Saturday 18-04-2026

तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सुचारु, पर्यटकको चहलपहल बढ्यो

Satyapana
  • Saturday Mar 14 2026
  • | 862 Read

Share News

तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सुचारु, पर्यटकको चहलपहल बढ्यो

मुक्तिनाथ (मुस्ताङ), फागुन ३० । प्रतिकूल मौसमका कारण गत मंसिर १५ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई सेवा तीन महिनापछि पुनः सञ्चालनमा आएको छ। हिउँदको चिसो, हुस्सु र न्यून यात्री चापका कारण स्थगित गरिएको यो उडान सेवा मौसममा सुधार आएसँगै शनिबारदेखि सुरु भएको हो।

जोमसोम विमानस्थलका अनुसार शनिबार समिट एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँबाट दुई र पोखराबाट एक गरी कुल तीनवटा उडान भरेको छ। विमानस्थल प्रमुख दीपक पोखरेलले मौसममा अचानक खराबी नआए अब उडान नियमित हुने जानकारी दिए। शनिबार काठमाडौँबाट २९ जना पर्यटक भित्रिएकोमा २८ जना विदेशी र एक जना नेपाली रहेका छन् ।

त्यसैगरी पोखराबाट १५ जना पर्यटकमा छ जना भारतीय रहेको समिट एयरलाइन्सका जोमसोम प्रमुख सुमन थकालीले बताउनुभयो ।पर्यटकको सिजन सुरु भएकाले पोखरा र जोमसोमबाट हवाई मार्गबाट जाने पर्यटकको चाप भएपनि प्रतिकुल मौसममा बाहेक नियमित उडान हुने गरेको थकालीको भनाइ छ ।

हवाई मार्ग अवरुद्ध हुदाँ पर्यटक तथा यात्रु बेनी–जोमसोम सडक हुँदै मुस्ताङ जाने गरेका छन् ।मुस्ताङमा निजी वायुसेवा कम्पनी यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्स, समिट एयरलाइन्सले उडान भर्दै आइरहेको छ ।

मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले सडक र हवाई मार्गबाट भित्रिने पर्यटकले पर्यटन व्यवसायी समेत उत्साहित हुने बताउनुभयो ।

मुस्ताङमा मनसुन र जाडो समयमा हवाई उडान प्रभावित हुने गरेको छ । अत्यधिक हावाहुरी चल्ने तथा मौसम प्रतिकुल जस्ता कारणले पोखरा–जोमसोम हरेक दिन बिहान ११ बजेसम्म दुवै एयरलाइन्सले बढीमा पाँचपाँच वटा मात्रै उडान भर्दै आएका छन् ।

मुस्ताङका धार्मिकस्थल मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने पर्यटक बोकेको हेलिकप्टरमा अनिवार्य एक सुरक्षा निकायका प्रतिनिधि हुने व्यवस्था छ ।

नीजि कम्पनी बाहेक नेपाली सेनाले आफ्नो सामान ढुवानी सहित चार्टर उडान समेत गर्ने गरेको छ। कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडक सहज भएपछि हवाई यात्रुको चाप भने घटेको छ ।


For Add Product Review. You Need To Login First Login Page