Saturday 12-09-2026

रामेछापका सम्पर्कविहीन २९ मध्ये १३ जना सम्पर्कमा, बाँकीको खोजी तथा विवरण प्रमाणीकरण जारी

Logo
Satyapana
  • Thursday Aug 27 2026
  • | 1460 Read

Share News

रामेछापका सम्पर्कविहीन २९ मध्ये १३ जना सम्पर्कमा, बाँकीको खोजी तथा विवरण प्रमाणीकरण जारी

११ भदौ, २०८३  बिहीबार। रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढी तथा प्राकृतिक विपद्पछि सम्पर्कविहीन भएका भनिएका रामेछाप स्थायी ठेगाना भएका २९ जना नागरिकहरूमध्ये १३ जना सम्पर्कमा आएका छन्। बाँकी १६ जनाको अवस्थाबारे खोजी तथा विवरण प्रमाणीकरण (भेरिफिकेसन) गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।यसअघि जिल्ला प्रहरी कार्यालय रामेछापले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत बाढीपछि सम्पर्कविहीन भएका रामेछापका नागरिकहरूको नामावली र हुलियासहितको विवरण सार्वजनिक गरेको थियो। यद्यपि, तथ्याङ्क अद्यावधिक गर्ने क्रममा केही समयपछि उक्त पोस्ट पेजबाट हटाइएको थियो।यस विषयमा जिल्ला प्रहरी कार्यालय रामेछापमा बुझ्दा बाढी आएपछि सुरुमा जिल्लाका विभिन्न पालिकाका कुल २९ जना सम्पर्कविहीन भएको जानकारी आफन्तहरूबाट प्राप्त भएको प्रहरीले स्पष्ट पारेको छ। तीमध्ये हालसम्म १३ जना सकुशल परिवारको सम्पर्कमा आइसकेको पुष्टि भएको छ भने बाँकी नागरिकहरूको अवस्थाबारे सम्बन्धित जिल्लाको प्रहरी प्रशासनसँग समन्वय गरी खोजी तथा प्रमाणीकरण भइरहेको कार्यालयले जनाएको छ।

हाइड्रोपावरका मजदुरदेखि सवारी चालकलगायत सम्पर्कविहीन

प्रहरीमा प्राप्त प्रारम्भिक विवरण अनुसार सम्पर्कविहीनको सूचीमा मन्थली नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका तथा रामेछाप नगरपालिकाका बासिन्दाहरू रहेका छन्।हराइरहेका नागरिकहरूमध्ये अधिकांश रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजना (हाइड्रोपावर) मा कार्यरत मजदुर, बस, ट्रक तथा टिपर चालक, सहचालक र अन्य कामको सिलसिलामा त्यहाँ पुगेका सर्वसाधारणहरू रहेका छन्।

अन्तर-जिल्ला समन्वय र प्रहरीको अपिल

जिल्ला प्रहरी कार्यालय रामेछापले बाढी प्रभावित जिल्लाहरू (रसुवा, नुवाकोट) का सुरक्षा निकाय तथा विपद् उद्धार टोलीसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको बताएको छ।साथै, प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्त सम्पर्कमा आएमा वा उनीहरूको अवस्थाबारे थप कुनै सूचना प्राप्त भएमा तुरुन्त जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन प्रहरीले सर्वसाधारण तथा पीडित परिवारलाई अनुरोध गरेको छ।


For Add Product Review. You Need To Login First Login Page