Saturday 18-04-2026

राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा : छुट्टै कार्ड बोक्नुपर्ने झन्झट हट्ने

Satyapana
  • Monday Mar 16 2026
  • | 868 Read

Share News

राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा : छुट्टै कार्ड बोक्नुपर्ने झन्झट हट्ने

स्वास्थ्य बीमा बोर्डले आफ्नो सेवालाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउन राष्ट्रिय परिचयपत्र (NID) सँग आबद्ध गर्ने प्रक्रिया सुरु गरेको छ। 

बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच भएको समझदारी अनुसार अब नागरिकको स्वास्थ्य बीमा विवरणलाई परिचयपत्रको नम्बरसँगै जोडिनेछ। 

यससम्बन्धी सम्झौता पत्रमा विभागका महानिर्देशक नमराज घिमिरे र बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ।

 यो व्यवस्था पूर्ण रूपमा लागू भएपछि बिरामीले अस्पतालमा सेवा लिँदा स्वास्थ्य बीमाको छुट्टै कार्ड बोकिरहनु पर्ने छैन, राष्ट्रिय परिचयपत्रकै आधारमा पहिचान र प्रमाणीकरण हुनेछ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत गर्ने तयारी भइरहेको बताए ।

मल्लका अनुसार बोर्डले चैत २५ गतेभित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेर गृहकार्य गरिरहेको छ ।

‘अब स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा नागरिकको राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा सेवा दिने प्रणालीतर्फ जाने तयारी भइरहेको छ,’ मल्लले अनलाइनखबरसँग भने ।

उनका अनुसार एनआईडी प्रणालीसँग जोडिएपछि स्वास्थ्य बीमासम्बन्धी धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अहिले देशभरिबाट संकलन भएको राष्ट्रिय परिचयपत्रको डाटाबेससँग स्वास्थ्य बीमा कार्यक्रम जोडिँदा डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने मल्ल बताउँछन् ।

हाल स्वास्थ्य बीमा कार्यक्रममा करिब एक करोड नागरिक आबद्ध भइसकेका छन् । तर म्यानुअल प्रणालीका कारण कतिपय स्थानमा एउटै व्यक्तिको विवरण दोहोरिने, उमेर वा विवरण नमिल्ने तथा गलत प्रयोग हुने समस्या देखिएको मल्लले बताए ।

‘एनआईडी नम्बरको आधारमा प्रणाली जोडिँदा यस्ता समस्या धेरै हदसम्म नियन्त्रण हुन्छ,’ मल्लले भने ।

उनका अनुसार डिजिटल प्रणाली विस्तार भएसँगै नागरिकले स्वयं अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुने वा नवीकरण गर्ने सुविधा पाउनेछन् । भविष्यमा सेवा लिँदा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना रहेको मल्ल बताउँछन् ।

नयाँ व्यवस्थासँगै स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा हुने झन्झट हट्नेछ । परिचयपत्रमा भएकै विवरणका आधारमा डिजिटल प्रमाणीकरण हुने भएकाले सेवाग्राहीले अस्पताल तथा सेवा केन्द्रहरूमा छिटो सेवा पाउनेछन् ।


For Add Product Review. You Need To Login First Login Page