल बनेको छ। पुलै पुलले रामेछापको विकासको ढोका खोलेको छ,” उहाँले उल्लेख गर्नुभयो।

उहाँले यस्ता पूर्वाधार विकासका कारण रामेछाप जिल्लाको यातायात, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा पहुँच सहज भएको बताउनुभयो। विकासको यो यात्रालाई अझ अगाडि बढाउन जनताको साथ र विश्वास आवश्यक रहेको उहाँको भनाइ छ।

रामेछापमा यसपटकको निर्वाचनलाई विकासको निरन्तरता र राजनीतिक स्थायित्वसँग जोडेर हेरिएको छ। अनुभवी उम्मेदवार श्रेष्ठको उम्मेदवारीलाई जिल्लाको विकाससँग जोडेर मूल्याङ्कन गरिँदै आएको छ।


For Add Product Review. You Need To Login First Login Page