Search News
विदेशी नागरिकको खोजीका लागि सरकारले के गर्दै छ?
- Sunday Aug 30 2026
- | 845 Read
Share News

१४ भदौ, २०८३ आइतबार । नेपालमा बाढी तथा पहिरोपछि हराइरहेका विदेशी नागरिकको खोजी तथा परिवारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयले इमर्जेन्सी कन्ट्रोल रुम स्थापना गरेको छ।
मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेलका अनुसार कन्ट्रोल रुममा हटलाइन, ह्वाट्सएप र इमेलमार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। सम्बन्धित देशका दूतावास तथा नेपालका विभिन्न सरकारी निकायसँग समन्वय गरी हराइरहेका विदेशी नागरिकको खोजी तथा आवश्यक सूचना संकलन भइरहेको मन्त्रालयले जनाएको छ।
नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित निकायसँगको समन्वयमा तयार गरिएको पछिल्लो सूचीअनुसार करिब ५०० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्। हालसम्म १२६ जना विदेशी नागरिक फेला परिसकेको मन्त्रालयले जनाएको छ।
फेला परेका विदेशी नागरिकबारे कतिपय परिवारले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाटै जानकारी पाइसकेको र कतिपयलाई आधिकारिक रूपमा सूचना दिने तथा आवश्यक समन्वय गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार हालको मुख्य प्राथमिकता विदेशी नागरिकको अवस्था पहिचान, उनीहरू रहेको सम्भावित क्षेत्रको जानकारी संकलन तथा खोज तथा उद्धार कार्यमा समन्वय गर्नु हो।
यसैबीच, बाढी तथा पहिरोबाट सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा ठूलो क्षति भएकाले आवश्यकताको मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ। मूल्यांकनपछि पुनर्स्थापना तथा पुनर्निर्माणका लागि थप स्रोत आवश्यक परे मित्रराष्ट्रबाट सहयोग लिन सकिने मन्त्रालयको भनाइ छ।
विभिन्न मित्रराष्ट्रले सहयोगको प्रतिबद्धता जनाइसकेको भए पनि अहिले सरकारको मुख्य ध्यान खोज तथा उद्धारमै केन्द्रित रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले विपद्को प्रभाव निश्चित क्षेत्रमा मात्र रहेको भन्दै नेपालका अधिकांश पर्यटकीय क्षेत्र खुला रहेको जनाएको छ। नेपालभर नै विपद्को अवस्था रहेको भन्ने अपुष्ट सूचना प्रवाह नगर्न आग्रह गर्दै मन्त्रालयले पर्यटकलाई नेपाल भ्रमणका लागि स्वागत गर्न देश तयार रहेको बताएको छ।

For Add Product Review. You Need To Login First Login Page

















