Search News
डोजरे विकासले बढायो पहिरोको जोखिम
- Friday Aug 21 2026
- | 454 Read
Share News

५,भदौ, शुक्रवार, २०८३। गाउँगाउँमा सडक पुगे पनि सडक निर्माणसँगै पहिरोको जोखिम भने बढ्दै गएको छ। भौगोलिक तथा भूगर्भिक अध्ययनबिना विकासका नाममा जथाभावी सडक खन्दा पहाडी क्षेत्रका बस्ती र पूर्वाधार पहिरोको उच्च जोखिममा परेका छन्।डोजर चालकको अनुमानका भरमा पहाड काट्ने, माटो जथाभावी थुपार्ने र सडकबाट निस्कने पानीको उचित निकासको व्यवस्था नगर्ने प्रवृत्तिले प्राकृतिक भूबनोट कमजोर बनाउँदै लगेको विज्ञहरुको भनाइ छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख १ गतेदेखि भदौ ३ गतेसम्म देशभर ९९८ स्थानमा पहिरो गएको छ। पहिरोमा परी ६८ जनाको मृत्यु र ९१८ जना घाइते भएका छन् भने ९८० परिवार प्रभावित भएका छन्। गत वर्ष पनि पहिरोका कारण ६७ जनाले ज्यान गुमाएका थिए।वर्षेनी पहिरोका कारण जनधनको क्षति दोहोरिए पनि सुरक्षित सडक निर्माण र पहिरो रोकथामका उपायमा पर्याप्त ध्यान नदिइएको देखिन्छ। त्यसमाथि जलवायु परिवर्तनका कारण अतिवृष्टिजस्ता घटनाको जोखिम बढ्दै जाँदा पहाडी क्षेत्रमा पहिरोको जोखिम थप गम्भीर बनेको छ।विज्ञहरुका अनुसार सडक निर्माणअघि सबैभन्दा पहिले भौगर्भिक अध्ययन आवश्यक हुन्छ। सडक निर्माण हुने क्षेत्रमा चट्टान र माटोको अवस्था, भिरालोपन तथा जमिनको स्थायित्व अध्ययन गरेपछि मात्रै सडकको रेखांकन गर्नुपर्छ।

सडक खनिसकेपछि पानीको उचित निकासका लागि साइड ड्रेन, कल्भर्ट तथा क्रस ड्रेनको व्यवस्था गर्नुपर्ने हुन्छ। सडक काटेर बनाइएको भिरालो जमिनलाई स्थिर राख्न आवश्यकताअनुसार रिटेनिङ वाललगायतका इन्जिनियरिङ प्रविधि अपनाउनुपर्ने विज्ञहरुको सुझाव छ।स्थानीय जनप्रतिनिधिहरुसमेत जथाभावी डोजर प्रयोगले पहिरोको जोखिम बढाएको स्वीकार्छन्। तर स्थानीय तहमा दक्ष प्राविधिक जनशक्ति तथा आवश्यक विज्ञताको अभाव हुँदा सडक निर्माणअघि गरिनुपर्ने भौगोलिक अध्ययन प्रभावकारी हुन नसकेको उनीहरुको भनाइ छ।स्थानीय तहका जनप्रतिनिधिहरुका अनुसार सडक सञ्जाल विस्तारको जनचाहना र तत्काल विकास गर्नुपर्ने दबाबका कारण पनि स्थानीय सरकारमाथि सडक निर्माण अघि बढाउनुपर्ने बाध्यता छ। तर नेपालको कमजोर र भिरालो भूगोलमा विकास गर्दा सम्भावित जोखिमको पहिचान गरी त्यसअनुसार बजेट, जनशक्ति र प्रविधिको व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाइ छ।

पहाडी भूगोलका कारण प्राकृतिक पहिरो पूर्ण रुपमा रोक्न सम्भव नभए पनि योजनाबद्ध र सुरक्षित पूर्वाधार निर्माणबाट जोखिम भने उल्लेख्य रुपमा घटाउन सकिने विज्ञहरु बताउँछन्।उनीहरुले प्रमुख राजमार्गमा सम्भव भएसम्म सुरुङ मार्गको विकल्प अपनाउन, सडक निर्माणअघि अनिवार्य रुपमा भौगर्भिक अध्ययन गर्न तथा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न सुझाव दिएका छन्।विकासको गति बढाउने नाममा भूगोलको क्षमताभन्दा बाहिर गएर सडक खन्नुभन्दा ‘सडक पुगेपछि जोखिम नबढोस्’ भन्ने आधारमा पूर्वाधार निर्माण गर्ने नीति आवश्यक देखिएको छ।


For Add Product Review. You Need To Login First Login Page

















