Search News
बुकी फुलेपछि ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो
- Friday Aug 21 2026
- | 700 Read
Share News

५,भदौ शुक्रवार, २०८३। बागलुङको ढोरपाटन क्षेत्र यतिबेला रंगीचंगी बुकी फूलले ढकमक्क बनेपछि पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पाखा र समथर फाँटमा फुलेका फूलले ढोरपाटनको प्राकृतिक सौन्दर्य थप मनमोहक बनाएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो।

केही वर्षअघिसम्म स्थानीयस्तरमै सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यटनको आकर्षण बनेको छ। समथर पाटन, भिरालो पाखामा फुलेका रंगीचंगी फूल, चरण क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरका बथान र टाकुराबाट देखिने हिमाली दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।

बुकी हेर्न, फोटो तथा भिडियो खिच्न, सामाजिक सञ्जालमा सामग्री राख्न, म्युजिक भिडियो बनाउन र प्राकृतिक वातावरणमा रमाउन दैनिकजसो पर्यटक ढोरपाटन पुग्ने गरेका छन्।

पर्यटन व्यवसायी दिलचन पुनका अनुसार सिजनमा दैनिक ३ हजारदेखि ४ हजारसम्म पर्यटक बुकीपाटन घुम्न आउने गरेका छन्।

पर्यटकहरू पनि ढोरपाटनको प्राकृतिक सौन्दर्यले आफूहरूलाई आकर्षित गरेको बताउँछन्। रंगीचंगी फूलले भरिएका पाटन, शान्त वातावरण र चारैतिर देखिने प्राकृतिक दृश्य निकै रमणीय रहेको उनीहरूको भनाइ छ।

ढोरपाटनमा होटल तथा घरबासको सुविधा विस्तारसँगै सञ्चार र यातायातको सहज पहुँच पुर्याउन सके पर्यटकको संख्या अझ बढाउन सकिने स्थानीय पर्यटन व्यवसायीको अपेक्षा छ। वर्षायाममा मौसम छिनछिनमा परिवर्तन हुने, शीतल हावापानी र विभिन्न प्रजातिका फूलले पाटन रंगिने भएकाले ढोरपाटनको आकर्षण झनै बढेको छ।
लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्तीले ढोरपाटनको पर्यटन विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै सम्बन्धित जनप्रतिनिधिले विशेष चासो दिनुपर्ने बताउनुहुन्छ।

ढोरपाटन शिकार आरक्ष क्षेत्रसमेत समेटिएको यो क्षेत्र पछिल्लो समय सदाबहार पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। प्राकृतिक सौन्दर्यसँगै यहाँको पर्यटन पूर्वाधार विकासमा सबै क्षेत्रबाट सहयोग र पहल आवश्यक रहेको स्थानीयवासीको भनाइ छ।


For Add Product Review. You Need To Login First Login Page

















