Saturday 18-04-2026

इरानी जनतालाई आफ्नो सरकार लिन अमेरिकी डोनाल्ड ट्रमद्धारा अपिल

Satyapana
  • Saturday Feb 28 2026
  • | 1253 Read

Share News

इरानी जनतालाई आफ्नो सरकार लिन अमेरिकी डोनाल्ड ट्रमद्धारा अपिल

दुबई। इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गर्नुभएको छ । राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताउनुभयो । उहाँले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गर्नुभयो । यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा हुनुहुन्थ्यो कि हुनुहुन्न भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उहाँ केही दिनयता सार्वजनिक रूपमा देखिनुभएको थिएन ।

आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।

तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ ।

इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।

युद्धको पृष्ठभूमि

गत महिना इरानमा सरकार विरोधी प्रदर्शनकारीहरूमाथि सुरक्षा बलले दमन गर्दा हजारौंको मृत्यु भएपछि ट्रम्पले पहिलो पटक इरानमा बमबारी गर्ने धम्की दिनुभएको थियो। त्यसयता उहाँको ध्यान मुख्यतया इरानको आणविक कार्यक्रममा केन्द्रित भएको छ, यद्यपि यो विषयलाई सैन्य कारबाही नै गर्नुपर्ने गरी किन आपतकालीन मानियो भन्नेबारे उनले पूर्ण स्पष्टीकरण दिएका छैनन्।

दशकौंदेखि अमेरिका र इजरायलले इरानमाथि गोप्य रूपमा आणविक हतियार विकास गरिरहेको आरोप लगाउँदै आएका छन्। इरानले भने यी आरोपहरू अस्वीकार गर्दै आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। यद्यपि, इरान आणविक हतियार नभएको त्यस्तो एकमात्र राष्ट्र हो जसले हतियार बनाउन मिल्ने स्तरको युरेनियम संवर्धन (Enrich) गरेको छ।

अन्तिम समयको कूटनीतिक प्रयास विफल

इरानले गत वर्ष इजरायलसँगको युद्धका क्रममा अमेरिकी आक्रमणबाट आफ्ना आणविक केन्द्रहरू ध्वस्त भएपछि संवर्धन कार्य रोकिएको बताएको थियो। तर, उसले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का निरीक्षकहरूलाई ती क्षतिग्रस्त स्थलहरूमा प्रवेश गर्न दिएको छैन। राष्ट्रपति ट्रम्पले भने ती केन्द्रहरू आक्रमणमा "नामेट" भइसकेको दाबी गर्दै आउनुभएको थियो।

यसै महिना अमेरिका र इरानबीच तीन चरणको वार्ता भएको थियो र अर्को हप्ता थप वार्ता हुने अपेक्षा गरिएको थियो। वार्तामा मध्यस्थता गरिरहेका ओमानका विदेशमन्त्री बदर अल्बुसैदीले हिजो मात्रै वासिङ्टनमा अमेरिकी अधिकारीहरूसँग भेट गर्नुभएको थियो। यो भेटलाई सम्भावित आक्रमण रोक्ने अन्तिम प्रयासका रूपमा हेरिएको थियो।

सीबीएस न्यूज (CBS News) सँगको अन्तर्वार्तामा अल्बुसैदीले सम्झौता "हाम्रो पहुँचभित्रै" रहेको र वार्तामा "ठूलो प्रगति" भएको बताउनुभएको थियो। उनले वार्ताका लागि थप समय मागेका थिए। इरानको प्रस्तावबारे पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले इरानले फेरि कहिल्यै संवर्धित युरेनियम भण्डारण नगर्ने, हालको भण्डारलाई स्थायी रूपमा घटाउने र IAEA द्वारा प्रमाणीकरण गराउने प्रतिबद्धता जनाएको उल्लेख गरेका थिए।

अल्बुसैदीले यो प्रस्ताव सन् २०१५ को ओबामा प्रशासनको समयमा भएको सम्झौता (JCPOA) भन्दा पनि राम्रो भएको दाबी गर्नुभएको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिकालाई अलग गर्नुभएको थियो।

वार्ताअघि इरानले आफ्नो ब्यालेस्टिक मिसाइल कार्यक्रम र क्षेत्रीय समूहहरूलाई दिँदै आएको समर्थनबारे छलफल गर्न अस्वीकार गरेको थियो। तर, ओमानका विदेशमन्त्रीका अनुसार इरान "सबै विषयमा छलफल गर्न तयार" थियो र गैर-आणविक मुद्दाहरूलाई छिमेकी राष्ट्रहरूसँग छुट्टै छलफल गर्न सकिने बताएको थियो।


For Add Product Review. You Need To Login First Login Page