न सासको खबर, न लासको पत्तो : पीडा र पर्खाइको दोसाँधमा छट्पटाउँदै बाढी पीडित
Satyapana
Tuesday Sep 01 2026
|
844
Read
Share News
न सासको खबर, न लासको पत्तो : पीडा र पर्खाइको दोसाँधमा छट्पटाउँदै बाढी पीडित
१६ भदौ, २०८३ मंगलबार। रसुवामा उर्लिएको विनाशकारी बाढीले ढुङ्गा, माटो, सडक र पक्की पुल मात्रै बगाएन; सयौँ परिवारका सपना, सहारा र सिङ्गो जीवन नै एकैपटक भत्काइदियो। उर्लिएको लेदो र भेलसँगै कयौँका आफ्ना मान्छे बेपत्ता भए भने कैयौँ परिवार सधैँका लागि छिन्नभिन्न भए। विपत्ति आएको दिन बित्दै जाँदा पनि नदीको तिरतिरै आफन्तको खोजीमा भौँतारिरहेका आँखा अझै ओभानो हुन सकेका छैनन्। न सासको खबर छ, न दागबत्ती दिने लास नै भेटिएको छ। बाढीले उजाडेका बस्तीहरू अहिले कहालीलाग्दो सन्नाटा, गहिरो पीडा र अनिश्चित पर्खाइको दोसाँधमा छट्पटाइरहेका छन्।
उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय कुलबहादुर तामाङको कथा सम्झिँदा जो-कसैको पनि मुटु चसक्क हुन्छ। भदौ १० गते बिहान सबेरै साढे पाँच बजेतिर उनी आफ्नी ३५ वर्षीया श्रीमती र चार कलिला छोरीहरूलाई घरमै छाडेर ज्याला–मजदुरी (मिस्त्री काम) का लागि नदीपारिको गाउँतर्फ लागेका थिए। घरबाट निस्किएको तीन घण्टा पनि बित्न नपाउँदै भोटेकोशीमा प्रलयकारी बाढी उर्लियो। पहाड थर्काउँदै नदी गाउँ पसेको देख्नासाथ कुलबहादुरले आत्तिँदै घरमा श्रीमतीलाई फोन गरे।
‘माथिबाट ठूलो बाढी आयो, भाग... छिटो भाग !’ भन्दै उनले गुहार मागे। तर, जोगिनका लागि पाखातिर दौडिन आग्रह गर्दागर्दै फोनको सम्पर्क टुट्यो। त्यसपछि कुलबहादुरका लागि समय नै रोकिएझैँ भयो। १२ वर्ष, ९ वर्ष, ६ वर्ष र आठ महिनाकी काखे छोरीसहित उनकी श्रीमती कहाँ पुगिन्, अहिलेसम्म अत्तोपत्तो छैन। आइतबार मात्रै नेपाली सेनाको हवाई उद्धारमार्फत नुवाकोट ल्याइएका कुलबहादुर अहिले शून्य आँखाले परिवारको सम्झना र उजाड भविष्यलाई हेरिरहेका छन्।
कुलबहादुर तामाङ बाढीपीडित –“मैले फोन गरेर भाग, भाग, भाग भनेँ। माथिबाट बाढी आयो, सबैजना पाखातिर भाग भनेर भन्दाभन्दै त्यही बेलामा फोन काटियो। त्यसपछि सम्पर्क नै भएन। अब यतैतिर खोजतलास गरौँ, लास भेटियो भने पनि केही गर्नुपर्ला भन्ने छ।”
कुलबहादुरको पीडा यतिमै रोकिँदैन। बाढीको विनाशलीलामा उनकी ३० वर्षीया बहिनी सरिता तामाङ पनि गम्भीर घाइते भइन्। हाल उद्धारपछि अस्थायी होल्डिङ सेन्टरमा रहेकी सरिताका लागि त्यो कालो बिहानी जीवनकै सबैभन्दा डरलाग्दो ऐँठन बनेको छ। घरमा भएका अन्नपात, लत्ताकपडा, नगद वा कुनै व्यक्तिगत कागजात जोगाउने त परको कुरा, ज्यान जोगाउनकै लागि उनीहरूले कालसँग सम्झौता गर्दै नाङ्गो खुट्टा दौडिनुपर्यो।
घाइते बाढीपीडित – सरिता तामाङ
“सबै कुरा बग्यो। भाँडाकुँडा, पैसा, केही पनि निकाल्न सकिएन। म बाँचेँ, परिवार बाँच्यो। सासूलाई पनि बोकेर, तानेर भाग्दाभाग्दै खुट्टामा चोट लाग्यो। परिवारका बच्चाहरूलाई चाहिँ तल झार्न सफल भयौँ, तर सामान केही पनि बचेन।”
