Search News
संखुवासभामा सिमेन्ट बोकेको ट्रकगुड्दन बेलिब्रिज भाँचियो, चालक गम्भीर घाइते
- Saturday Feb 28 2026
- | 1560 Read
Share News

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकास्थित अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएर ट्रक दुर्घटना भएको छ । शनिबार बिहान करिब ९ बजे सिमेन्ट बोकेको लोवेट ट्रक तार्ने क्रममा पुल भाँचिएको हो । पुलसँगै प्रदेश–०३–००१ क २९२० नम्बरको ट्रक नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक डीएसपी कुमार प्रसाद मैनालीका अनुसार, अत्यधिक भार भएका कारण हेभी सवारी साधन तार्ने क्रममा पुल भाँचिएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा परी ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्र नुममा प्रारम्भिक उपचार गरिएको छ । उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको ट्रक कासुवा हाइड्रोपावरको निर्माण सामग्री बोकेर सेदुवातर्फ जाँदै थियो ।
मकालु गाउँपालिकाको वडा नम्बर ५ नुम र वडा नम्बर २ सेदुवा जोड्ने यो पुल भाँचिएसँगै नुम–सेदुवा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पुल भत्किएपछि स्थानीय बासिन्दाको आवतजावत, पर्यटकको आवागमन र दैनिक उपभोग्य वस्तुको ढुवानी ठप्प भएको छ ।
प्रहरीका अनुसार हाल अवरुद्ध सडक सञ्चालनका लागि पुल मर्मत गर्ने वा वैकल्पिक मार्गको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

For Add Product Review. You Need To Login First Login Page
















