Saturday 18-04-2026

म भित्रको 'म'

Satyapana
  • Wednesday Feb 25 2026
  • | 5233 Read

Share News

म भित्रको 'म'

            ✍️ हरिकृष्ण पाण्डे 

           📌 मिति ;  २०८२-११-१३ 

 

 प्रकृतिलाई होस् वा संसारका हरेक वस्तुलाई 

आ–आफ्नो गन्तव्यमा पुग्ने हतार हुन्छ होला,

 खोलालाई समुद्रसँगको अन्तिम मिलन,

 भारी बोक्ने भरियालाई अन्तिम चौतारी,

 रुखलाई आफ्नो  उचाइको शिखरसम्म पुग्ने चाहना !

  तर म ?

मेरो हरेक बिहान एउटै प्रश्नले मन र मस्तिष्कबीच द्वन्द्व गराउँछ,

 म के गरिरहेको छु ?

 कहाँ गइरहेको छु?

 किन गइरहेको छु? 

 मेरो परिचय के हो ? 

मेरो अस्तित्व के हो? 

 मेरो गन्तव्य कहाँ हो ? 

 के मेरो उद्देश्य घर बनाउनु थियो ? कार चढ्नु थियो?  धेरै पैसा कमाउनु थियो ?

दिमाग भन्छ - हो, तेरो लक्ष्य यही थियो, अब तँ  खुसी हुनुपर्छ।


तर म भित्रको “म” भने 

अलिकति पनि खुसी छैन।

 दिमागले भनेको कुरा मनले स्वीकार्दैन। 

मन भन्छ - गलत छस, दिमाग सन्तुष्ट होला, तर मन दुःखी छ।

मानिसको अस्तित्व र पहिचान कति महत्त्वपूर्ण हुन्छ ?

 सायद त्यो उनीहरूलाई बढी थाहा हुन्छ , 

जो आफ्नो गुमेको पहिचान र अस्तित्वको खोजीमा वर्षौंदेखि संघर्ष गरिरहेका छन्।

विदेशमा बाटोघाटो, चिल्ला र फराकिला छन्,

 तर मेरो मन भने अझै त्यही धुलाम्य, 

हिलोम्य कच्ची बाटोमै अडिएको छ,

भक्तपुर सल्लाघारी हुँदै बीपी राजमार्ग पार गरेर रामेछाप जाने बाटोमा।

 यहाँको चिल्लो कारको सुगन्ध भन्दा

 त्यही गनाउने अरनिको बसको गन्ध नै

 किन सुगन्ध लाग्छ ? 

सायद परदेशी भएकै कारण हो। 

यहाँको स्वच्छ बग्ने स्वान रिभर  र हरियालीले ढाकिएको लेसमुर्दी जंगल पार्कभन्दा, 

दूषित नै किन नहोस - बाग्मती, विष्णुमती र मेरो घरमुनि बग्ने सानो खोला नै प्रिय लाग्छ।

नयाँ घर,

 कार, 

हातमा आइफोन, 

महिनामा दुई/ढाई लाख कमाइ,

तर मन भने रत्तीभर खुसी छैन,

 सायद शरीरका अङ्गहरूले यी विलासी वस्तुहरूको स्पर्श महसुस गरे पनि मनले तिनीहरूलाई स्वीकार गर्न नसकेको हुन सक्छ।

