Saturday 12-09-2026

भूकम्पको घाउ निको नहुँदै जाजरकोटमा दोहोरो विपत्ति

Logo
Satyapana
  • Friday Aug 21 2026
  • | 628 Read

Share News

भूकम्पको घाउ निको नहुँदै जाजरकोटमा दोहोरो विपत्ति

५,भदौ, शुक्रवार, २०८३। २०७९ सालको भूकम्पको घाउ निको नहुँदै जाजरकोटवासी फेरि दोहोरो विपत्तिमा परेका छन्। भूकम्पले चर्किएका डाँडा साउन ३० गतेको अविरल वर्षापछि पहिरो खस्दा भेरी नगरपालिका–१ का रिसाङ र स्याला गाउँ पहिरोको चपेटामा परेका हुन्।पहिरोमा परी रिसाङमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। भूकम्पपछि निर्माण गरिएका २५ वटा अस्थायी आवासमा समेत क्षति पुगेपछि १६८ घरधुरीका ८९३ जना विस्थापित भएका छन्। उनीहरु अहिले स्थानीय विद्यालयमा बनाइएका चारवटा अस्थायी शिविरमा आश्रय लिन बाध्य छन्।

पहिरोले घरबार र सम्पत्ति गुमाएपछि विस्थापितको अवस्था निकै दयनीय बनेको छ। कतिपय परिवारसँग शरीरमा लगाएको कपडाबाहेक अन्य सामानसमेत बाँकी नरहेको स्थानीय बताउँछन्। बस्ने घर बनाउन सुरक्षित जमिनसमेत नभएपछि उनीहरु तत्कालका लागि अस्थायी शिविरमै बस्न बाध्य छन्।शिविरमा सरसफाइको अभाव र दूषित खानेपानीका कारण विस्थापितमध्ये १०८ बालबालिकासहित अन्यमा रुघाखोकी र ज्वरोको समस्या देखिन थालेको छ। उनीहरुले तत्काल शुद्ध खानेपानी, औषधि तथा स्वास्थ्यकर्मीको व्यवस्था गर्न माग गरेका छन्।

जिल्ला अस्पतालमा लामो समयदेखि चिकित्सकको अभाव हुँदा उपचारमा समेत समस्या देखिएको छ। स्वास्थ्य अवस्था थप बिग्रिन नदिन जिल्ला अस्पताल र होल्डिङ सेन्टरमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्था गरिएको प्रशासनले जनाएको छ। तर सामान्य अवस्थामा घरमा बसिरहेका नागरिकसमेत त्रिपालमुनि बस्नुपर्दा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि थप व्यवस्था गरिएको प्रशासनको भनाइ छ।विस्थापितहरुले राहतभन्दा पनि तत्काल सुरक्षित ठाउँमा बस्ने व्यवस्था हुनुपर्ने बताएका छन्। उनीहरुको प्राथमिकता अहिले सुरक्षित आवास, खानेपानी र स्वास्थ्य सेवा रहेको छ।पहिरोपछि प्रभावित क्षेत्रको अवस्थाबारे अध्ययन गर्न भूगर्भविद् डा. प्रकाश पोखरेल, प्रतिनिधिसभा सदस्य खड्कबहादुर बुढासहित आठ सदस्यीय टोली प्रभावित क्षेत्रमा पुगेको छ। टोलीले स्थलगत अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन बुझाउने जनाएको छ।

भेरी नगरपालिकाले प्राप्त राहत सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिरहेको जनाएको छ। नगरपालिकाले विस्थापितको तत्काल व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ।स्थानीय तहका अनुसार कतिपय विस्थापितसँग लत्ताकपडाबाहेक केही पनि बाँकी छैन भने अस्थायी आवास बनाउन खाली जमिनसमेत उपलब्ध छैन। भूकम्पका बेला ठूलो जनधनको क्षति भए पनि अहिलेको पहिरोपछि विस्थापितको पुनर्स्थापना झनै चुनौतीपूर्ण बनेको स्थानीय तहको भनाइ छ।विस्थापित नागरिकले तत्कालका लागि शुद्ध खानेपानी, औषधि र चिकित्सकको व्यवस्था गर्न माग गरेका छन्। तर दीर्घकालीन समाधानका लागि भने तिरपालमुनिको अस्थायी बसोबास होइन, वैज्ञानिक अध्ययनका आधारमा सुरक्षित स्थान पहिचान गरी स्थायी पुनर्स्थापना गर्नुपर्ने उनीहरुको माग छ।


For Add Product Review. You Need To Login First Login Page