Saturday 12-09-2026

धादिङमा सडक भासिँदा दर्जनौँ घर पहिरोको जोखिममा

Logo
Satyapana
  • Friday Aug 21 2026
  • | 699 Read

Share News

धादिङमा सडक भासिँदा दर्जनौँ घर पहिरोको जोखिममा

५,भदौ, शुक्रवार, २०८३। अविरल वर्षाका कारण धादिङ सदरमुकाम धादिङबेँसीदेखि काठमाडौं जोड्ने वैकल्पिक सडक अवरुद्ध भएको छ। धादिङबेँसी–सुनौला बजार–फोस्रेटार–गल्छी सडकखण्डअन्तर्गत नीलकण्ठ नगरपालिका–७ पिपलछापमा सडक भासिनुका साथै माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो।

वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिन थालेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ। सडक भासिएसँगै आसपासका दर्जनौँ घरसमेत पहिरोको जोखिममा परेका छन्।पिपलछापस्थित दलित बस्तीमा जमिन चिरिन थालेपछि स्थानीय त्रसित भएका छन्। जमिन थप भासिँदै गए माथिल्लो बस्तीका साथै तल्लो क्षेत्रमा रहेका बस्तीसमेत प्रभावित हुन सक्ने स्थानीयको चिन्ता छ।

यस्तै, नीलकण्ठ नगरपालिका–६ कुसुण्डे क्षेत्रमा पनि जमिन भासिने, चिरा पर्ने र ठूला खाल्डा देखिन थालेपछि बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन्। सो क्षेत्रमा पटक–पटक जमिन भासिने समस्या देखिँदै आएको भन्दै उनीहरुले तत्काल भौगर्भिक अध्ययन गरी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरेका छन्।स्थानीयका अनुसार सडकमा सामान्य क्षति देखिन थालेकै बेला मर्मत गरिएको भए अहिलेको जस्तो गम्भीर अवस्था आउने थिएन। सडकको नियमित मर्मतसम्भार र जोखिमयुक्त क्षेत्रको निगरानीमा स्थानीय तहले पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ।

सडक आसपासका घर तथा जमिनमा चिरा पर्न थालेपछि पानी पर्दा घर नै बगाउने हो कि भन्ने डरमा बस्नुपरेको स्थानीयको भनाइ छ। उनीहरुले पिपलछाप, कुसुण्डेलगायतका बस्तीलाई सुरक्षित बनाउन तत्काल प्राविधिक अध्ययन र आवश्यक रोकथामका काम अघि बढाउन माग गरेका छन्।सडक अवरुद्ध भएपछि नीलकण्ठ नगरपालिका–६ र ७ का स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्‍याउनसमेत समस्या भएको छ। बिरामी पर्दा सदरमुकाम पुग्न तथा दैनिक कामकाजका लागि आवतजावत गर्न समेत कठिनाइ भएको स्थानीयको गुनासो छ।सुनौला बजारतर्फ जाने वैकल्पिक सडकसमेत जीर्ण अवस्थामा रहेकाले समस्या थप जटिल बनेको स्थानीय बताउँछन्। उनीहरुले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन गर्न र जोखिममा रहेका बस्तीको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


 


For Add Product Review. You Need To Login First Login Page