Search News
क्रियाशील पत्रकार महिला (WWJ) द्वारा पत्रकार महिलाहरूका लागि 'एआई' तालिम सम्पन्न
- Sunday Jun 21 2026
- | 582 Read
Share News

२ असार २०८३ मंगलबार । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आयोजनामा पत्रकार महिलाहरूका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विशेष क्षमता विकास तालिम सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा काठमाडौँमा आयोजित उक्त तालिम पत्रकार महिलाहरूलाई व्यावसायिक रूपमा काम गर्न सहज बनाउने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले वर्तमान समय एआईको युग भएको उल्लेख गर्दै पत्रकारहरूले एआईको प्रयोगबाट व्यावसायिक लाभ लिन सक्नुपर्ने धारणा राखिन्। उनले एआई प्रविधिलाई सही ढंगले सदुपयोग गरी मिडियामा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी, डब्लुडब्लुजेकी संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार संगीता लामाले एआईको उचित प्रयोगले कामलाई सहज बनाउने बताए तापनि यसको अत्यधिक प्रयोगका कारण मानिसहरू आफ्नै क्षमता विकासभन्दा प्रविधिमाथि बढी निर्भर बन्दै गएकोमा चिन्ता व्यक्त गरिन्। “समयको मागअनुसार एआई प्रयोग गर्नु आवश्यक छ, तर पूर्ण रूपमा एआईमाथि निर्भर हुनु हुँदैन। अत्यधिक निर्भरताले व्यक्तिको क्षमतामा ह्रास ल्याउन सक्छ,” उनले भनिन्। साथै, उनले पत्रकारहरूलाई एआईसँगै आफ्नो सीप र क्षमता अभिवृद्धिमा पनि निरन्तर सक्रिय रहन सुझाव दिइन्।
तालिममा पत्रकार जिवन भण्डारीले प्रशिक्षकको रूपमा एआई सम्बन्धी ज्ञान, सीप, यसको व्यावहारिक प्रयोग, समाचार संकलन तथा सम्पादनमा यसको भूमिका, र एआईको प्रयोग गर्दा अपनाउनुपर्ने आचारसंहिता एवं गोपनीयताका विषयमा प्रशिक्षण दिएका थिए। उनले प्रविधिको विकाससँगै बढेको 'फेक न्यूज' को जोखिमलाई न्यूनीकरण गर्न एआई-जेनरेटेड सामग्री र 'डीपफेक' भिडियो/तस्बिरहरू कसरी चिन्ने भन्नेबारे तथ्य जाँच (Fact-Checking) गर्ने विधि समेत सिकाएका थिए।
तालिममा सहभागी पत्रकार महिलाहरूले एआई प्रविधि वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै यस्ता उपयोगी तालिमलाई आगामी दिनमा थप विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए।
डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव रमिता लामाले गरेकी थिइन्। कार्यक्रममा डब्लुडब्लुजेकी उपाध्यक्ष चन्दा विष्ट, सचिव रुक्मणी पोखरेल, कोषाध्यक्ष दीपा आले, सदस्यहरू सोनी शर्मा र सीता बिके तथा पूर्व महासचिव लक्ष्मी बस्नेत लगायतको उपस्थिति रहेको थियो। उक्त तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध ३७ जना पत्रकार महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

For Add Product Review. You Need To Login First Login Page















