Saturday 12-09-2026

रामेछापका रास्वपा समर्थक भगवान कार्की प्रहरीको नियन्त्रणमा

Logo
Satyapana
  • Sunday Aug 30 2026
  • | 1624 Read

Share News

रामेछापका रास्वपा समर्थक भगवान कार्की प्रहरीको नियन्त्रणमा

१४ भदौ, २०८३ आइतबार । रामेछापका भगवान कार्कीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । गोकुलगंगा गाउँपालिका वडा नं.२, ठोसे निवासी ३२ वर्षीय भगवान कार्कीले  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा सामाजिक सञ्जालमार्फत भ्रम सिर्जना गरी ठगी धन्दा चलाएको आरोपमा रामेछाप प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गत २०८३ भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित भएकाहरूको उद्धार तथा राहत संकलनका लागि सरकारले जारी गरेको कोषको दुरुपयोग गर्दै कार्कीले ठगी प्रयास गरेका थिए।

कार्कीले आफूले कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउन आर्टिफिसियल इन्टेलिजेन्स (Chat GPT) को प्रयोग गरी नक्कली बैंक/ईसेवा ट्रान्जिक्सन स्टेटमेन्ट तयार गरेका थिए। उक्त नक्कली स्टेटमेन्टसँगै आफ्नै व्यक्तिगत क्युआर (QR) कोड राखेर सामाजिक सञ्जालमा पोस्ट गरी सर्वसाधारणलाई भ्रममा पारी रकम संकलन गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मन्थली, रामेछापले मिति २०८३ भदौ १४ गते प्रेस विज्ञप्ति जारी गर्दै कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ। 

पक्राउ परेका कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक हुन्। सामाजिक सञ्जालमा रास्वपाको चुनावी चिन्ह 'घण्टी' सहित पार्टीका विभिन्न गतिविधि प्रचार-प्रसार गर्दै आएका उनी आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आन्तरिक तयारीमा समेत सक्रिय रहेको बुझिएको छ। कार्कीले सामाजिक सञ्जाल फेसबुकमा ‘सरकारलाई आलोचना गर्नुभन्दा विपत्तिमा हातेमालो गरौँ’ भन्दै भावनात्मक सन्देशसहित उक्त नक्कली स्टेटमेन्ट पोस्ट गरेका थिए। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विवरणसँगै आफ्नै व्यक्तिगत क्युआर (QR) कोड समेत राखेर सर्वसाधारणलाई भ्रममा पारी रकम उठाउने प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय मन्थलीका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार नक्कली डिजिटल विवरण बनाएर ठगी धन्दा चलाएको सूचना पाएपछि कार्कीलाई नियन्त्रणमा लिइएको हो। घटनाका सम्बन्धमा आवश्यक प्रमाण जुटाई थप कानुनी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


For Add Product Review. You Need To Login First Login Page