Search News
पृथ्वी जयन्तीको अवसरमा गान्धी आश्रममा अन्तरसांस्कृतिक सहिष्णुता गोष्ठी
- Monday Jan 12 2026
- | 2442 Read
Share News

काठमाडौं। पृथ्वी जयन्तीका अवसरमा काठमाडौंस्थित गान्धी आश्रममा “शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता” विषयक अन्तर्क्रियात्मक गोष्ठी सम्पन्न भएको छ। गोष्ठी बाइसे–चौबिसे राज्यहरू एकीकरण गर्दै आधुनिक नेपालको आधार निर्माण गरेका बडामहाराज पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै आयोजना गरिएको हो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीका कोषाध्यक्ष केशवप्रसाद चौलागाईंले पुनः स्वराज्य, शान्ति र मेलमिलापका लागि निरन्तर प्रयास आवश्यक रहेको बताए। उनले राज्य पुनर्संरचनाको समयमा जातीय राज्यको माग तीव्र बन्दा द्वन्द्वको सम्भावना देखिएकाले त्यसलाई रोक्न वौदिक पहलमार्फत तीनवटा गोष्ठी आयोजना गरिएको जानकारी दिए।
संविधान निर्माणपछि गठन भएका आदिवासी–जनजाति आयोग तथा राष्ट्रिय समावेशी आयोगहरूले पनि यिनै विषयमा अध्ययन गरिरहेको उल्लेख गर्दै, जातीय, भाषिक, भौगोलिक र धार्मिक सवाल जस्ताको तस्तै रहँदा भविष्यमा पुनः द्वन्द्व उत्पन्न हुन सक्ने चेतावनी दिइयो।
गोष्ठीमा जेन–जी पुस्ताले सञ्चालन गरेका आन्दोलन र त्यसका परिणामबारे पनि चर्चा गरिएको थियो। अहिंसामार्फत सामाजिक परिवर्तन सम्भव हुने भएकाले त्यस दिशामा संस्थागत पहल आवश्यक रहेको सहभागीहरूको धारणा थियो।
नेशनल इन्स्टिच्युट अफ इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेज्मेन्टका कार्यक्रम निर्देशक विवेक ध्वज थापाले पृथ्वीनारायण शाहले २२ वर्षकै उमेरमा नुवाकोट विजय गरेको उदाहरण प्रस्तुत गर्दै, लक्ष्यप्रति दृढता र हार नमान्ने भावनाबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताए।
डा. लक्ष्मीप्रसाद खतिवडा, पत्रकार दामोदर न्यौपाने, इन्द्र श्रेष्ठ र तेजेन्द्र प्रसाईंले शिक्षा प्रणालीमा अहिंसा र नैतिक मूल्यलाई समेटेर पठनपाठन गरिनुपर्नेमा जोड दिए। साहित्यकार महेश प्रसाईं, संस्कृत भाषाविद् तथा पूर्व डीआईजी श्याम नेपाल र संस्कृति विद् घनश्याम कोइरालाले गान्धी र तुलसी मेहर श्रेष्ठको योगदानलाई संस्कृतिसँग जोडेर जीवन्त बनाउने अभ्यास आवश्यक रहेको धारणा राखे।
विश्व हिन्दु परिषद नेपालका नगर संयोजक तथा पूर्व प्रहरी उपरीक्षक टंक भट्टराईले धार्मिक चेतना अभिवृद्धिका लागि गान्धी–तुलसीको योगदान व्यापक रूपमा प्रचार गर्नुपर्ने बताए।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष उदय मोहन श्रेष्ठले गरेका थिए। उनले नेपालका गान्धीका रूपमा सम्मानित तुलसी मेहर श्रेष्ठले स्थापना गरेको ऐतिहासिक संस्थाको भूमिकालाई स्मरण गर्दै, भारत निर्वासनका क्रममा महात्मा गान्धीसँग सँगै बसेर सिकेका मूल्य र आदर्शलाई व्यवहारमा उतार्न सबैको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत प्रेम लामिछानेले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन मुख्य गुठियार विष्णुप्रसाद दुलालले गरेका थिए।
नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठी, काडाघारीको आयोजनामा भएको उक्त गोष्ठीमा शैक्षिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिहरूको सहभागिता रहेको थियो।

For Add Product Review. You Need To Login First Login Page
















