Search News
बाढीपीडितलाई अर्थमन्त्रीको भरोसा : स्रोतको कुनै कमी हुँदैन
- Sunday Aug 30 2026
- | 960 Read
Share News

१४ भदौ, २०८३ आइतबार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर आइपुग्नुभएका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘राहत तथा उद्धार कमान्ड पोस्ट’ पुगेर भइरहेका उद्धार तथा राहत वितरणसम्बन्धी कामकारबाहीबारे जानकारी लिनुभयो।सो क्रममा उद्धार कार्यको नेतृत्व गरिरहनुभएका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीपीडितको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा भइरहेको जानकारी दिनुभयो। उहाँले बेपत्ता भएका नागरिकहरूको जीवितै उद्धारलाई पहिलो प्राथमिकतामा राखेर बुधबारदेखि नै काम भइरहेको र शनिबारसम्म आइपुग्दा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारलाई उच्च प्राथमिकता दिइएको बताउनुभयो।
उद्धारका साथसाथै विस्थापितहरूका लागि अस्थायी बसोबास, खाद्यान्नलगायत अन्य आवश्यक राहत वितरणमा केन्द्रबाट काम भइरहेको जानकारी दिँदै उपरथी थापाले बाढीग्रस्त क्षेत्रमा तत्काल ‘बेलीब्रिज’ आवश्यक रहेको औँल्याउनुभयो।अर्थमन्त्री डा. वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारका तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कुनै पनि साधनस्रोतको अभाव महसुस नगर्न र आवश्यक सहयोगका लागि निर्धक्क भएर समयमै जानकारी गराउन नेपाली सेना तथा सुरक्षा निकायलाई आग्रह गर्नुभयो।
त्यसपछि अर्थमन्त्री वाग्लेले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन एवम् वितरण केन्द्रको निरीक्षण गर्नुभयो। निरीक्षणलगत्तै उहाँले सेनाको उद्धार केन्द्रमा आफन्तजन खोज्दै पुगेका पीडित परिवारहरूसँग भेट गरी उहाँहरूका गुनासो र समस्या सुन्नुभयो।नुवाकोट र रसुवाका विभिन्न जलविद्युत् आयोजनामा आफ्ना परिवारका सदस्यहरू फसेको भन्दै उद्धारका लागि आफन्तहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सो क्रममा अर्थमन्त्रीले नेपाली सेनाको ब्रिफिङ उद्धृत गर्दै सुरुङमा फसेका नागरिकहरूको उद्धार उच्च प्राथमिकतामा रहेको जानकारी दिनुभयो र सुरक्षाकर्मीहरूको प्रयासमाथि पूर्ण विश्वास राख्न परिवारजनलाई आग्रह गर्नुभयो।
त्यसलगत्तै अर्थमन्त्री वाग्ले बाढीले क्षति पुर्याएको ढुङ्गे बजार पुग्नुभयो। त्यहाँ भइरहेको उद्धार कार्यको अवलोकन गर्दै उहाँले पीडित परिवारहरूसँग क्षतिको अवस्था र सरकारले चाल्नुपर्ने कदमबारे प्रत्यक्ष कुराकानी गर्नुभयो।तत्पश्चात् उहाँ बाढीले क्षतिग्रस्त बनेको ऐतिहासिक देवीघाट बजार पुग्नुभयो। त्यहाँ पुगेर उहाँले पुगेको क्षतिको अवलोकन गर्दै पीडामा रहेका स्थानीय बासिन्दाहरूलाई भेटेर सरकार सधैँ साथमा रहेको ढाडस दिनुभयो। सरकारले बेपत्ताको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा कुनै कसर बाँकी नराख्ने र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो।
त्यसपछि अर्थमन्त्रीले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको अवलोकन गर्नुभयो। साथै, तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र र चन्द्रज्योति स्कुलमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’ पुगेर देवीघाट बजारबाट उद्धार गरिएका स्थानीयहरूसँग भेटघाट गरी उहाँहरूको समस्या र स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो।बाढीको भेलबाट जीवितै उद्धार गरिएका स्थानीयहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अर्थमन्त्री वाग्लेले सरकारले उचित पुनर्स्थापनाको व्यवस्था गर्ने बताउनुभयो। सोही अवसरमा उहाँले उपचारमा खटिएको सशस्त्र प्रहरी बलको चिकित्सक टोलीसँग पनि भेट गरी स्वास्थ्य सामग्री तथा स्रोतसाधनको अवस्थाबारे जानकारी लिनुभयो।
यसपछि अर्थमन्त्री डा. वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाको समन्वयका लागि छलफल गर्नुभयो। जिल्ला समन्वय समितिको हलमा आयोजित छलफलमा अर्थमन्त्रीले केन्द्र सरकारबाट कुनै पनि प्रकारको स्रोतको अभाव हुन नदिने स्पष्ट पार्दै विपद्पछिको प्रतिकार्यमा सबै पक्ष एकजुट भएर लाग्न आह्वान गर्नुभयो। बजेट तथा स्रोतको अभाव हुन्छ कि भनेर चिन्ता नलिन आग्रह गर्दै उहाँले नागरिकलाई विपद्मा कुनै पनि कुराको कमी हुन नदिने गरी काम गर्न निर्देशन दिनुभयो।
दिनभरिको स्थलगत निरीक्षणपछि उहाँ नेपाली सेनाको विदुरस्थित कमान्ड सेन्टर पुग्नुभयो, जहाँ दिनभरका उद्धार, राहत र पुनर्स्थापना कार्यको अन्तिम सुरक्षा ब्रिफिङ भएको थियो। सो क्रममा विपद्पछिको उद्धारमा खटिनुभएका गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिना र नेपाली सेनाका उच्च अधिकारीहरू सहभागी ब्रिफिङ सम्पन्न भएको थियो। ब्रिफिङअनुसार हाल जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ भने नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव सङ्कलन तथा राहत वितरण कार्यलाई तीव्रता दिएको छ।

For Add Product Review. You Need To Login First Login Page

