बाढीबाट जोगिएका धेरैका लागि अहिले आफू जिउँदै हुनु नै एउटा ठूलो आश्चर्य बनेको छ। शरीरमा लगाएको एकसरो कपडाबाहेक उनीहरूसँग केही बाँकी छैन। कसैले दिएको राहतको कपडा र खानाकै भरमा उनीहरूको दैनिकी बितिरहेको छ।
बेत्रावतीकी हिमला नगरकोटीको छातीमा त झन् कहिल्यै नपुरिने घाउ लागेको छ। बाढीको त्यो डरलाग्दो छालले उनको आँखाअगाडि नै परिवारका आठ जना सदस्यलाई एकै चिहान बनायो। आफ्ना दुई भाउजू, कान्छा दाइकी श्रीमती र तीन छोरा, जेठा दाइकी श्रीमती र छोराछोरी सबैलाई भेलले एकैपटक खोसेर लग्यो। आफन्तको वियोगले थिचिएकी हिमला अहिले आश्रयस्थलको कुनामा टोलाएर हराएकाहरूको खबर कुरिरहेकी छन्।
पीडित – हिमला नगरकोटी
“हामीले आफ्ना दुई जना भाउजू, कान्छा दाइकी श्रीमती र तीन जना छोरा, अनि जेठा दाइकी श्रीमती र छोराछोरी गरी आठ जनालाई गुमायौँ। सबै मान्छेले यस्तै गुमाउनुपर्यो। घरविहीन हुनुपर्यो, सबै कुरा बाढीले लग्यो। दौडिन सक्नेहरू त दौडियौँ, तर त्यो भयानक क्षण सम्झिँदा अहिले पनि मुटु काँप्छ।”
अस्थायी आश्रयस्थलमा भविष्यको अन्योल
विपद्पछि विस्थापित बनेका सयौँ नागरिकलाई नुवाकोटको विदुरस्थित क्रियापुत्री भवन, स्वास्थ्य चौकी, सेफ हाउस र योगा भवनहरूमा अस्थायी आश्रय दिएर राखिएको छ। स्थानीय प्रशासन र विभिन्न सहयोगी हातहरूले खाने र बस्ने तत्कालको व्यवस्था त मिलाइदिएका छन्, तर पीडितहरूको मन भने भोलिको अन्योलले पिरोलिएको छ।
ओत लाग्ने घर छैन, खेतीपाती गर्ने जमिन बगर बन्यो, विद्यालयहरू बाढीले पुरेको छ र परिवार पाल्ने कमाइको आधार सखाप भएको छ। विशेषगरी बालबालिकाको पढाइ, मानसिक त्रास र आगामी दिन कसरी सुरु गर्ने भन्ने चिन्ताले अभिभावकहरूलाई निदाउन दिएको छैन।
बाढीपीडित-
“दुई जना बच्चा थिए, पारि स्कुल पठाएको थिएँ। बाढी आउँदा घरमा दुई जना मात्रै थियौँ। दाइले मलाई पनि ‘भाग, भाग’ भनेर खोलाबाट तान्नुभयो र बाँचियो। त्यसपछि जसरी सकिन्छ भाग्यौँ।
शिविरमा स्वास्थ्य सङ्कटको जोखिम
विस्थापितहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले आश्रयस्थलमै अस्थायी स्वास्थ्य युनिट खडा गरी स्वास्थ्य परीक्षण र उपचार सुरु गरेको छ। विपद्को त्रास, फोहोर पानी र मौसम परिवर्तनका कारण शिविरमा स्वास्थ्य समस्याहरू देखिन थालेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार हाल शिविरमा सामान्य रुघाखोकी, उच्च ज्वरो र भग्नावशेषमा आफ्ना सामान खोज्ने क्रममा चोटपटक लागेका घाइतेहरूको सङ्ख्या धेरै छ। यसका साथै दूषित पानीका कारण केहीमा झाडापखालाको लक्षण देखिन थालेको छ भने बालबालिकाहरूमा 'ह्यान्ड–फुट–माउथ डिजिज' को सङ्क्रमण फैलिन थालेको छ, जसले शिविरमा थप स्वास्थ्य जोखिमको सङ्केत गरेको छ।
स्वास्थ्यकर्मी-
“अहिले शिविरमा रुघाखोकी, ज्वरो र बाढीको लेदोमा पुरिएका सामान खोज्दा चोटपटक लागेका बिरामीहरू बढी आउनुभएको छ। फोहोर पानीका कारण झाडापखालाको समस्या र बालबालिकामा ह्यान्ड–फुट–माउथ डिजिज देखिन थालेको छ। हामीले आवश्यक औषधि र परामर्श दिइरहेका छौँ।”