 मन र भौतिक वस्तुबीचको दूरी दिनानुदिन बढ्दै गएको महसुस हुन्छ,

 परदेशी जीवन - अस्तित्वविहीन,

 परिचयविहीन।

 न कसैलाई तपाईंको बारेमा सोध्ने फुर्सद,

 न जान्ने चासो,

 मानौँ तपाईं केवल एउटा मेसिन हो, जो निरन्तर गतिमा चलिरहनुपर्छ।

गाउँघर, 

भन्ज्याङ,

 चौतारी,

 डाँडापाखा,

 झरना,

 खोला - यी शब्द सुन्नेबित्तिकै मनमा अनौठो आनन्द जाग्छ।

 “ए जेठा, खाना खाइसक्यौ ? भोक लागेको होला,

  खाना खाएर जा,” भन्ने साइला बा र साइली आमाको आवाज।

 “रात परिसक्यो, आज यतै बस,” भन्ने फुपू र बेसीगाउँका हजुरबुवाको स्नेह।

 “घुर्कानमा साग र स्कुस फलेको छ, टिपिदिन्छु लिएर जा,” भन्ने डाँडागाउँका लामा बाजेको माया,

 अहिलेका पुस्तालाई यी शब्द अनौठा लाग्न सक्छन्, तर मेरो परिचय र अस्तित्व त्यही शब्दहरूमा भेटिन्छ।

“बाबु, कति बेला आउँछस ?  भात सेलाइसक्यो,

 तरकारी नमिठो भए दहीसँग खा, 

नत्र अन्डा बनाइदिन्छु,” भन्ने आमाको बोली र माया वर्णन गर्न सकिँदैन।

 सायद हरेक परदेशीले त्यो अभाव गहिरोसँग महसुस गरेको हुन्छ।

 वास्तवमा, मेरो परिचय, मेरो समाज र मेरो मनले खोजेको न्याय पनि त्यहीँ थियो।

गाउँघरमा एसी नचाहिने, न हिटर,

तर विदेशमा एसी र हिटरको बिल तिर्न पसिना बगाउनु परेको छ।

 आफ्नै घर रित्तो छ, गाउँ रित्तो छ,

 परदेशमा हप्तैपिच्छे भाडा तिर्न दौडधूप गर्नुपरेको छ।

 विडम्बना के भने—पहिले गाउँमा

 बत्ती,

 बिजुली, 

सडक थिएन, तर 

मानिस थिए, 

परिवार थियो, 

खुसी थियो। अहिले सुविधा छन्, तर गाउँ रित्तो छ, मन रित्तो छ।

गाउँ छोडेर सहर पस्यौँ, 

सहर छोडेर विदेश आयौँ,

तर मन कहिल्यै सन्तुष्ट भएन।

 फलानाको छोरा–छोरी विदेशमा पढ्छन् रे,

 त्यहाँको शिक्षा राम्रो हुन्छ रे,

 तर आफ्नो देश, परिवेश, भौगोलिक र सामाजिक सन्दर्भअनुसार,

 जुनै देशको शिक्षा पनि उत्तिकै महत्त्वपूर्ण र सान्दर्भिक हुन्छ।

छोरा–छोरी पढायौँ, हुर्कायौँ,

छोरा एकातिर, 

छोरी अर्कोतिर,

 के संस्कार ? के संस्कृति ? अस्सी वर्षका वृद्धवृद्धा सकी–नसकी काम गरिरहेका देख्छु।

 न छोराले पाल्ने आश, 

न छोरीले।

 “केयर होम”मा बुवा–आमा,

 अनि हामी धर्म,

 पूजा, 

आरती

 र संस्कारको कुरा गर्छौँ—कस्तो विडम्बना !

समयसँगै हिँड्ने बहानामा हामीले आफ्नो वास्तविक जीवन जिउनै बिर्सियौँ जस्तो लाग्छ।

 यदि भौतिक सुख–सुविधाले मात्रै मानिसलाई खुसी बनाउने भए,

 हाम्रा बाजे–बज्यैको पालामा कहिल्यै नसुनेको आत्महत्याको संख्या आज किन दिनहुँ बढ्दो छ ?

सायद प्रश्न भौतिक उपलब्धिको होइन -मनको सन्तुष्टिको हो।
सायद समस्या सुविधा नभएको होइन- आफ्नोपन हराएको हो।
र सायद, मेरो खोज अझै जारी छ - मभित्रको “म” खोज्ने यात्रामा।


For Add Product Review. You Need To Login First Login Page